२०८१ बैशाख ११

कालापानीबारे ओलीले दार्चुलामा हैन भारतसँग कुरा गर्नुपर्थ्यो : प्रधानमन्त्री देउवा


चुनावी सभामा सहभागी हुन दार्चुलाको गोकुलेश्वर पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । 


दार्चुला — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताएका छन् । उनले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।



Advertisement



दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबै एकमत रहेको बताए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेका छन् । मैले सुनिरहेको छु ओलीजी आएर दार्चुलामा लिपुलेक फिर्ता ल्याउँछु भन्नुभएछ । उहाँले भनेर केही हुनेवाला छैन । यो कालापानी, लिपम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो भनेर संसद्ले एकलौटी भएर, एक आवाज भएर हामी सबैले पास गरेका हौं,’ उनले भने, ‘अरुले गरेकै थिएनन्, ओलीले मात्रै गरेको भन्ने झुटा कुरा गर्नुभएको हो । दुई तिहाई उहाँले गरेर आएको छ ? दुई तिहाइले गरेको हो । त्यसमा कांग्रेस, माओवादी सबै पार्टी भएर गरेको हो ।’

प्रधानमन्त्री देउवाले नक्सामा राखेको भूमिलाई फिर्ता ल्याउन भारतसँग छलफल गर्नुपर्ने बताए । उनले दार्चुला आएर कालापानी, लिपुलेक र लिम्पियाधुराको जिकिर गरेर भूमि फिर्ता नआउने बताए । ‘भारतसँग कुरा गर्नुपर्छ । ओलीजीले बोलेर जाुनभएको छ, उहाँले दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो । दार्चुला आएर फिर्ता हुने छैन । सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने । नेपालको भूभाग हो तर नेपालसँग छैन ।’

नेपालको भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल एकमत रहे पनि एमाले अध्यक्ष ओलीले राजनीति गरिरहेको र आफूले मात्रै नक्सामा भूमि राखेको भनेर भ्रम फैलाएको देउवाको भनाइ थियो ।



त्यस्तै, देउवाले लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था स्थापना भएको र त्यसलाई जोगाएर अघि बढ्न गठबन्धन भए बताए । ‘आज राष्ट्रलाई अप्ठ्यारो ठाउँबाट ल्याइएको छ । लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था हामीले ल्याएका छौं । यसलाई बचाएर देशको विकास गर्नुछ । देशलाई समृद्ध, सम्पन्न बनाउनु छ । त्यसैले आज यो महत्वपूर्ण जिम्मेवारी गठबन्धनको काँधमा आएको छ,’ उनले भने ।

चुनावले राष्ट्रलाई कुन दिशामा लाने भन्ने निर्णय गर्ने भएकाले सचेत रहन पनि मतदातालाई देउवाले आग्रह गरेका थिए । उनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध रहेकाले कसैमा पनि कुनै शंका नराख्न आग्रह गरेका थिए । ‘हामीमा पूर्ण एकता छ । कुनै शंका नगरे हुन्छ । यो गठबन्धन वर्षौंसम्म चल्नेछ । नेपालको अहिलेको आवश्यकता हो । राष्ट्रिय आवश्यकता हो,’ उनले भने ।

दार्चुलामा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र छ । जहाँ कांग्रेसका नेता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू गठबन्धनका उम्मेदवार छन् । प्रदेशतर्फ दार्चुला (१) मा कांग्रेसका विक्रमसिंह धामी र दार्चुला (२)मा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार छन् ।

गठबन्धनले आयोजना गरेको चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गरेका थिए ।

Copy link
Powered by Social Snap