२०८१ जेष्ठ ६

एमाले–माओवादी गठबन्धनमा जाने दीपक मनाङेको संकेत




गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धनमा जाने संकेत गरेका छन्।

मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित मन्त्री मनाङेले संसद विघटन हुन नदिन गठबन्धनमा रहन सक्ने बताएका हुन्। 


Advertisement


गण्डकीका नवनिर्वाचित संसदको पहिलो बैठक बसेपश्चात सोमबार सेतोपाटीलाई प्रतिक्रिया दिँदै उनले नयाँ गठबन्धनमा बसेर संसद जोगाउने पक्षमा आफू रहेको बताए।

‘पहिला पनि म संसद विघटन नहोस् भनेर कांग्रेस–माओवादीको गठबन्धनमा गएको थिएँ,’ उनले भने, ‘अहिले पनि संसद जोगाउन मेरो आवश्यकता परे त्यसै गर्छु।’ 

गण्डकीमा एमालेका २२ जना सांसद छन् भने माओवादीका ८ जना छन्।

सत्ता गठबन्धनमा रहेको राप्रपाको २ जना सांसद मिलाएर गण्डकीमा बहुमत पुर्‍याउने गठबन्धनको तयारी छ।

प्रमुख प्रतिपक्षी दलमा पुगेको नेपाली कांग्रेसको भने २७ जना सांसद छन्। 

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमाले–माओवादी–राप्रपा गठबन्धन गर्दा सरकार बनाउन आवश्यक बहुमत ३२ सिट संख्या पुग्छ।

एमाले र माओवादी भागबण्डा गर्दा मुख्यमन्त्री एउटा पार्टीले लिने र सभामुख अर्कोलाई दिने गरी तयारी भइरहेको छ।

गठबन्धनबाट सभामुख बनाउँदा सरकारलाई चाहिने आवश्यक बहुमत ३१ हुन्छ, यसमा मनाङे सहभागी हुँदा सत्तापक्षमा ३२ जना पुग्छ। 



गठबन्धनलाई बलियो बनाउन मनाङेलाई हालकै युवा तथा खेलकुद मन्त्रालय दिएर सरकारमा सहभागी गराउन सकिने एमालेका एक सांसदले बताए। तर यसबारे एमाले–माओवादी गठबन्धनबाट आफूलाई कुनै प्रस्ताव नआएको मनाङेले बताए।

‘अहिलेसम्म उहाँहरूले मसँग छलफल गर्नुभएको छैन,’ उनले भने, ‘सरकारलाई बहुमत पुर्‍याउन मेरो आवश्यकता परे समर्थन गर्न सक्छु, विघटनमा जान दिन्नँ।’ 

संसद विघटन गरेर फेरि चुनावमा जाँदा दु:ख हुने उनले बताए।

‘फेरि घर-घरै हात जोडेर नमस्कार गर्दै हिँड्नुपर्छ, चुनावमा जान धेरै दु:ख छ,’ उनले भने, ‘पहिला पनि मैले विघटन हुन दिइनँ, अहिले पनि दिन्नँ।’

यसअघि एमाले–माओवादी मिलेर बनेको नेकपामा प्रवेश गरेर मन्त्री बनेका सांसद मनाङेले संसद विघटन हुन लागेको भन्दै कांग्रेस–माओवादी गठबन्धनमा प्रवेश गरेका थिए।

कांग्रेस–माओवादी गठबन्धनबाट सरकार बन्ने छनक देखिएपछि मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए। 

आगामी सरकारमा जाने कि नजाने एकीकृत समाजवादीले निर्णय गरेको छैन। एकीकृत समाजवादीमा प्रवेश गरे पनि संसद सचिवालयमा जानकारी नपुगेकाले मनाङे स्वतन्त्र सांसदकै हैसियतमा छन्।

Copy link
Powered by Social Snap