२०८१ बैशाख ८

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी





झापा । पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीनवटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् ।

एमाले क्षेत्र नम्बर–२, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नम्बर–२ बाट एमालेका देवराज घिमिरे, क्षेत्र नम्बर–४ बाट लालबहादुर (एलपी) साँवा र क्षेत्र नम्बर–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी भए ।



Advertisement



एमाले प्रदेश इन्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य थिए । उनले योपटक स्वतन्त्र उमेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन् ।

क्षेत्र नम्बर–४ बाट एलपी साँवा कांग्रेसका जिल्ला अध्यक्ष देउकुमार थेबेलाई पराजित गर्दै विजयी भए ।

एमाले अध्यक्ष ओली योपटकसहित ६ पटक निर्वाचित भइसकेका छन् । उनले ०४८ सालमा कांग्रेसका केशवकुमार बुढाथोकीलाई, ०५१ मा कांग्रेसकै पूर्णानन्द दाहाललाई, ०५६ मा कांग्रेसका काशीलाल ताजपुरियालाई, ०७० कांग्रेसकै सुरेश सुब्बालाई, ०७४ र ०७९ सालमा कांग्रेस नेता खगेन्द्र अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन् ।



निर्वाचन क्षेत्र नम्बर–१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

कांग्रेसका शर्माको यो पहिलो संसद् यात्रा हो भने लिङ्देन, घिमिरे, साँवाको दोस्रो र एमाले अध्यक्ष ओलीको छैटौँ यात्रा हो ।

शर्माले एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेललाई पराजित गरे । शर्मा ०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइराला र ०७४ सालमा नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार (राम) कार्कीसँग पराजित भएका थिए । तेस्रोपटकको प्रयासमा उनी अत्यधिक मतका साथ विजयी भएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक ०७४ सालको निर्वाचनमा निर्वाचित भएर संसद्को यात्रा तय गरेका थिए । एमालेसँगको तालमेलका कारण उनले दुवैपटक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।

Copy link
Powered by Social Snap