२०८१ बैशाख १३

आचारसंहिताविपरीत काम गर्नेलाई कारबाही नगरे कार्यालय प्रमुखलाई कारबाही गरिने




काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताविपरीत कार्य गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मीलगायतलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको छ ।

कारबाही गरी सो जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई गराउन निर्देशन पनि दिइएको छ । 



Advertisement



“… निर्वाचन आचारसंहिताविपरीतको काम कारबाही गरेको अवस्थामा निजहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने भएकोले कुनै कर्मचारीले राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमा राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्ने वा सामाजिक सञ्जालमार्फत मत माग्ने लगायतका निर्वाचन आचारसंहिताविपरीतको काम कारबाही गरेमा त्यस्ता कर्मचारी, शिक्षक. प्राध्यापक, सुरक्षाकर्मीसमेतलाई निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसूर र सजाय) ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रचलित कानुनबमोजिम विभागीय कारबाही गरी सोको जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई गराउन निर्वाचन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ,” आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 



त्यस्तै, कारबाही नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेस गर्नसमेत निर्देशन दिइएको छ । 

“निर्वाचन आचारसंहिता, २०७९ विपरीत कार्य गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी तथा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिलाई उपरोक्त निर्णय बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबाही गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेस गर्न निर्वाचन आयोगको सचिवालयलाई निर्देशन दिएको छ ,” विज्ञप्तिमा भनिएको छ ।

Copy link
Powered by Social Snap