२०८१ बैशाख ७

पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने




बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।

गाउँपालिकाले वडा नम्बर १, २ र ३ बाट कामको सुरुआत गरेको उहाँको भनाइ छ । यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुुरीमा चालु आर्थिक वर्षभित्र खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ ।


Advertisement


यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । कुल रू दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ लागतमा योजना सञ्चालन गरिएको हो । त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका एक सय २८ घरधुरीमा धारा जडानका लागि रू ८० लाख बजेट बिनियोजन गरिएको छ ।

वर्षौंदेखि खानेपानीको अभावमा समस्य भोग्दै आएका यहाँका सर्वसाधारण घरमै खानेपानीको धारा जडान हुन थालेपछि खुसी भएको बारेकोट–२ का स्थानीय पदम रोकायले बताउनुभयो ।

गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पु¥याउनका लागि आफूहरु लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजङ्ग शाहको भनाइ छ ।



हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ । जनसङ्ख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष गिरीको भनाइ छ ।

पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने उहाँको भनाइ छ । यसले पानीको सही सदुपयोग गर्दै पानीसँग सम्बन्धित विवाद पनि समाधान हुने उहाँको विश्वास छ ।

जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ ।

पानीका मूल अहिले के प्रयोजनका लागि प्रयोग भइरहेका छन् ? आगामी दिनमा ती पानीको मुहानलाई के काममा प्रयोग गर्न सकिन्छ ? यसको पनि समुदायकै सहभागितामा लेखाजोखा गरिने भएकाले बारेकोट गाउँपालिकाभित्र यसको सबै अध्ययन हुने अध्यक्ष गिरीले बताउनुभयो ।

“स्थानीयस्तरमा जलस्रोतको प्रभावकारी तथा न्यायोचित ढङ्गले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य हो”, उहाँले भन्नुभयो, “पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दिगो प्रयोगको सुनिश्चित हुनेछ ।”

जलउपयोग गुरुयोजना तयार भएपछि गाउँपालिकाको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने विश्वास लिइएको छ ।

Copy link
Powered by Social Snap