२०८१ जेष्ठ ६

देउवा धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त




कैलाली । चुनावी प्रचारप्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् ।



Advertisement



आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निष्क्रिय रहेका नेता–कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् ।

कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने, “सम्पर्कमा आउने सन्तुष्ट, असन्तुष्ट नेता–कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाइबुझाइ गरिरहनुभएको छ ।”

भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता–कार्यकर्तासँग जानकारी लिइरहेका छन् । धनगढी आएपछि देउवाको औपचारिक चुनावी कार्यक्रम भने भएको छैन ।



आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गृहजिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले कात्तिक १७ देखि २० गतेसम्म डडेलधुरामै बसेर विभिन्न पालिकामा भएका  सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ ।

कात्तिक २३ गते नै कैलालीको निर्वाचन क्षेत्र–३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ ।

Copy link
Powered by Social Snap