२०८१ बैशाख २५

मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेता छान्न समिति गठन





जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता छान्न तीन सदस्य समिति गठन भएको छ । बिहीबार प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा निर्वाचन समिति गठन भएको हो । 

समितिको सदस्यमा प्रदेश समितिका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दुकुमारी यादव छन् । यो समितिले प्रदेशसभामा दलको नेता चयनको लागि निर्वाचन गराउने छ । 


Advertisement


तर, पार्टीले प्रदेश सरकार गठन तथा छलफलको लागि प्रदेश सभापति कृष्ण यादवलाई जिम्मेवारी दिइसकेको छ । कांग्रेसले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी गर्ने प्रदेश समितिले जनाएको छ ।

“माथी छलफल गर्दा मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरी गठबन्धनमा रहेका दल लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने जिम्मेवारी प्रदेश सभापति कृष्ण यादवलाई दिने निर्णय गरियो,” प्रदेश समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दलको नेताको लागि तीनजना प्रदेशसभा सदस्यले दाबी गरेका छन् । प्रदेश सभापति कृष्ण यादव, पूर्वमन्त्री रामसरोज यादव र वीरेन्द्र सिंहले दलको नेता बन्नको लागि दाबी प्रस्तुत गरिरहेका छन् ।



कृष्ण र सिंह कांग्रेसको १४ औं महाधिवेशसनमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका हुन् भने रामसरोज नीधि गुटका थिए । तर, पछिल्लो समय उनी पनि देउवा गुटमै गएका छन् । अब तीनैजना देउवा गुटबाटै दलको नेतामा दाबी गरे नेता चयन गर्न सकस हुने देखिएको छ । 

रामसरोजले यसअघि एक कार्यकाल दलको नेताको र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन् । पछिल्लो समय उनले पनि देउवा समूहमा पकड बनाएका छन् । 

प्रदेशमा कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकतर्फ नौ गरी २२ सिट पाएको छ । मधेस प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल हो । २३ सिटसहित नेकपा (एमाले) पहिलो दल छ । 

तर, यहाँ पाँच दलीय गठबन्धकै सरकार बन्ने सम्भावना बढी देखिएको छ । सरकार गठनको लागि डा. सीके राउत नेतृत्वको जनमत पार्टी निर्णयक भूमिकामा छ । जनमतले पनि मुख्यमन्त्री पदमा दाबी गरिरहेको छ ।

Copy link
Powered by Social Snap