२०८१ बैशाख १३

धनुषा २ बाट ‘मास्टर साहेब’ले स्वतन्त्र उमेदवारी दिने




जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट कारी यादव  (मास्टर साहेब)ले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेको छ । मंगलबार उनले जनकपुरधाममा पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गरेका हुन् । 



Advertisement



भ्रष्टाचार, कुशासन तथा धर्म निरपेक्षताविरुद्ध आफूले उमेदवारी दिन लागेको उनको भनाइ छ । उनले  शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्थालाई उकास्न आफूले उमेदवारी दिन लागेको बताए ।

“देशको अवस्था वर्तमान समयमा चिन्ताजनक छ । कलकारखाना बन्द भएका छन्,” उनले भने, “शिक्षा स्वास्थ्यमा व्यापारीकरण भएको छ । यी र यस्ता विकृतिविरुद्ध निर्वाचित भए सशक्त रूपमा आवाज उठाउने छु ।”

०२५ सालदेखि मावि स्तरमा प्रथम श्रेणीको शिक्षक भई शिक्षण काम गरेका यादवले ०७० सालमा शिक्षण पेशाबाट अवकाश प्राप्त गरेका थिए ।



०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उमाशंकर अरगरिया निर्वाचित भएका थिए । यसपटक अरगरियाको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट एकल सिफारिस भएको थियो । तर, उनी एमाले प्रवेश गर्ने तयारीमा छन् । एमालेबाट गंगाराम यादवको एकल नाम सिफारिस भएपनि अरगरिया उमेदवार बन्न निश्चितजस्तै छ । आउदो शुक्रबार उनी औपचारिक रूपमा एमाले प्रवेश गर्ने कार्यक्रम राखिएको छ । 

यस्तै, यो क्षेत्रबाट नेपाली कांग्रेसले रामकृष्ण यादव र मोक्ता यादवको नाम सिफारिस गरेको छ । नेकपा (एकीकृत समाजवादी)बाट सम्भावित उमेदवारको रूपमा रामचन्द्र झाको नाम सिफारिस भएको छ । नेकपा (माओवादी केन्द्र)बाट योगकुमार बरबरिया यादव (श्रवण) को एकल नाम सिफारिस भएको छ ।

Copy link
Powered by Social Snap