


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार नेपाली कांग्रेस र आफूहरूको पार्टी एकीकृत समाजवादीले विश्वासको मत दिए पनि भूमिका भने प्रतिपक्षकै रहने बताएका छन्।
Advertisement


‘संसदमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने घोषणा गर्ने हाम्रो पार्टीले समेत यो सरकारलाई शंकाको लाभ दियो,’ काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘शंका गर्दागर्दै पनि यो शंका शंकामै रूपमा रहोस् र काम तथा व्यवहारबाट त्यसको निवारण होस् भनेर विश्वासको मत दिने काम पनि गर्यो।’

उनले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्न सकिने बताए। त्यस्तो अनुभव २०५१ सालमा गरिइसकेको उनको भनाइ थियो।
‘कसैकसैले चर्चा गर्ने गरेका छन्, विश्वासको मत दिइसकेपछि सत्ताधारी पार्टी हुन पुग्दछ यो कहाँको व्याख्या हो मैले बुझ्न सकिनँ,’ उनले भने, ‘२०५१ म मन्त्री थिएँ। हाम्रो सरकारलाई कांग्रेसले समर्थन गरेको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हाम्रो अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको थियो।’
त्यसबेला कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमै बसेको उनले बताए।






