२०८१ बैशाख १३

दसैं शुभकामनामा नेताहरूको चुनावी सन्देश




काठमाडौँ — नेपालमा यो वर्ष दसैंसँगै लोकतन्त्रको उत्सव मानिने आम निर्वाचनको प्रक्रिया पनि चलिरहेको छ । एकातिर निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढाइरहेको छ भने अर्कोतर्फ दसैंको माहौलले गाउँसहरमा रौनक छ ।

दसैं मनाउन विदेश र सहरबाट गाउँघर पुगेकाहरूबीच चुनावी चर्चा पनि हुन थालेको छ । राजनीतिक दलका नेता र कार्यकर्ताहरू मतदातालाई आफ्नो पक्षमा पार्न दसैंलाई अवसरका रूपमा प्रयोग गरिरहेका छन् । दसैंका अवसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर आफ्ना एजेन्डा जनतामाझ राखिरहेका छन् ।



Advertisement



दसैंको माहोललाई राजनीतिमय बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरू पनि गाउँघरतिर कार्यक्रम गरिरहेका छन् । दसैंकै माहोलमा प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूको छनोट गर्न पनि राजनीतिक दलका नेताहरू व्यस्त छन् । समानुपातिकको अन्तिम नामावली फूलपातिका दिन निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरूले कोजाग्रत पूर्णिमाका दिन असोज २३ मा प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्नेछन् ।

दसैं र राजनीतिक चटारोमा रहेका राजनीतिक दलका नेताहरू र राजनीतिक क्षेत्रका व्यक्तिहरूले शुभकामना सन्देश जारी गरिरहेका छन् । सत्तारुढ दलका नेताहरू, संवैधानिक पदमा रहेका पदाधिकारीदेखि पूर्वराजासम्मले शुभकामना सन्देश जारी गरिसकेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका केही शीर्ष नेताहरूले भने सन्देश जारी गर्न बाँकी छ ।

शुभकामना सन्देश जारी गरिनसकेकी राष्ट्रपति विद्यादेवी भण्डारी दसैं सम्बन्धित विभिन्न औपचारिक कार्यक्रममा सहभागी भइरहेकी छन् । दसैंको महानवमीको दिन मंगलबार राष्ट्रपति भण्डारीले कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् ।

राष्ट्रपतिले दसैंको दिन टीका र प्रसाद प्रदान गर्ने कार्यक्रम पनि राष्ट्रपति कार्यालयबाट सूचना जारी भएको छ । जसअनुसार इच्छुक उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्य तथा संवैधानिक निकायका पदाधिकारीहरूका लागि बुधबार दिउँसो २ देखि ३ बजेसम्म टीका र प्रसाद प्रदान गर्ने समय निर्धारण गरिएको छ । त्यस्तै, राष्ट्रपतिले सर्वसाधारणलाई भने बुधबार ३ बजेदेखि ५ बजेसम्म टीका र प्रसाद प्रदान गर्ने कार्यक्रम शीतल निवासले तय गरेको छ ।

प्रधानमन्त्री देउवाले पनि दसैंको सन्देश जारी गरेका छैनन् । हाल उनी सत्तारुढ गठबन्धका बैठकमा व्यस्त रहेका छन् । पार्टीभित्र उम्मेदवार चयनदेखि गठबन्धनमा भागबण्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा दिनदिनै बैठक भइरहेका छन् । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दसैंको शुभकामना जारी गरिसकेका छैनन् । उनका सामाजिक संजालमा पछिल्लो पटक संविधान दिवसका शुभकामना मात्रै पोष्ट गरिएको छ । उनी उम्मेदवार चयन गर्न र विभिन्न ठाउँमा आयोजना भइरहेका पार्टीका आमसभाहरूमा व्यस्त रहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका महासचिव शंकर पोखरेल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनालदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले दसैंको शुभकामना सन्देश जारी गरेका छन् । उनीहरूको दसैं शुभकामनामा आगामी निर्वाचन लक्षित सन्देश रहेका छन् ।

सभामुख सापकोटाले दसैंका लागि जारी शुभकामना सन्देशमा भनेका छन्, ‘चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने छन् भन्ने विश्वास लिएको छु । आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचन निश्पक्ष रुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहने कुरालाई गहिरो गरी आत्मसात गर्न सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूलाई आग्रह गर्दछु ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने दसैंले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान सफल बनाउने र आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ’ भन्ने शुभकामना सन्देश जारी गरेका छन् । ‘हाम्रो मुलुक सांस्कृतिक विवधिताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक, सांस्कृतिक चाडपपर्व, मूल्यमान्यता तथा प्रचलनहरू, रितिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अंगका रूपमा रहेका छन्,’ उनले भीडीयो सन्देशमा भनेका छन्, ‘विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिको रूपमा रहनेछन् । यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्नेछ । जसको फलस्वरुप संघीयता मजबुद बनाउन समेत योगदान पुग्नेछ ।’

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने दसैंको सन्देशमा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे उल्लेख गरेका छन् । ‘सांस्कृतिक पर्वहरूको श्रृङ्खलाभित्र अब हामी प्रादेशिक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु,’ दाहालको शुभकामना सन्देशमा भनिएको छ ।



पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने मंसिर ४ गतेको निर्वाचनमार्फत गरिबी निवारण गर्ने, राष्ट्रियतालाई दह्रो बनाउने उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् । कम्युनस्ट नेताहरू पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर छापिएको फ्लेक्स फ्रेममा पर्ने गरी राखेर भीडीयोमार्फत शुभकामना सन्देश जारी गरेका उनले चुनाव चिह्न ‘कलम’ रोज्न आग्रह गरेका छन् ।

अग्रगति, प्रगति र समृद्धिको शुभकामना जारी गरेका खनालले भनेका छन्, ‘यी निर्वाचनमा देशलाई आमूल परिवर्तनतर्फ लाने, सामाजिक, आर्थिक रूपान्तरण गर्ने, देशको गरिबी समाप्त पार्ने, देशको राष्ट्रियता दह्रो बनाउने उम्मेदवारहरूलाई तपाईं हामीले विजयी बनाउनुपर्छ ।’

एमाले महासचिव शंकर पोखरेलले दसैंको शुभकामना सन्देश भीडीयो मार्फत जारी गरेका छन् । दसैंले सिंगो राष्ट्रलाई जोड्ने, परिवार मिलनको पर्व रहेको भन्दै उनले निर्वाचनमा पनि त्यसको उपयोगितामा उनले जोड दिएका छन् । ‘दसैंसँगै हामीले एउटा राष्ट्रिय पर्व पनि मनाउँदैछौं, आम निर्वाचनको पर्व । मंसिर ४ को निर्वाचन दसैंको लगत्तै आरम्भ हुँदैछ । मुलुकमा असत्यमाथि सत्यलाई स्थापित गर्ने एउटा महान अभियानका रूपमा हामीले आउँदै गरेको निर्वाचनलाई सफल पार्नु छ । राष्ट्र निर्माणका लागि यो निर्वाचन धेरै महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘निर्वाचनले मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउँछ । एकातिर गठबन्धन छ र अर्कोतर्फ राष्ट्रिय शक्ति निर्माणको हाम्रो संकल्प छ । स्वाभाविक रूपमा देशको समृद्धि र विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । शक्तिको उपासनाको पर्व दसैं, राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्पको दिन आम निर्वाचन । त्यस अर्थमा हामीले आम निर्वाचन र दसैंलाई मुलुकको भविष्य निर्माण गर्ने अभियानका रुपमा अगाडि बढाऔं ।’

दसैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सन्देश जारी गरेका छन् । उनको सन्देश विगतका तुलनामा बढी राजनीतिक र आक्रोश मिसिएको छ । १० मिनेट लामो भीडीयो सन्देशमा उनले मुलुकको आन्तरिक राजनीति, परराष्ट्र नीति, सुरक्षा नीतिबारे असन्तुष्टि जनाउँदै अहिलेको संविधान र व्यवस्था जोगाउँदा घाटा हुने अभिव्यक्ति दिएका छन् ।

पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको तस्बिर सजाइएको कुर्सीमा बसेर दसैंको शुभकामना सन्देश वाचन गरेका पूर्वराजा शाहले कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको जस्तो आफूलाई नलागेको बताएका छन् । ‘बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकांक्षाअनुसारुप संगठीत राजनीतिक दलहरू हुन्छन् । विभिन्न तहका प्रतिनिधिसभामा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनित्व हुन्छ र तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ । तर आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको छ,’ राजनीतिक दल र व्यवस्थाप्रति असन्तुष्टि रहेको उनको सन्देशमा भनिएको छ, ‘पदलोप, सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगेकाका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा उत्पन्न विवादले वर्तमान व्यवस्थामाथि प्रश्न उठाएको शाहको भनाइ छ । ‘पुर्खाले आर्जेको यो स्वाधिन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनि मूलभूत महिमालाई विथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर, सुन्दर नौलो नेपाल भइहाल्नदो रहेनछ । त्यसैले बलियो मियोमा एकताबद्ध भएर राम्रो र बलियो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ,’ उनले भनेका छन्, ‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिइरहेको भन्दै संकट समाधानतर्फ लाग्न आग्रह गरेका छन् । दसैंको शुभकामना सन्देश भीडीयोमार्फत जारी गरेका उनले भनेका छन्, ‘देश अहिले एउटा संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । अझैपनि देशको संकट समाधान भइसकेको छैन । व्यवस्थामाथि अहिले पनि संकटको बादल मडारिइरहेको अनुभूति भएको छ ।’

मुलुकमा सुशासन, उन्ततिको सामर्थ्य प्रदर्शन गर्नुपर्ने पौडेलको भनाइ छ । ‘देशलाई उल्टो बाटोतिर लाने प्रवृतिलाई निरुत्साहित गर्ने सामर्थ्य हामीमा आवश्यक परेको छ । त्यसको लागि मुलुकको प्रष्ट दिशा र लक्ष्य अगाडि राखेर हामीले गठबन्धन गरेका छौं । मुलुकको हित, स्थिरता र विकासको लागि, नेपालको उन्नति र सामाजिक न्यायको लागि प्रयत्नमा हामी डटिरहेका छौं,’ उनले भनेका छन् । उन्नतिको मार्गलाई पछाडि धकेल्न ‘मुन्टो उठाउने प्रवृत्ति’लाई निरुत्साहित गर्न सबैमा कार्यक्षमता र सुशासन दिने नैतिक शक्ति र सामर्थ्यको आवश्यकता परेको उनको भनाइ छ ।

मुलुकलाई दुर्घटनामा लैजानका निम्ती भइरहेका प्रयासलाई निरुत्साहित पार्दै अहिलेको व्यवस्था जोगाउँदै मुलुकलाई उन्नतिको मार्गमा लैजानुपर्ने पौडेलको शुभकामना सन्देशमा उल्लेख छ । उनले चुनावी एजेन्डाबारे भनेका छन्, ‘जनताले पाएको अधिकार रक्षा नै अहिलेको महत्वपूर्ण एजेन्ड हो । त्यसलाई लिएर नै जनताको बीचमा जाँदैछौं ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि दसैंको शुभकामना भिडियोमार्फत जारी गरेका छन् । उनले चुनाव लक्षित गर्दै भिडियो सन्देशमा भनेका छन्, ‘यस पर्वले नेपाली राजनीतिलाई सत्य, निष्ठा, इमान र समृद्धिको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस् । मंसिर ४ नेपाल र नेपालीको मुहार फेर्न ऐतिहासिक दिन बन्न सकोस् ।’

Copy link
Powered by Social Snap