


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारको क्रममा आफूले मतदातालाई प्रलोभन देखाउनेगरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।
Advertisement


आइतबार निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
चार बुँदामा स्पष्टीकरण दिँदै उनले भनेका छन्, “पत्रमा भनिएजस्ता निर्वाचनको सिलसिलामा मैले कुनै उमेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन । मैले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही गरको छैन । अतः उक्त पत्रमा भनिएजस्तो अभिव्यक्ति मैले दिएको छैन ।”

आयोगले निर्वाचन प्रचारको क्रममा नेपालले आचारसंहिता उल्लंघन हुनेगरी मतदातालाई फ्री भिसा र फ्री टिकटको प्रलोभन देखाएको भन्दै स्पष्टीकरण सोधेको थियो । आयोगले रौतहट प्रहरीलाई आवश्यक कारबाहीको प्रक्रिया चलाउन पत्रसमेत लेखेको थियो ।






