२०८१ बैशाख ७

वाग्मतीकी उपसभामुख भन्छिन्– हाच्छिउँ गर्न केन्द्रको मुख ताक्नु हुँदैन !




विराटनगर । प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावली प्रदेशपिच्छे फरक रहेकाले सचिवालय सचिव अनुभवी राख्नुपर्नेमा जोड दिइएको छ ।

मंगलबार धनकुटाको हिलेमा आयोजित ‘संघीयता प्रवद्र्धनमा प्रदेशसभाको भूमिका’ विषयक अन्तरप्रदेश समीक्षा गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशिराज दाहालले संविधानले संघ र प्रदेशलाई प्रदान गरेको अधिकारका विषयमा प्रस्ट पारेका हुन् ।



Advertisement



प्रदेशहरूले खासै काम गर्न नसकेको दाहालले बताए । उनले भने, “पहिलो पाँच वर्षको काम हेरेर संघीयता नै असफलउन्मुख भयो भन्नु व्यावहारिक हिसाबले पनि ठिक हुँदैन । भएका केही विकृतिलाई क्रमशः न्यूनीकरण गर्दै अघि बढ्नुपर्छ ।”

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले सुरुवाती चरणमा संघीयता कार्यान्वयन निकै कठिनजस्तो भएको बताइन् । उनले भनिन्, “धेरै देशहरूमा संघीयता कार्यान्वयन गर्न कठिनाई भएजस्तै प्रारम्भिक वर्षमा अभाव र अप्ठ्यारो महसुस भएको छ । त्यसलाई पूर्ति गर्दै अघि बढे सफल हुन सकिन्छ ।”

पहिलो पाँच वर्षको समीक्षा गरेर ‘असफल भयौँ भन्न नसकिने’ उनको भनाइ छ । “नेतृत्वको सोच र आचरणमा समेत परिवर्तन आउनुपर्छ, नामकरणदेखि राजधानी राख्ने धेरै सवालमा केन्द्रको हस्तक्षेप रहेको छ । हाच्छिउँ गर्न पनि माथि मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्छ,” उनले भनिन् ।



कर्णाली प्रदेशका सचिव जीवराज बुढाथोकीले पहिलो कार्यकाल बिताइरहँदा संरचना र कानुन निर्माणका सवालमा केही काम हुन सकेको बताए । उनले भने, “आर्थिक रूपमा केही संकटजस्तो देखिएको छ । आर्थिक हिसाबले समते केही खुम्चनुपर्ने भयो ।” बुढाथोकीले प्रदेशलाई आफ्नो अधिकारसहित स्थापित गराउन थप पहल हुनुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले संघीयतालाई कार्यान्वयन गर्ने सवालमा प्रदेशले कस्तो भूमिका खेल्यो भन्ने आम रूपमा जिज्ञासा उठाइने गरेको बताए । “संघीयता प्रवद्र्धन गर्ने कुरा हो, यसलाई संस्थागत गर्नुपर्छ,” उनले भने, “योजना बनाउँदा र छनोट गर्दा अलि परिष्कृत ढंगले गर्नुपर्छ । भूगोल स्थानीय तहमा छ । त्यसैले अब योजनाको उठान गर्दा विशेष, समपूरक अनुदानभन्दा कुनै कानुन ल्याएर स्थानीयले समाधान गर्ने कुन–कुन हुन् र प्रदेश तथा संघबाट चाहना गरेका आयोजना के–के हुन् भन्ने प्रस्ट गर्नुपर्छ ।”

प्रदेश नम्बर–१ को प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले कर्मचारीको बारम्बार हुने सरुवाका कारण काममा असर पर्ने बताए ।

वाग्मती प्रदेशसभा सचिव कृष्णहरि खड्काले वाग्मती प्रदेशसभाले गरेका काम–कारबाहीको विवरण प्रस्तुत गर्दै कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा सातै प्रदेशसभाका सचिवहरूले कार्यप्रगति विवरण र सुझाव प्रस्तुत गरेका थिए ।

सातै प्रदेशका सभामुख र उपसभामुखहरूले आफ्ना अनुभव आदानप्रदान गरेका छन् ।

Copy link
Powered by Social Snap