२०८१ जेष्ठ ५

उपत्यकामा खुम्चिँदो कम्युनिस्ट प्रभाव– कहिले थेग्नै नसक्ने मत, कहिले शून्य ! 




काठमाडौं । संविधानसभाको पहिलो निर्वाचनमा नेकपा (माओवादी केन्द्र) पहिलो दल बन्यो ।  देशभर प्रत्यक्षमा कूल १२० सिट ल्याउँदा उपत्यकाका १५ क्षेत्रमध्ये ७ क्षेत्र जितेको थियो । 

०६४ को निर्वाचनमा नेकपा एमाले उपत्यकामा सिटबिहीन बन्यो ।  ०७० सालमा एमालेले नजिता सुधार्‍यो । माओवादीले आफ्नो अस्तित्व जोगाउन सकेन । 

१० वर्षपछि पुग्दा ०७४ को निर्वाचनमा एमालेले उपत्यकामा ८ क्षेत्र जितेको थियो । 



Advertisement



०७९ को निर्वाचनमा एमाले उपत्यकामा २ सिटमा खुम्चिन पुगको छ भने माओवादी सिट शून्यको अवस्थामै रह्यो । 

एमालेबाट विभाजन भएर पहिलो पटक निर्वाचनमा गएको एकीकृत समाजवादी पनि उपत्यकामा सिटविहीन बनेको छ । अर्थात् उपत्यकामा कम्युनिस्ट प्रभाव झनै खुम्चिँदै गएको देखिएको छ ।

कुन दलले कहाँ जितेका थिए ?

२०६४ मा काठमाडौंका १० क्षेत्रमध्ये २, ६, ७ र १० नम्बर माओवादीका उमेदवार निर्वाचित भएका थिए ।  एमाले त्यसबेला उपत्यकामा सिटविहीन भएको थियो । 

ललितपुरका ३ वटै क्षेत्र पनि माओवादी निर्वाचित भएको थियो । 

२०४८ सालमा मंगलादेवी, कृष्णप्रसाद भट्राईलाई हराएर एमालेले जितेको थियो । त्यसयता प्रभाव रहँदै आएको ठाउँ हो । काठमाडौंको जनमत चञ्चल छ ।

नेपाली कांग्रेसले काठमाडौंका १, ३, ४, ५, ८, ९ गरी ६ वटा क्षेत्र जितेको थियो । कांग्रेस भक्तपुर र ललिपुरमा सिटविहीन भएको थियो । 

भक्तपुरका दुवै क्षेत्र नेपाल मजदूर किसान पार्टीले जितेको थियो ।  २०७० मा माओवादी शून्य हुँदा एमालेको सुधार 
२०६४ सालको विरासत ०७० मा माओवादीले राख्न सकेन ।

संविधान सभाको दोस्रो निर्वाचनमा माओवादी उपत्यकामा सिटविहीन बन्यो । २०७० सालमा भएको उक्त निर्वाचनमा एमालेले नतिजा सुधार गर्‍यो ।  एमालेले काठमाडौंमा सिट जित निकाल्यो । 

कांग्रेसले काठमाडौंका ७ सिट जित्यो । ललितपुरमा नतिजा उल्ट्याउँदै तीनवटै क्षेत्रमा निर्वाचित भयो भने भक्तपुरको एक क्षेत्र जित्यो ।  नेमकिपाले विरासत जोगाउन नसक्दा भक्तपुरको एक क्षेत्रमात्रै जितेको थियो ।  



२०७४ मा यस्तो थियो नतिजा 

२०७४ को निर्वाचनमा एमाले र माओवादी वाम गठबन्धनमार्फत चुनावमा होमिए । 

त्यो निर्वाचनमा माओवादीले काठमाडौं १, काठमाडौं ४, काठमाडौं ६, काठमाडौं १० नम्बर क्षेत्रमा उमेदवार उठाएको थियो । 

तर, ती क्षेत्रमा माओवादीले जित निकाल्न सकेन । ती सबै क्षेत्रमा कांग्रेसका उमेदवार निर्वाचित भए । एमालेले पाएको २, ३, ७, ८ र ९ क्षेत्रमा विजयी भयो । 

माओवादीका उमेदवार भएका काठमाडौंका पाँचै क्षेत्रमा कांग्रेसका उमेदवार निर्वाचित भए ।  भक्तपुरको दुई क्षेत्रमध्ये एमाले र नेमकिपाले १–१ क्षेत्र जिते । ललितपुरका २ क्षेत्रमा एमाले र १ क्षेत्रमा माओवादी निर्वाचित भएको थियो । 

२०७४ को निर्वाचमा कांग्रेस ललितपुर र भक्तपुरमा सिट बिहीन भएको थियो ।  

२०७९ मा आइपुग्दा… 

२०७९ को निर्वाचनमा माओवादी सत्ता गठबन्धनबाट चुनावमा होमियो । 

एमाले उपत्याकामा एक्लै चुनावमा गयो । माओवादीले काठमाडौं क्षेत्र नम्बर ७ र ९ मा गठबन्धनका साझा उमेदवार पाएको थियो । 

काठमाडौं १० मा भने गठबन्धन भएको थिएन ।  माओवादी काठमाडौं १० मा उमेदवार उठाएको थियो । तर ती तिनै क्षेत्रमा माओवादीले चुनाव जित्न सकेन ।

उता, एमालेले आफ्नो विरासत जोगाउन सकेन । एमालेले काठमाडौंमा १ सिटमात्रै जित्यो । काठमाडौं क्षेत्र नम्बर ९ एमालेले जितेको हो । 

यो निर्वाचनबाट काठमाडौंमा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । काठमाडौं क्षेत्र नम्बर २, ६, ७, ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार निर्वाचित भए । कांग्रेस काठमाडौंका ५ क्षेत्रमा निर्वाचित भएको छ । 

उता, भक्तपुरमा कांग्रेस र नेमकिपा एक–एक सिटमा निर्वाचित भए । ललिपुरका ३ वटा क्षेत्रमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले एक–एक सिट जितेका छन् । 

यो निर्वाचनमा माओवादी उपत्यकामा शून्य भएको छ ।  यो निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धनमार्फत काठमाडौं र ललितपुरको एक–एक क्षेत्रमा निर्वाचनमा होमिएको थियो । 

उसले दुवै क्षेत्र जोगाउन सकेन । नतिजा हेर्दा कम्युनिस्ट दलहरु संगठन भएर पनि कमजोर देखिन्छन् । यो निर्वाचनबाट झनै कमजोर देखिएका छन् । 

उपत्यकामा किन कमजोर बन्दैछन् कम्युनिस्ट दल ? 

एमाले, माओवादीलगायतका दलले पहिलेको नतिजा कायम गर्न नसक्नुबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

राजनीतिक विश्लेषक नारायण ढकाल देखाएका सपना पूरा नहुनु नै वामपन्थीहरु कमजोर हुनुको कारक मान्छन् । 

“०४६ पछिको परिवर्तनपछि त वामपन्थीहरुको निकै राम्रो नै भएको हो । एउटा त उनीहरुले जे सपना देखाए आफू सत्तामा पुगेपछि त्यता ध्यान दिएनन्,” उनको विश्लेषण छ, “उनीहरुले श्रमजीवीलगायतका कुरा उठाए तर त्यसमा केही गरेनन् ।”

चुनावी नतिजामा पार्टी विभाजनको असर देखिएको उनको भनाइ छ ।  ०६४ को निर्वाचनमा शान्ति प्रक्रियामा आएवापत् माओवादीले मत पाएको उनको बुझाइ छ । 

“दोस्रो कुरा त यिनीहरुबीच एकताबद्ध नहुनु हो । विभाजनले असर गरेको हो । ०७४ मा जादुमय एकता हुँदा राम्रै नतिजा आएको थियो  । ०६४ मा त माओवादी भर्खर युद्धबाट शान्ति प्रक्रियामा आएकाले पुरस्कृत पनि गरेको होला,” ढकाल भन्छन्, “एकपटक मौका दिऔं भन्ने अवस्था पनि थियो । तर सरकारमा गएपछि चलाउनै जानेनन् । ०७० को चुनावमा जाँदा त्यसको बदला लिएको जस्तो पनि देखियो ।” 

काठमाडौंमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले मत पाउनु यी दलहरुको कार्यशैली पनि भएको बताउँछन् । विचार र संगठनलाई पुनःसंरचना गर्न नसके कम्युनिस्टहरु अझै कमजोर हुने ढकालको बुझाइ छ ।

“०६४ मा पुरस्कृत गरे पनि त्यसयता । काठमाडौंमा माओवादीलाई मन पराएको देखिएन । माओवादीले त्यति संगठन पनि बनाउन सकेको छैन,” उनी भन्छन्, “पार्टी एकतापछि ओलीले दुईतिहाइ बचाउन सकेनन् । बनेको गठबन्धनलाई पनि जनताले नपत्यउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत गयो । अब पनि दलहरुले संगठन र विचारलाई पुनर्संरचना नगर्ने हो भने झनै कमजोर बन्दै जान्छन् ।”

अर्का राजनीतिक विश्लेषक झलक सुवेदी काठमाडौंको जनमत चञ्चल रहेकाले नतिजा फरक आउने गरेको विश्लेषण सुनाउँछन्  । 

काठमाडौंमा सरकारमा रहेका दलसँग आक्रोश र असन्तुष्टि रहने गरेको बताउँछन् । 

“काठमाडौंमा परम्परागत भोटर देखिँदैन । असन्तुष्ट जनमत छ । सरकार चलाउने सस्थापनसँग जनता सन्तुष्ट देखिदैन । यहाँका मतदाता अस्थिर तर परिवर्तन खोजिरहेको देखिन्छ,” उनी भन्छन्, “राप्रपालाई भोट दिँदा हिन्दु धर्मलाई भोट दिने माओवादीलाई भोट दिने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिने जनमत यहाँ छ ।”

युवापुस्तामा राजनीतिक निर्णय गर्ने भन्दा पनि आक्रोश व्यक्त गर्दै अपरिपक्व निर्णय गर्ने चरित्र विकास हुँदै गएको बताउँछन् । 

“नयाँ पुस्तामा अराजनीतिक चरित्र विकास भएको हो कि जस्तो देखिन्छ । च्वाइस चाहिँ खोजिरहेको देखिन्छ । तर, राजनीतिक हिसाबले परिपक्व देखिदैन,” उनी भन्छन्, “आक्रोश चाहिँ जुन विकल्प आयो त्यसमा गएको देखिन्छ ।”

२०४६ पछि काठमाडौंमा एमालेको प्रभाव रहँदै आए पनि विकल्प देखिएपछि ०६४ मा माओवादीलाई भोट दिएको उनी बताउँछन् । काठमाडौंको जनमत चञ्चल रहेको उनको ठम्याइ छ । 

“२०४८ सालमा काठमाडौंमा मंगला, कृष्णप्रसाद भट्टराईलाई समेत हराएर एमालेले जितेको थियो । त्यो पनि परिवर्तनकै पक्षमा थियो । त्यसयता लामो समय एमालेले प्रभाव गरिरहेकै ठाउँ हो,” सुवेदी भन्छन्, “०६४ मा विकल्प भेटिएपछि अर्कोेमा भोट दिएको थियो । त्यसलै काठमाडौंको जनमत चञ्चल छ । यहाँको मतले परिवर्तन खोज्छ ।”

Copy link
Powered by Social Snap