२०८१ बैशाख ८

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

साभार: रातोपाटी

भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो ।

‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो ।

लाइन अफ एक्चुअल कन्ट्रो (एलएसी) भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि केही दिन अघि दुई देशको सीमामा सन् १९७५ पछि पहिलोपटक गोली प्रहार भएको थियो ।

विवादलाई कम गर्न सैन्य कमान्डर र कुटनीतिज्ञहरुबीच विभिन्न चरणको वार्ता तथा वाङ र जयशंकरबीच दुईपटक फोनवार्ता भए पनि तनाव कम हुन सकेको थिएन ।


Advertisement


यसअघि, मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फङ्घेबीच तनाव कम गर्ने सहमति भएको केही दिनपछि नै सीमामा पुनः तनाव बढेको थियो ।

तनाव बढ्दै गएपछि भारत र चीनबीचको आर्थिक सम्बन्धमा पनि असर देखिएको छ । भारतले चिनियाँ लगानीलाई कम गरेको छ भने हुवावेलाई फाइभजी नेटवर्कबाट बाहिर राख्ने भएको छ । त्यस्तै, गत हप्ता भारतले ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । यसमा चर्चित खेल पब्जी र पेमेन्ट सर्भिस अली पे पनि रहेको थियो ।

चिनियाँ पक्षले अतिक्रमण गरेको भन्दै सिंगापुरको क्षेत्रफल जति रहेको पाङ्गोङ त्सो हिमतालको दक्षिणी क्षेत्रमा भारतले सैन्य उपस्थिति बढाएसँगै दुई देशबीच तनाव बढ्न थालेको हो ।

यसअघि सैनिक उपस्थिति नरहेको उच्च क्षेत्रमा कब्जा जमाउने निर्णयसँगै तनाव बढेको थियो र गत जुनमा भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएपछि केही समय सेलाएको थियो । तर, केही समयपछि पुनः सो क्षेत्रमा तनाव बढ्न थालेको छ । 

Copy link
Powered by Social Snap