२०८१ बैशाख १५

भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’




झन्डै दुई वर्षअघिको कुरा हो।

दुई साथी, रिजेश श्रेष्ठ र कृपा जोशी ज्याकेट किन्न ठमेल पुगे। उनीहरू मर्निङ वक, साइक्लिङ र हाइकिङ जाँदा लगाउन मिल्ने हलुका ज्याकेटको खोजीमा थिए। भनेजस्तो कपडा र रङको पाएनन्। 

स्वदेशी उत्पादनलाई प्राथमिकता दिने रिजेशले त्यसअघि २०७५ कात्तिकतिर पनि ट्रेकिङका लागि विन्डप्रुफ (हावा नछिर्ने) र वाटरप्रुफ (पानी नछिर्ने) ज्याकेट खोजेका थिए। त्यस बेला उनी एक ट्रेकिङ एजेन्सीमा बजार प्रबन्धकका रूपमा काम गर्थे। त्यही वर्ष असोजतिर उनी विदेशीको टोली लिएर हेलम्बु ट्रेकिङ गए।



Advertisement



‘त्यस बेला ट्रेकिङ जाँदा बजारमा उपलब्ध नेपाली ब्रान्डकै ज्याकेटलगायत लुगा लगेको थिएँ। लुगाहरू उपयुक्त लागेको थियो,’ २८ वर्षीय रिजेश अहिले सम्झिन्छन्, ‘तर फर्किने बेलामा ज्याकेटले त्यहाँको मौसम धान्नै सकेन। मसँगै गएका विदेशीहरूले लगाएको विदेशी ब्रान्डका लुगाको भने गुणस्तर निकै राम्रो थियो।’

विदेशीहरूको ज्याकेट सहज, न्यानो र हलुका थियो। रिजेशको भने असहज र भारी। हेलम्बुबाट फर्केपछि नै रिजेशले बजारमा मिल्दो ज्याकेट खोजी थालेका हुन्।

त्यस बेलासम्म उनले भनेजस्तो ज्याकेट पाएका थिएनन्। बरू नेपाली ज्याकेटमा ‘मेड इन चाइन’ (चीनमा बनेको) वा अन्य देशमा बनेको भन्दै ट्याग लाएर बेचिने पाए। तिनको गुणस्तर राम्रो थिएन। भनेजस्तो नपाएपछि रिजेशलाई त्यही बेला राम्रो ज्याकेट उत्पादन गर्ने सोच पलाएको थियो।

यसको एक वर्षपछि उनी साथी कृपासँग फेरि ज्याकेट किन्न ठमेल पुगेका थिए। फेरि पनि पाइएन। अब भने रिजेशले आफैं ज्याकेट उत्पादन गर्ने निधो नै गरे। योजना कृपालाई सुनाए। कृपाले साथ दिने भइन्।

रिजेशले ट्रेकिङ व्यवसायमा संलग्न अन्य साथीसँग पनि सल्लाह मागे। साथीहरूले उनको अवधारणामा सकारात्मक प्रतिक्रिया जनाउँदै विभिन्न उद्योगसँग सम्पर्क गराइदिए।

उनीसँग बचतमा जम्मा दुई लाख रूपैयाँ थियो। थप एक लाख रूपैयाँ आमासँग लिए। अनि २०७६ मंसिरबाट सञ्चालनमा ल्याए नेपाली ज्याकेट उत्पादक कम्पनी ‘आरोहण’।

आरोहणमा अहिले विभिन्न प्रकारका ‘आउटडोर’ ज्याकेटहरू र ‘लाइफस्टाइल’ लुगाहरू पाइन्छ।

‘म विदेशी ब्रान्डका कपडाबारे हेर्न र पढ्न रूचाउँछु। तर पहिल्यैदेखि नेपालमै उत्पादित लुगामा जोड दिन चाहन्थेँ,’ आरोहणका सह-संस्थापक रिजेश भन्छन्, ‘बजारमा भनेजस्तो ज्याकेट नपाएपछि आफैं केही गर्ने सोचले आरोहण जन्मिएको हो।’

रिजेशका अनुसार आरोहणमा पाइने हरेक लुगा स्वेदशमै उत्पादित हुन्। डिजाइन उनीहरू आफैं तयार पार्छन्। यसका लागि विदेशी ब्रान्डहरूबाट केही प्रेरित हुन्छन्।



आरोहणमा विभिन्न मौसममा लगाउन उपयुक्त ज्याकेट पाइन्छ। यसबाहेक टि-सर्ट, सर्ट, रेनकोट पनि पाइन्छ जुन लाइफस्टाइल वर्गमा पर्छ। यिनको भने २०७८ जेठबाट उत्पादन तथा बिक्री सुरू गरिएको हो।

आरोहणका लुगा उत्पादन नयाँ बजार र बालाजुस्थित कारखानाबाट हुँदैछ। आवश्यक परे बसुन्धारा र सानो भर्‍याङस्थित कारखानाबाट पनि काम गर्छन्। कारखानाको विशेषताअनुसार काम गर्ने रिजेश बताउँछन्।

उत्पादन जिम्मा रिजेशले सम्हाल्छन् भने मार्केटिङको काम कृपाले हेर्दैछिन्। २५ वर्षीया कृपा आरोहणकी सह-संस्थापक हुन्।

कृपाका अनुसार उनीहरूले ज्याकेट डिजाइनकै लागि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरू नियमित हेर्छन्। अरू विशेषताबारे पनि बुझ्छन्। सोहीअनुसार आरोहणका लागि डिजाइनिङ गर्छन्। तर नेपालमा सीमित स्रोतसाधन भएकाले सोचेजस्तो लुगा बनाउन सम्भव नभएको उनले बताइन्।

‘हामीले निकै समय लगाएर डिजाइन तयार पारेका हुन्छौं। तर कारखानाबाट भने जस्तो डिजाइनमा बनाउन सम्भव भइरहेको छैन। नेपालको प्रविधि अन्तर्राष्ट्रियस्तरको तुलनामा कमजोर छ,’ कृपाले भनिन्। त्यसैले उनीहरूले परिमार्जन गर्दै सरल डिजाइनमा लुगा बनाइरहेका छन्।

आरोहणमा उपलब्ध हरेक ज्याकेट र अन्य लुगा कुन कपडा/सामग्रीबाट बनेको हो भन्ने स्पष्ट उल्लेख गरिन्छ। यसले ग्राहकलाई कपडा छनौट गर्न सहज र सतर्क बनाउँछ। अझै पनि प्रायः नेपाली ब्रान्डमा यो चलन विकसित नभएको कृपा बताउँछिन्।

ज्याकेट उत्पादन गरेर ब्रान्ड विस्तार गर्ने योजना बनाएपछि रिजेशले ब्रान्डको नाम सोचे। त्यही क्रममा भाइ सुलभलाई नाम सुझाउन भने। सुलभले ठट्टा गर्दै ‘आरोहण’ भनिदिए।

जिस्केरै भने पनि रिजेशलाई मनपर्‍यो। सह-सञ्चालक कृपासँग छलफल गरे। लुगामा ब्रान्डको नाम अंग्रेजीमा लेख्दा लामो हुने भएकाले कृपाले छोट्याउने सोचिन्। अनि आरोहणलाई ‘ए-आर-ओ-ए-एन’ मात्र लेखे। अंग्रेजीमा पढ्दा ब्रान्ड नाम ‘आरोन’ भनिए पनि नेपालीमा आरोहण नै हुने उनीहरू बताउँछन्।

आरोहणको लोगोमा हिमाल, पहाड र तराई समेटिएको छ। हरेक मौसममा लगाउन उपयुक्त ज्याकेट र अन्य लुगा बनाउने उद्देश्य भएकाले सोहीअनुसार लोगो डिजाइन गरेका हुन्।

कम्पनी सञ्चालन गर्दा रिजेश र कृपाले अनलाइनबाट मात्रै बेच्ने सोचेका थिए। तर माग बढेसँगै गत वर्ष फागुनदेखि सुकेधाराको शिवभूमि कोलोनीमा पसल राखेका छन्। 

‘धेरैजसो ग्राहकले लुगा किन्नुअघि लगाएर हेर्न रूचाउने भएकाले पसल सञ्चालनमा ल्यायौं,’ कृपाले भनिन्, ‘अहिले ग्राहक बढिरहेका छन्।’

कृपाका अनुसार आरोहणका ९० प्रतिशतभन्दा बढी ग्राहक पुरुष छन्। प्रायः २५ देखि ३० वर्ष उमेरका।

महिला ग्राहक कम हुनुको कारणबारे उनी भन्छिन्, ‘महिलाहरू ज्याकेटलाई केहीबेर लगाउने लुगा मात्र हो भन्ठान्छन्। त्यसैले यसमा खर्च गर्न रूचाउँदैनन्।’

उनीहरूले उत्पादन गर्ने हरेक ज्याकेटको बेग्लै नाम छ। ज्याकेटको नाम रिजेश र कृपा मिलेर राख्छन्। यो ब्रान्डको सबभन्दा बढी रूचाइएको ज्याकेट मनसुन साइक्लोन पार्का, फ्रस्ट अनोराक र मेट्रोपोलिस पार्का हो। यहाँ उपलब्ध सबभन्दा सस्तो ज्याकेट स्टोअवे ज्याकेट (विन्डचिटर) र सबभन्दा महँगो मेट्रोपोलिस पार्का हो। यो ज्याकेट चिसो मौसमका लागि उपयुक्त छ।

बजारमा सस्ता ज्याकेट पाइने भएकाले आरोहणका उत्पादन केही महँगो भएको गुनासो ग्राहकले गर्छन्। तर थोरै मात्रामा गुणस्तरीय लुगा बनाइरहेकाले लागत नै महँगो पर्ने रिजेशले बताए।

डिजाइनसँगै रिजेश र कृपा लुगाका रङहरूमा पनि परीक्षण गर्न रूचाउँछन्। तर पर्याप्त मात्रामा कपडा नपाइएकाले ग्राहकले रूचाएको लुगा फेरिफेरि बनाउन मुस्किल पर्छ।

‘कतिपय ज्याकेट रङकै कारण ग्राहकले मन पराउनुहुन्छ। तर भनेजस्तो कपडा निकै कम उपलब्ध हुने भएकाले फेरि बनाउन सकिरहेका छैनौं,’ कृपाले भनिन्।

हाल आरोहणका कालो, निलो र रातो रङको ज्याकेट बढी रूचाइएको छ। यसपछि मस्टर्ड र टिल्ट रङ पनि ग्राहकले मनपराउँछन्।

रिजेशका अनुसार लुगाको गुणस्तरबारे अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन्। केहीले असन्तुष्टि पनि पोख्छन्।

यसबारे उनी भन्छन्, ‘हरेक ज्याकेटको जतन गर्ने तरिका फरक हुन्छ। कतिपय ग्राहकले यो बुझेका छैनन्। निर्देशनअनुसार कपडा नधुँदा बिग्रिन्छ। त्यसैले पनि असन्तुष्ट भाव व्यक्त गरेका छन्।’

कपडाको गुणस्तरअनुसार लुगाहरू फरक पर्ने उनी बताउँछन्। हरेक लुगा कसरी धुने वा सफा गर्ने भन्नेबारे आरोहणले भिडिओ समेत तयार पारेको छ।

उनीहरूले आरोहणका लुगाको प्रचारका निम्ति मोडलहरूसँग सहकार्य गरेर फोटोसुट पनि गराएका छन्। आरोहणमा अब प्रत्येक तीन महिनामा नयाँ डिजाइनको लुगा भित्र्याउने तयारी छ।

रिजेश र कृपाबाहेक थप दुई जना कर्मचारीले काममा सघाएका छन्। उनीहरूमध्ये एक जना सञ्चालन र ग्राहकको सोधपुछ सम्हाल्छन् भने अर्का डेलिभरीमा छन्।

आरोहणका लुगा काठमाडौं उपत्यकासँगै करिब १५ जिल्लामा पुगेको छ। त्यसमध्ये सबभन्दा धेरै पोखरा, विराटनगर, चितवन, भैरहवा, दिक्तेल लगायत ठाउँमा डेलिभरी हुन्छ। ज्याकेट जुम्ला र सोलुखुम्बुसम्म पुगेको छ।

विदेशबाट पनि लुगाको माग आउँछ। तर पठाउने खर्च धेरै लाग्ने भएकाले हालसम्म पठाएका छैनन्। जापानका एक व्यापारीले भने आरोहणका लुगा त्यहाँ बिक्री गरिरहेका छन्।

आरोहणमा अहिले चिसो मौसम लक्षित लुगा धेरै बनिरहेको छ। भविष्यमा गर्मीलाई हुने पनि उत्तिकै उत्पादन गर्ने तयारी छ। साथै कम्पनीको उत्पादन क्षमता वृद्धि गर्ने योजना छ।

‘आरोहणको आदर्श ‘सिज द डे’ हो। यो भनाइ स्क्यान्डिनेभियनहरूले प्रयोग गर्छन्। यसले कुनै पनि दिन वा मौसम अनुपयुक्त नहुने तर लुगा अनुपयुक्त हुने भन्ने बुझाउँछ। स्क्यान्डिनेभियाको मौसम चिसो र अँध्यारो हुन्छ। आरोहणले हरेक किसिमको मौसमलाई ज्याकेट बनाउने हुँदा उक्त वाक्यांश राखेका हौं,’ रिजेशले भने।

जम्मा तीन लाख रूपैयाँमा सुरू भएको आरोहणमा हालसम्म ७५ लाख रूपैयाँभन्दा धेरै लगानी भइसकेको रिजेश बताउँछन्। त्यस्तै २०७८ भदौदेखि २०७९ असारसम्म ४७ लाख रूपैयाँको कारोबार भएको छ।

आरोहण सुरू गर्दा रिजेश स्नातकोत्तर सकेर ‘नेपालको’ नामक एक संस्थामा आवद्ध थिए। उनले किङ्स कलेजबाट व्यापार प्रशासनमा स्नातकोत्तर पढेका हुन्। कृपाले भने एस इन्टरनेसनल स्कुलबाट व्यापार प्रशासनमा स्नातक सकेकी छन्। उनीहरूको भेट पढाइकै सिलसिलामा सन् २०७६ साउनमा भएको थियो। हाल दुवै जना आफ्नो पूरै समय आरोहणलाई दिइरहेका छन्।

छोटो समयमै आरोहण रूचाइएको महसुस उनीहरूले गरेका छन्। त्यसैले कुनै पनि सफलताका लागि मानिसमा दीर्घकालीन जोस र निरन्तरता हुनुपर्ने उनीहरूको विश्वास छ।

उनीहरू भन्छन्, ‘जोस नभए कुनै पनि कामलाई निरन्तरता दिन सकिँदैन। आवेग र दृढ आत्मविश्वास हुनेले सफलता पाउँछ। आरोहण सधैं गुणस्तर र आफ्नो आदर्शमा केन्द्रित छ। त्यसैले ग्राहकको रोजाइमा पर्दै गएको छ।’

Copy link
Powered by Social Snap