२०८१ बैशाख १५

‘लौरो’ देखाएर आफूलाई स्वतन्त्र बताउने उमेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण




काठमाडौं । निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’बाट उमेदवारी दिएर ‘लौरो’ चुनाव चिह्न पाएका केही उमेदवारहरूलाई स्पष्टीकरण सोधेको छ ।



Advertisement



हाम्रो नेपाली पार्टीका केही उमेदवारले ‘लौरो’ देखाएर आफूलाई स्वतन्त्र उमेदवार बताउने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । 

उनीहरूले दलीय आवद्धता स्पष्ट नगरी आफूलाई स्वतन्त्र उमेदवार भनेर प्रचारप्रसार गरिरहेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रममा पार्ने प्रयास गरिरहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूको कार्यबाट प्रचलित निर्वाचन कानुनको उल्लंघन भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 



आयोगले काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेदवारी दिएका मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नम्बर २ का उमेदवार शिवशंकर यादवलाई स्पष्टीकरण सोधेको छ । 

यसैगरी प्रदेशसभाका सिरहा क्षेत्र नम्बर २ (क) का उमेदवार राजलाल यादव, प्रदेशसभाका सिरहा क्षेत्र नम्बर २ (ख)का उमेदवार यागेशकुमार सिंह, काठमाडौं क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्यका उमेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका सर्लाही क्षेत्र नम्बर २ का उमेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य उमेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रूपन्देही क्षेत्र नम्बर ३ का उमेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका उमेदवार दिपेश ढुंगानालाई पनि २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । 

Copy link
Powered by Social Snap