२०८१ बैशाख १४

प्रतिनिधिसभाको समानुपातिक सूची : शेखर समूह ४४ बाट घट्न मानेन, देउवाले दिन मानेनन्




काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र समानुपातिकतर्फको बन्दसूचीका कारण उत्पन्न विवाद साम्य भएको छैन । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बन्दसूची बुझाइएसँगै विवाद बल्झिएको हो ।



Advertisement



उक्त सूचीपछि संस्थापनइतर समूह चिढिएको छ । नेता डा. शेखर कोइराला समूहले बन्दसूची सच्याउन निरन्तर दबाब दिँदै आएको छ । बन्दसूची नसच्याइए ‘विद्रोह’ गर्नेसम्मको चेतावनी शेखर समूहले दिइसकेको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पनि शेखर समूहका नेताले बन्दसूचीमा आफूहरूले सम्मानजनक ‘हिस्सा’ पाउनुपर्नेमा जोड दिए । पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिसहितको बैठक बसेको थियो ।

बैठकमा शेखरनिकट नेताहरूले यसअघि आफूहरूले बुझाएको ४४ जनाको नाम समानुपातिक सूचीमा समावेश हुनुपर्ने अडान कायमै राखे । बन्दसूची सच्याउन भन्दै सो समूहले ४४ जनाको नाम प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको थियो ।

शेखरनिकट एक प्रदेश सभापतिका अनुसार उनीहरूले प्रतिनिधिसभाको ११० समानुपातिक सिटमध्ये ४० प्रतिशत भाग खोजेका हुन् । सोहीअनुसार उनीहरूले ४४ जनाको नाम बुझाएका हुन् । आयोगमा यसअघि बुझाइएको सूचीमा संस्थापन पक्षको वर्चश्व छ ।



शनिबारको बैठकमा आफूहरूले अडान कायमै राखेको ती प्रदेश सभापतिले जानकारी दिए । तर, देउवा उनीहरूलाई ४४ सिट दिन तयार भएका छैनन् ।

आफ्नो समूहबाट ३५ जनाको नाम बन्दसूचीमा समावेश गरिन सक्ने ती नेता बताउँछन् । “४४ जनाको डिमान्ड छ, कम्तीमा ३०–३५ जना थपिएलान्,” उनले भने, “४४ जना मागेकै छ । यो यो भनेर लिस्ट नै बुझाइएको छ ।”

सूचीमा समावेश गर्दा पनि देउवा र शेखर दुवै समूहका नेताका नाम क्रमानुसार मिलाउनुपर्ने उनीहरूको माग छ । पहिलो नाम एउटा समूहबाट राखिए दोस्रो नाम अर्को समूहबाट राखिनुपर्ने उनीहरूको अडान छ ।

आफूहरू कुनै निष्कर्षमा भने पुगिनसकेको ती नेता बताउँछन् । संस्थापन पक्ष पनि उनीहरूको माग पूरा गर्न तयार भइसकेको छैन । तर, आफूहरूको अडान यथावत् रहने शेखरपक्षीय ती प्रदेश सभापतिको भनाइ छ ।

बन्दसूचीमा हेरफेर वा मिलाउनुपर्ने भए आयोगले आइतबार (भोलि)सम्मको समय दिएको छ ।

Copy link
Powered by Social Snap