२०८० चैत्र १६

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले खटायो विज्ञ टोली




काठमाडौँ — सार्वजनिक सेवा लिन दिक्दारलाग्दो लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागि गृह मन्त्रालयले विज्ञको टोली परिचालन गरेको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकतालगायतका अत्यावश्यक कागजपत्र लिने क्रममा वर्षौंदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको गुनासोपछि गृह मन्त्रालयले अग्रसरता देखाएको हो । 


Advertisement


गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले बाहिरबाट विज्ञहरू ल्याएर परिचालन गरिएको जानकारी दिए ।

लामा लाइन देखिएका विभिन्न निकायमा विज्ञहरूको टोली खटिइसकेको पनि प्रवक्ता पोखरेलले बताए । उनले भने, ‘बाहिरबाट विज्ञहरूको टोली ल्याइएको छ। उहाँहरूले विभिन्न निकायमा देखिएका समस्याको अनुगमन र निरीक्षण गर्दै हुनुहुन्छ । उहाँहरूले दिएको सुझावका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्नेछ । यथास्थितिबाटै सुधार हुने भए सोहीबमोजिम र सेवा विस्तार गर्नुपर्ने भएमा त्यसैअनुसार गरिने छ ।’



पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएसँग सार्वजनिक सेवामा सर्वसाधारणको सहज पहुँचलाई प्राथमिकतामा राखेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको सास्ती रोक्न कदम चाल्ने बताएका थिए । मन्त्रिपरिषद्को पहिलो बैठकले यसबारेमा निर्णयसमेत गरेको थियो । त्यस्तै बुधबार उप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षणमा पुगेका थिए ।

Copy link
Powered by Social Snap