२०८१ बैशाख २६

ओली भन्छन्– कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुन्छौँ, एकल बहमुतको सरकार बनाउँछौँ




काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसभन्दा अत्याधिक मतले अगाडि हुने दाबी गरेका छन् । सत्तारूढ गठबन्धनको मत सर्वेक्षणले एमालेले कांग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले मत सर्वेक्षण नै गलत रहेको जिकिर गरे । 



Advertisement



सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरूलाई पनि सामेल गरेर सरकार बनाउने पनि दोहोर्‍याए । मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने बताए । 

“एमाले अहिले कांग्रेसको हाराहारीमा होइन । सानो मार्जिनले होइन । अत्याधिक मार्जिनले कांग्रेस भन्दा अगाडि हुन्छ । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अरू कसैलाई सरकारमा सामेल नै गर्नु हुुन्न भन्ने होइन । अरूलाई पनि सरकारमा सामेल गरिन्छ । तर, त्यो सरकार फेरि पनि एमालेको सरकार हुन्छ,” उनले भने । 



ओलीले संविधान उल्लंघन गर्ने काम आफूहरूले नगरी सत्तारूढ गठबन्धनले गरेको आरोपसमेत लगाए । संविधानमै नभएको परमादेशबाट सरकार बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले संविधान कुल्चिने काम गरेको उनको आरोप छ ।

“नेकपा (एमाले)ले बहुमतको सरकार बनाउनैपर्छ । र, यस देशलाई राष्टिय स्वाधिनता, स्वाभिमान, लोकतन्त्र, लोकतान्त्रिक प्रणाली मात्रै होइन्, लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतासहितको देश, शान्ति, सुव्यवस्थासहितको देश बनाउनुपर्छ । यस्ता ससाना भ्रष्ट तत्व र शक्तिहरू मिलेर सरकार बनाउनेतिर होइन । यस देशलाई अब विकासको बाटोमा लैजान, सुशासनको बाटोमा लैजान, शान्तिको बाटोमा लैजान, स्थिरताको बाटोमा लैजान, भ्रष्टाचार नियन्त्रणको बाटोमा लैजान एउटा सुदृढ राष्टिय शक्ति, बलियो राष्टिय शक्ति आवश्यक छ । त्यो अरू कसैसँगबाट हुन सक्नेवाला छैन । त्यो एमाले हो,” ओलीले भने ।

Copy link
Powered by Social Snap