२०८१ बैशाख ७

प्रश्नैप्रश्न उठाउँदै पूर्वराजाले भने– अब कोर्स करेक्सन गरौँ 




काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विद्यमान राजनीतिक व्यवस्थाप्रति प्रश्नैप्रश्न उठाउँदै अब कोर्स करेक्सनको अपरिहार्यता रहेको बताएका छन् ।



Advertisement



उनले बडादसैंको अवसरमा दिएको एक भिडियो सन्देशमा राज्यका सबै निकाय पथभ्रष्ट भएको, विदेशीको क्रिडास्थल बनेको र सर्वसाधारणले अहिले अभिभावकीय भूमिका खोजेको बताएका छन् ।

“कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छैन । बहुदलीय संसदीय प्रणालीमा जनताको आशा आकांक्षाअनुरुप संगठित राजनीतिक दल हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिष्पर्धाबाट प्रतिनिधित्व हुन्छ । उनीहरुबाट जनमनोभावनाको कदर भएको छैन,” उनले भनेका छन्, “तर आस्था सिद्धान्त र जनविश्वासका दृष्टिले कति ती कति उत्तरदायी रहे भन्ने प्रश्न जल्दोबल्दो बनेको छ । पदलोभ, भागबण्डा गरेर आफ्नै सुविधा भोगेकालाई राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?”



उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा देखिएको असहज अवस्थाका बारेमा पनि सबैतिर प्रश्न रहेको उल्लेद गर्दै यो अवस्थाले मुलुकको भविष्य निर्माणको भरोसा नभएको बताएका छन् ।

“कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सवत्र प्रश्न उठेको छ । यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको भरोसा छैन,” पूर्वराजा शाहले भिडियो सन्देशमा भनेका छन्, “दायित्व के, गर्ने के ? गर्न नहुने के ? न्यायिक मूल्य के हो के होइन ? यी सबै कुराको निराकरण कसले गर्ने ? कोबाट हुने ? देश र जनतासामू खट्किएको प्रश्न यही हो । देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी हुने विधि व्यवस्था र प्रतिनिधित्वको सही पात्र आज देशले खोजी रहेको छ ।”

शाहले आफ्नो भिडियो सन्देश पूर्वसचिव फणिराज पाठकद्वारा सार्वजनिक गरेका छन् ।

“प्रयोग र अभ्यासबाट देशलाई बचाउने र बनाउँदै जाने हो । सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दोरुपमा पाइन्छ । पुर्खाले आर्जेको स्वाधिन राष्ट्रलाई असफलतातिर धकेल्नुहुँदैन । आफ्ना सनातनी मुलभूत महिमालाई विथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर नौलो, नेपाल भइहाल्दोरहेनछ । त्यसैले बहियो मियोमा आवद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ,” उनले भनेका छन्, “नेपाल निरन्तर देशी विदेशीको क्रिडाभूमि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर समुन्नत, सक्षम र समृद्धिको पुननिर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान बनाउनुपरेको छ । आफ्नै देशमा मौका नभएर हो कि वा नखोजेर हो रोजगार र कमाउनु भनेर दिनहुँ हजारौँको संख्यामा नेपाली युवा युवती विदेशीइरहेका छन् । एकातिर होनहार नागरिक बाहिर गएर भूभाग र हामीलाई उजाड पारेका छन् भने अर्कातिर बाहिरिया भित्र्याउने र वास्तविक नेपाललीलाई धरापमा पार्ने अवस्था हुँदा चिन्ता बढेको छ । विश्वका दुई ठूला मुलुकका बीचमा हाम्रो देशको धर्म र संस्कृति, सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ ।”

उनले सम्बोधनको अन्त्यतिर कोर्स करेक्सनको अपरिहार्यता उल्लेख गर्दै भनेका छन्, “डेढ दशको राजनीतिक अवस्थाले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको छ । हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिक धार्मिक सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइँदिदा राष्ट्रहित र सुरक्षा अवस्था संकटग्रस्त बन्दै गएको छ । भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लैजाने अवस्था बनेको छ ।”

Copy link
Powered by Social Snap