२०८१ बैशाख १६

चुनाव जितेपछि सुवालले भने- मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्


काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् । 



Advertisement



शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राेजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताएका हुन् । 

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने बताए ।



उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको उनकाे आरोप छ । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए । 

नेमकिपा नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का उमेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

सुवालले ४२ हजार ७१६ मत ल्याएका थिए भने प्रतिस्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् । १ को ‘क’बाट भने नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भए ।

Copy link
Powered by Social Snap