२०८१ बैशाख १२

आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को




बाजेदेखि नातिसम्म, नाइन्टिन फाउन्टिनदेखि अहिलेसम्म— यो व्यावसायिक सन्देश हो नेपालमा उत्पादित ‘ब्ल्याक हर्स सुज’ को।

सन्देशमा भनेजस्तो ब्ल्याक हर्स सुजको बजार इतिहास धेरै लामो चाहिँ छैन। कम्पनीले २०७१ साल भदौदेखि मात्रै आफ्नो उत्पादन औपचारिक रूपमा बजार पुर्‍याउन थालेको हो। 

त्यसैले यो सन्देशको सारलाई अर्को तरिकाले व्याख्या गर्छन् कम्पनीका बजार व्यवस्थापक दिनेश श्रेष्ठ।

‘बाजेदेखि नातिसम्म भन्नु व्यावसायिक कुरा हो। हाम्रा ग्राहकहरू हरेक पुस्ताको हुनुहुन्छ,’ ब्ल्याक हर्सका बजार व्यवस्थापक समेत रहेका दिनेशले भने, ‘छोटो समयमै हामीले राम्रो बजार पाएका छौं। बजार विस्तारको रणनीतिमा राम्रो नारा (सन्देश) प्रयोग गरेका हौं।’


Advertisement


ब्ल्याक हर्सले हाल पाँच सयभन्दा बढी डिजाइनका जुत्ता बनाउँछ। महिला, पुरूष र केटाकेटी सबैका लागि पार्टीमा लगाउनेदेखि स्पोर्ट्स र क्याजुअलसम्म। हरेक उमेर समूह र उनीहरूको रूचिलाई ध्यानमा राखेर उत्पादन गर्दै आएको दिनेश बताउँछन्।

यसको कारखाना काठमाडौंको सानो भर्‍याङमा छ। नेपालभर सात सयभन्दा बढी पसलमा ब्ल्याक हर्स जुत्ता पाइन्छ।

‘स्थापनाको करिब एक दशकमा कम्पनीको उत्पादन ग्राहकको रोजाइमा पर्नु नै ठूलो फड्को र सफलता हो,’ ३६ वर्षीय दिनेशले भने।

बायाँबाट क्रमशः दिनेश श्रेष्ठ, नवीन गिरी, चीनबहादुर श्रेष्ठ, हरिकृष्ण नेपाल र गौतम गुभाजू

ब्ल्याक हर्समा दिनेशसँगै चीनबहादुर श्रेष्ठ, हरिकृष्ण नेपाल, गौतम गुभाजू र नवीन गिरी सक्रिय छन्। ४५ वर्षीय चीनबहादुर कम्पनीका लगानीकर्ता र अध्यक्ष हुन्। हरिकृष्ण व्यवसाय विकास प्रबन्धक हुन्, गौतम मार्केटिङ प्रबन्धक र नवीन बिक्री प्रबन्धक हुन्। 

दिनेश, हरिकृष्ण, गौतम र नवीनको व्यावसायिक पृष्ठभूमि मार्केटिङ हो। चारै जना विभिन्न फुटवेयर कम्पनीमा मार्केटिङको काम गर्थे। कामकै सिलसिलामा उनीहरूको चिनाजान भएको थियो। 

२०७० सालतिर उनीहरूले आपसमा मिलेर व्यवसाय चलाउने योजना बनाए। दिनेशसँग अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गरेको पनि अनुभव थियो। उनले दुई वर्ष कतारमा ठूलो जुत्ता पसलमा ‘सेल्स-म्यान’ भएर काम गरेका थिए। 

चार जनाको कुरा मिल्यो। उनीहरू कारखाना खोल्न अघि सरे। कुरा लगानीमा अड्कियो। 

‘कारखानाका लागि निकै ठूलो लगानी आवश्यक देखियो,’ ३४ वर्षीय नवीनले भने, ‘हामी लगानीकर्ता खोजीमा लाग्यौं।’ 

बजारमा स्थापित व्यवसायी चीनबहादुर श्रेष्ठसँग उनीहरूको परिचय थियो। उनीसँग चारै जनाले कुरा गरे। नेपालमा जुत्ता उत्पादन गर्ने विषयमा चीनबहादुर सकारात्मक थिए। ब्ल्याक हर्स स्थापनाका लागि लगानी गर्न पनि तयार भए। 

यसरी पाँच जनाको सक्रियतामा ब्ल्याक हर्स सुज ब्रान्ड बन्यो।

ब्ल्याक हर्स जुत्ता धेरै महँगो छैन। आठ सय रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म पाइन्छ। स्वदेशमै गुणस्तरीय जुत्ता उत्पादन गर्ने र सबै किसिमका ग्राहक आकर्षित गर्ने उद्देश्य रहेको नवीनको भनाइ छ। 

‘बजारमा अहिले गुणस्तरीय ब्रान्डका जुत्ता निकै महँगा छन्। सबै वर्गका ग्राहकले किन्न सक्दैनन्,’ उनले भने, ‘हामी गुणस्तरीय जुत्ता सुलभ मूल्यमा ग्राहकसम्म पुर्‍याउन लागिपरेका छौं।’

स्वदेशी जुत्ता उत्पादन र उपभोग बढाउन सके अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्ने उनी बताउँछन्।

उनका अनुसार जुत्ताको सबभन्दा धेरै ध्यान दिनुपर्ने कुरा त्यसमा प्रयोग भएका सामग्रीको गुणस्तर र लगाउँदा कति सहज छ भन्ने हो। ब्ल्याक हर्सले यी दुवै पक्षलाई उच्च प्राथमिकतामा राखेर जुत्ता उत्पादन गरिरहेको उनको भनाइ छ।

‘हाम्रो उत्पादन गुणस्तरीय, किफायती, टिकाउ र लगाउन सहज छ,’ उनले भने। 

अंग्रेजी पदावली ‘ब्ल्याक हर्स’ ले कालो घोडा भन्ने अर्थ दिन्छ। घोडा छिटो कुद्ने र बलियो जनावर हो। यही तर्कका आधारमा ब्रान्डको नाम ब्ल्याक हर्स र लोगोमा कालो घोडा राखिएको हो। 

हाल ब्ल्याक हर्सले स्वदेशीभन्दा पनि विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपरेको छ। सुरूआती दिनमा त बजार पाउनै मुश्किल थियो। बजारमा व्यापारीहरूले रूचि देखाउँदैन थिए। 



‘सुरूका दिनमा व्यापारीले कस्तो उत्पादन हो, बजारमा माग हुन्छ कि हुँदैन भन्ने कुरा उठाए। किन्न  मानेनन्,’ दिनेशले भने, ‘बजारमा स्थान पाउन करिब दुई वर्ष लाग्यो। व्यावसायिक रणनीतिले आफ्नो छवि बनायौं।’ 

सहकर्मीहरूको आपसी मिलाप, समन्वय र समझदारीका कारणले पनि व्यवसाय अघि बढेको उनी बताउँछन्।

छालाको जुत्ताबाट काम सुरू गरेको ब्ल्याक हर्सले अहिले फाइबरको पनि बनाउँछ। औसतमा दैनिक ६ सय जोर जुत्ता उत्पादन हुन्छ। यसले आफ्नै र अन्तर्राष्ट्रिय ब्रान्डबाट पनि डिजाइन गर्छ। नेपालको भौगोलिक विविधताका कारण जुत्ताको डिजाइन र रोजाइमा धेरै फरक पर्ने दिनेश बताउँछन्। यही आधारमा डिजाइन गरेर उत्पादन गर्ने काम सजिलो छैन।

ब्ल्याक-हर्सले बजार मागअनुसार जुत्ता बनाउँछ। कुनै बेला स्वदेशी जुत्ता भनेपछि नाक खुम्च्याउने जमात अचेल यसप्रति सकारात्मक बन्दै गएको  छ। स्वेदशमै उत्पादित जुत्ता लगाऔं भन्ने धारणा विकास हुँदै गएको बताउँछन् नजिकबाट बजार नियालिरहेका दिनेश।

‘ब्ल्याक हर्स भन्नेबित्तिकै गुणस्तरीय छालाको उत्पादन हो भन्ने पहिचान बनाउन सफल भएका छौं,’ दिनेशले भने, ‘हामीकहाँ जुत्ताको ६० प्रतिशत माग नेपाली उत्पादनले धानेको छ। हामीले राम्रो बजार पाएका छौं।’

कम्पनीले कच्चा सामग्री भारत, चीन र पाकिस्तानबाट आयात गर्छ। सोल भने नेपालमै बन्न थालेको छ। यसको कारखानामा हाल सय जनाभन्दा धेरै कर्मचारी छन्। तीमध्ये ६० प्रतिशत महिला हुन्। तर दक्ष जनशक्ति अभावमा भारतबाट पनि कामदार ल्याउनुपरेको उनले बताए।

‘कारखानामा विभिन्न विभागमा काम हुन्छ। अधिकांशमा नेपालीहरू छन् तर नेपाली दक्ष कालिगड अभाव भएकाले भारतीयले काम गरिरहेका छन्,’ दिनेशले भने।

ब्ल्याक हर्सले सुरूका दिनमा पुरुषका लागि मात्रै छालाको जुत्ता बनाउँथ्यो। महिलाका लागि पनि माग आउन थालेपछि चार वर्ष अघिदेखि बनाउन थालेको हो। तर अझै पनि ब्ल्याक हर्सका उत्पादन पुरूषकेन्द्रित नै छ।

यसको अर्को कारण पनि छ।

पुरुषको जुत्ताको डिजाइन लामो समयसम्म एउटै रहन्छ। महिलाले लगाउने जुत्ताको डिजाइन भने फेरिइरहन्छ। जुत्ता बनाउने साँचो चाँडोचाँडो फेर्न सम्भव हुँदैन। जुत्ताको फेसन चाँडै जाँदा कम्पनीलाई समस्या पर्छ। त्यसैले महिलाका लागि सीमित डिजाइनमा ‘फर्मल’ जुत्ता मात्रै बनाउने गरेको उनले बताए।

ब्ल्याक-हर्सका ग्राहक २० वर्षदेखि ४० वर्ष उमेर समूहका धेरै छन्। बजार मागअनुसार उत्पादन पुर्‍याउन नसकेको पनि दिनेशले बताए। त्यसैले अब उत्पादन बढाउने योजना छ।

अहिले बजारमा ब्ल्याक हर्सले आफ्नो उत्पादन खुद्रा बिक्रेतालाई दिन्छ। ग्राहकहरूले अनलाइन किन्न पनि सक्छन्। निकट भविष्यमा काठमाडौं, पोखरा, इटहरी, धनकुटा लगायत सहरी क्षेत्रमा ब्ल्याक हर्सकै छुट्टै पसल चलाउने योजना छ। 

आफ्नै शोरूम सञ्चालन गरेर ग्राहकलाई सहज ढंगले सेवा पुर्‍याउने योजना छ,’ उनी भन्छन्, ‘ग्राहकको प्रतिक्रिया र सन्तुष्टि हाम्रा लागि निकै महत्वपूर्ण हुन्छ। सोहीअनुसार बजार विस्तार गर्दै जान्छौं।’

हामीकहाँ देशभित्रै व्यवसायका अवसरहरू धेरै छन्। काममा समर्पित भएर निरन्तर मेहनत गरे सफल होइन्छ भन्ने विश्वास दिनेशको छ। सहकर्मीबीच आपसी विश्वास नभई काम अघि नबढ्ने उनले बताए

‘नेपाल अवसरको खानी हो। थुप्रै व्यवसाय फस्टाउन सक्छन्,’ उनले भने, ‘सरकारी स्तरबाट पनि पहल हुन जरूरी छ। स्टार्टअप अवधारणा विकासका लागि उचित प्लेटफर्म आवश्यक छ।’

Copy link
Powered by Social Snap