२०८१ बैशाख १४

देउवालाई शेखर समूहको प्रश्न : अरुसँग १८ घण्टा मिटिङ, हामीलाई १८ मिनेट नदिने ?




काठमाडौं । समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टिले उग्र रूप लिएको छ । संस्थापन पक्षअर्थात् पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट समानुपातिक सूची बुझाएको भन्दै इतर समूह प्रतिकारमा उत्रिएको हो । 



Advertisement



पार्टीमा संस्थापन पक्षले इतर समूहलाई उपेक्षा गरेको भन्दै खबरदारी सभाको आयोजना गरेको छ । शेखर समूहले शनिबार बानेश्वर ब्याक्वेटमा दिउँसो १ बजेलाई खबरदारी भेला आयोजना गरेको समूहका नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

“समानुपातिक सूचीमा सभापतिज्यूले एकलौटी गर्नुभयो । हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भयो,” उनले भने, “पार्टीभित्र मनपरित्रतन्त्र हावी भयो । सभापतिले एकलौटी गरेपछि हामीले खबरदारी सभाको आयोजना गरेका हौँ ।”

नेता केसीका अनुसार समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेजस्तै प्रत्यक्ष तर्फको टिकटमा पनि एकपक्षीय गतिविधि हुने भय समूहमा छ । सोहीकारण सभापति देउवालाई दबाव दिने र सम्माजनक भागबण्डा लिने तयारी शेखर समूहको छ ।



“अरू दललाई ८०–८५ सिट दिने अनि पार्टीभित्रै अर्को समूहलाई चाहिँ समान हैसियत दिनु पर्दैन ? जिम्मेवार नेताहरूलाई पाखा लगाउन मिल्छ ?” उनले भने, “अरु दलसँग १८ घण्टा मिटिङ गर्ने । एकै दलमा रहेर फरक समूहको नेतृत्व गर्ने समूहका नेतालाई १८ मिनेट पनि नभेट्ने ? त्यसकारण हामीले खबरदारी सभा गर्न बाध्य भएका हौँ ।”

केसीका अनुसार सभामा इतर समूहबाट प्रतिनिधित्व गर्ने भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु सभामा उपस्थित हुनेछन् । खबरदारीपश्चात् पनि निरन्तर आफूहरूलाई पाखा लगाएर सभालाई सशक्त बनाउँदै लगिने उनले जानकारी दिए ।

Copy link
Powered by Social Snap