२०८१ बैशाख १४

सिर्सिया नदीमा फोहर फाल्ने उद्योगलाई कारबाही गरिने




सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर फ्याँक्ने उद्योगहरूलाई कारबाही गर्ने तयारी गरेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहरका कारण सिर्सिया नदी प्रदूषित भएको भन्दै महानगरपालिकाले फोहर फाल्ने उद्योगलाई कारबाहीको तयारी गरेको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।


Advertisement


करिडोरमा सञ्चालित अधिकांश उद्योगले फोहर व्यवस्थापनमा ध्यान नदिएको र वातावरण प्रदूषणमा ख्यालै नगरी सिर्सिया नदीमा फोहरमैला मिसाई प्रदूषित बनाइरहेको पाइएकाले त्यस्ता उद्योगमाथि कारबाही गर्न लागेको नगरप्रमुख सिंहले बताउनुभयो । सिर्सिया नदीमा फोहर फाल्ने तीन वटा उद्योगलाई वातावरण प्रदूषण ऐनअन्तर्गत कारबाहीको पत्र पठाइसकिएको र अन्य उद्योगमाथि पनि निगरानी बढाइएको उहाँले बताउनुभयो ।

सिर्सिया नदीलाई फोहररहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाले जथाभावी फोहर नफ्याँक्न पटक–पटक आग्रह गरे पनि उद्योगीले बेवास्ता गर्दै आएकाले कारबाही गर्न लागेको उहाँको भनाइ छ ।



आज बिहान मात्रै उद्योगबाट निस्केको फोहर (खरानी) सिर्सिया नदीमा फाल्न लाग्दा महानगरपालिकाको टोलीले तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिई कारबाही अघि बढाएको महानगरपालिकाले जनाएको छ । चवासोती उद्योगबाट निस्केको फोहर बोकेको ना १ त ६८८९, ना७ त ५३८९ र प्र २–०३–००१ त ४८७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिई कारबाही अघि बढाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको अगुमनसमेत गरेको थियो । महानगरका उपप्रमुख इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले केही महिनाअघि श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानिया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको पाइएपछि फोहर व्यवस्थापन गर्न उद्योगीलाई सुझाव दिए पनि कार्यान्वयन नभएपछि कारबाही गर्ने तयारी गरिएको प्रमुख पौडेलको भनाइ छ ।

सिर्सिया नदी सफा बनाउने अभियानमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेन्ट प्लान्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगी जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै हेर्ने गरेकोले अब सिधै कारबाही गरिने महानगरपालिकाले जनाएको छ । बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहर पदार्थ सिधै नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यतादेखि प्रदूषित बनेको हो ।

छाला, डिस्टिलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, राँँै, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदी आसपासका स्थानीयवासीले प्रदूषण रोक्न माग गर्दैै पटक–पटक आन्दोलनसमेत गर्दै आएका छन् ।

Copy link
Powered by Social Snap