२०८१ बैशाख ११

देउवाले कार्यकर्तालाई थर्काउँदै भने– मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन ?




काठमाडौं । शनिबार नेपाली कांग्रेस डडेलधुराका दुई दर्जन नेता कार्यकर्ता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे ।

निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी उनीहरुले देउवालाई भेट्ने समय पाए । निकै तनावमा देखिएका देउवाले उनीहरुलाई छिटो आफ्नो कुरा राख्न निर्देशन दिए ।



Advertisement



प्रतिनिधिसभा १ र प्रदेशसभाका २ सिट रहेको डडेल्धुरामा संघमा देउवा उमेदवार बन्ने निश्चित छ ।

सत्ता गठबन्धनको भागवण्डामा प्रदेशसभा ‘क’ माओवादीको भागमा परेको छ भने ‘ख’ कांग्रेसको भागमा परेको छ ।

माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उमेदवार बनाउने टुङ्गो लगाइसकेको छ ।

त्यही प्रसंग कोट्याउँदै कार्यकर्ताले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरे । कार्यकर्ताहरुले कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदको व्यवस्थापन गर्न माग गरे ।

उनी परशुराम नगरपालिकाका निवर्तमान मेयर समेत हुन् ।



कार्यकर्ताले त्यो माग सुनेपछि देउवा झोँक्किए । भेटमा सहभागी एक नेताले भने,“गठबन्धनमा दाँयाबाँया हुँदैन । तपाईहरुले के भन्न खोजेको ? तपाईहरु प्रचारमा गाउँ नगए पनि हुन्छ । बस्नुस् यतै ! काठमाडौंमा । म चुनाव हार्दा के हुन्छ । हारौंला खगराज पनि हार्लान् ।”

भेटमा सहभागीहरुले माओवादीलाई भोट दिन नसक्ने बताएका थिए ।

त्यसपछि देउवाले फेरि भने,“मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन । माओवादीले मलाई मार्न गोली हान्या होइन ? हामी मिलेका छौं त, तपाईँहरु पनि मिल्नुस् । राजनीतिमा सधैं एकैनास हुँदैन ।”

देउवाका तीन पटकका प्रतिष्पर्धी खगराज भट्ट प्रदेशमा उमेदवार बने पनि कांग्रेसभित्रकै विवादले देउवाका लागि चुनौती थपिएको छ ।

कांग्रेस पूर्वजिल्ला सभापति कर्ण मल्ल नेपाली कांग्रेस बीपीको तर्फबाट देउवाविरुद्ध उमेदवारी दिने तयारीमा छन् । उनलाई एमालेले समर्थन गर्ने सम्भावना छ ।

डडेल्धुरामा कांग्रेसभित्र विवाद बढ्दो छ । विवाद मिल्न नसक्ने गठबन्धनलाई नै धक्का लाग्ने नेताहरु बताउँछन् ।  
 

Copy link
Powered by Social Snap