२०८१ बैशाख १४

बागेश्वरीमा साप्ताहिक महाआराती




नेपालगञ्जको बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक महाआरतीले धार्मिक पर्यटन प्रर्वद्धन गर्न थालेको छ । प्रत्येक साताको सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको र यसका लागि नेपालगञ्जबाहेक टाढा–टाढाबाट पनि भक्तजन सहभागी हुने गरेका छन् । उक्त मन्दिरमा आयोजना गरिएको पाँचाँै महाआरतीमा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरका मूल महन्थ चन्दननाथ योगी पण्डितका साथमा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गर्ने गरिन्छ ।


Advertisement


सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिन्छ । ‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिकरूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक हप्ताको सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ ।



नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न उपमहानगरपालिकाले सहयोग गर्ने जानकारी दिँदै यसबाट धार्मिक पर्यटन प्रवद्र्धनका साथै नगरबासीमा धार्मिक आस्था बढाउने बताउनुभयो ।

Copy link
Powered by Social Snap