२०७९ आश्विन १०
Advertisement

Advertisement

हिजोको बागमती फर्केर आउँदैन ? : मधुकर उपाध्या

सामाजिक सञ्जालमा दुर्लभ ऐतिहासिक तस्बिर र भिडिओहरू सार्वजनिक गर्दै आएको ‘भिन्टेज नेपाल’ ले भदौ ७ गते मंगलबार दुइटा तस्बिर ट्वीट गर्‍यो।

पहिलो तस्बिर सन् १९७० दशकमा वुल्फगेङ अल्टभाटरले खिचेका रहेछन् जसमा सानेपा, राजतीर्थको तत्कालीन बागमती किनारको दृश्य देखिन्छ।


Advertisement


तस्बिरमा मृत्युपछि पानीको अन्तिम थोपा मुखमा पारिदिन शव सुताइने ब्रह्मनाल छ। ब्रह्मनालसँगै नदीसम्म आउने पाँच खुड्किला सिँढी छन्। नदी किनार एक महिला लुगा धुँदै छिन्, अर्की महिला धार्मिक प्रयोजनका लागि पानी थाप्न आएजस्ता देखिन्छिन्। त्यहीँ साना केटाकेटी पनि छन् जो सायद लुगा धुन आएकी महिलाका सन्तान हुन्। पछाडि मन्दिर छ, मन्दिरसँगै किरियापुत्रीहरू बस्ने घर छ र घरको माथिल्लो तल्लामा सेतो वस्त्र लगाएर किरिया बसिरहेका एक पुरूष छन्।

अर्को तस्बिर त्यही ठाउँको अहिलेको दृश्य हो जसमा सानेपा, राजतीर्थको घाटमाथि पुल बनेको छ। काठमाडौंको टेकुलाई ललितपुरको सानेपासँग जोड्ने यो पुललाई कालोपुल भनिन्छ।

तस्बिरमा न घाट छ, न पछाडिको खुला फाँट, न त किरियापुत्रीहरू बस्ने घर। जुन घाट र ब्रह्मनाल हुँदै मान्छेले यो जुनीबाट अर्को जुनीको यात्रा तय गर्छ, त्यसलाई मासेर ठ्याक्कै माथि नदी वारपार गर्न पक्की पुल हालिएको छ।

अब फेरि एकचोटि माथिका दुवै तस्बिर नियालेर हेर्नुस् त!

पुलमुनि उति बेलाको ब्रह्मनाल जीवितै देखिन्छ। ब्रह्मनालको दायाँबायाँ जहाँ पहिले सिँढीहरू थिए, ती सिँढी अहिले पनि रहेछन् तर त्यहाँ फोहोर थुप्रिएको छ। तस्बिरमा नदेखिए पनि किरियापुत्रीहरू बस्ने घरको भग्नावशेष अहिले पनि छँदैछ।

सबभन्दा महत्वपूर्ण कुरा, बागमती नदीको विगत र अहिलेको स्वरूपमा आएको परिवर्तन हामी तस्बिरमा छर्लंग देख्छौं।

दुवै तस्बिरमा बागमती उर्लिएकी छैन। त्यसैले सामान्य समयमा खिचिएको हुनुपर्छ। यसले सामान्य बेला बागमतीमा खासै धेरै पानी हुँदैन रहेछ भन्ने बुझिन्छ। सँगसँगै यो पनि बुझिन्छ, सामान्य बेला पानी धेरै नभए पनि बर्खामा उर्लिने नदीलाई बग्ने ठाउँ चाहिन्छ भनेर हाम्रा पुर्खाले नदीको बहाव क्षेत्र खाली राखेका थिए।

हाम्रा पुर्खाले जानेको–बुझेको यही परम्परागत ज्ञान हामीले बिर्सिसक्यौं जसको परिणति आज भोग्दैछौं, बर्खामा आउने भेलबाढीको प्रकोपका रूपमा।

अहिले बागमतीको बहाव क्षेत्र मासेर अग्लाअग्ला घर ठडाइएका छन्, बाटो बनाइएका छन्, पुल हालिएका छन्। चौतर्फी अतिक्रमणले नदी खुम्चिएको छ। जतिसुकै खुम्चिए पनि बर्खामा जब नदी उर्लिएर आउँछ, उसले आफू फैलिन बहाव क्षेत्र खोज्छ। त्यो बेला नदीले ती सबै संरचना सोहोरेर लैजान्छ, जुन संरचना उसको बहाव क्षेत्र ओगटेर बनाइएका छन्।

भिन्टेज नेपालले सेयर गरेका यी तस्बिरले सानेपाको मात्र बेहाल देखाउँदैन, यो काठमाडौं उपत्यकाका सबै नदी र खोलाहरू — बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, मनहरा, मनमती, हनुमन्ते — लगायतको यथार्थ हो।

अतिक्रमणको मात्रा धेरै–थोरै होला तर यहाँका सबै नदी यसरी नै नालीमा परिणत हुँदै गइरहेका छन्।

जब जब बागमतीको बेहाल झल्किने यस्ता तस्बिर देख्छु, म नदीको धारमा उल्टो बग्दै आफ्नो अतीततिर पुग्छु।

मेरो जन्म आजभन्दा ६८ वर्षअघि बागमती किनारमा बसेको देउपाटनमा भयो। हुन त म सानै छँदा हाम्रो परिवार ज्ञानेश्वर सरिसकेको थियो तर ठाउँ फेरिए पनि बागमतीसँगको मेरो सम्बन्ध फेरिएन।

‘भिन्टेज नेपाल’ ले भदौ ७ गते मंगलबार ट्वीट गरेका दुई तस्बिर। सन् १९७० मा खिचिएको सानेपा, राजतीर्थको तस्बिर (बायाँ) र त्यही ठाउँको अहिलेको तस्बिर। 

बागमतीसँग मेरो बाल्यकालदेखिको गहिरो भावनात्मक सम्बन्ध छ। स्कुल पढ्दादेखि नै म हरेक बिहान पशुपति र बागमती क्षेत्र पुगेकै हुन्थेँ। घरबाट निस्केर पहिला आर्यघाट पुग्थेँ। त्यहाँबाट बागमती किनारै किनार नवदुर्गासम्म जान्थेँ। नवदुर्गाभन्दा अलि अगाडि केही सत्तल थिए जहाँ त्यतिखेर घरबार नभएका सुकुम्बासी बस्थे। हाम्रो परिवारसहित वरिपरिका स्थानीयले ती सुकुम्बासीलाई बेलामौका आर्थिक वा रासनपानी सहयोग गर्थे।

सत्तलको छेवैछेउ हिँड्दै म राजराजेश्वरीसम्म आउँथेँ। राजराजेश्वरीको सेतो मन्दिर, मन्दिर प्रांगणमा हुरहुर्ती उड्ने मलेवाको बथान अनि वरिपरि किरियापुत्रीहरू बस्ने घरमा सेतो वस्त्र लगाएका महिला–पुरूषको समूह म आज पनि झल्झल्ती सम्झिन्छु।

त्यहीँ एउटा पोखरी थियो जसलाई हामी राजराजेश्वरी पोखरी भन्थ्यौं। पोखरीमा एक बित्ताजति लामा रंगीन माछाहरू सुलसुल्ती बगिरहेका हुन्थे। कमलका फूल मगमग बासना छर्दै फुलिरहेका हुन्थे। पोखरीको पानी आफ्नै अनुहार छर्लंग देखिने ऐनाजस्तै कञ्चन हुन्थ्यो। पोखरीसँगै एउटा बगैँचा थियो जहाँ बाह्रै महिना फूल फुल्थे। त्यो फूल पशुपतिमा चढाउनुपर्थ्यो। बेलको बोट पनि थियो जसको पातमा शिव लेखेर पशुपतिमा चढाइन्थ्यो।

हरेक बिहान यी सब दृश्य हेर्दै डेढ–दुई घन्टा पशुपति क्षेत्रमा बिताउनु मेरो नित्यकर्म थियो।

यो नित्यकर्म आइएससी पढ्दासम्म यसरी नै चल्यो।

त्यही ठाउँ फर्केर हेर्दा मेरो पूरा बाल्यकाल बितेको क्षेत्र यो नभएर अर्कै पो हो कि जस्तो अनुभूति हुन्छ।

आज राजराजेश्वरी पोखरीले आफ्नो स्वरूप गुमाइसक्यो। २०४५ सालतिर जब पोखरीको पानी सुक्यो, तत्कालीन जिल्ला पञ्चायतले स्थानीय विकासका नाममा पोखरीको पिँधदेखि वरिपरि सबैतिर सिमेन्टले ढलान गरिदियो। सुर्कीचुनाले बनेको पोखरीको पर्खालमा पनि सिमेन्ट लगाइयो।

यसरी ढलान गरेपछि पोखरीले छाडेको खाडल केही वर्ष भलिबल खेल्ने ठाउँ बन्यो। पछि पशुपति विकास कोषले किरियापुत्रीहरूका लागि राम्रो बन्दोबस्त गर्न वरिपरि पक्की घरहरू बनायो। भलिबल खेल्न रोकेर पानी जम्मा गरियो। तर मरिसकेको पोखरी ब्युँतिएन। पानी सफा राख्न घाँस लगाइयो। तर लाख कोसिस गर्दा पनि पोखरीको पानी सफा हुन सकेन। पानीमा खेलिरहने एक बित्ता लामा रंगीबिरंगी माछाहरू फेरि फर्केर आएनन्।

कंक्रिट संरचनामा ढालिएको पशुपतिको राजराजेश्वरी पोखरी। तस्बिर: मधुकर उपाध्या

त्यतिखेर हाम्रा इञ्जिनियरहरूले बागमती नदीको पानी र पोखरीबीचको सम्बन्ध बुझेनन्।

कुनै पनि परम्परागत पोखरीमुनि बालुवाको एक तह हुन्छ जसले पोखरीलाई भूमिगत जलभण्डारसँग जोड्छ। भूमिगत जलभण्डार हुँदै त्यही पोखरी नदी वा खोलासँग जोडिन्छ। यस्तो प्राकृतिक सम्पर्कले पोखरीको पानीलाई सास फेर्न दिन्छ, पोखरीमा नियमित जलसञ्चार गराउँछ र पोखरीको पानी सधैं तरोताजा राख्छ।

पोखरी र भूमिगत जलभण्डारबीच सम्पर्क टुट्नु भनेको मान्छेको रक्तनलीमा अवरोध आउनुजस्तै हो।

जसरी रक्तनलीमा अवरोध आउँदा हाम्रो रक्तसञ्चार प्रणालीमा समस्या देखापर्छ, त्यसरी नै पोखरीको भूमिगत प्रणालीमा अवरोध आए पोखरीको जलसञ्चार प्रणाली बिथोलिन्छ। यसले हृदयघात भएर मान्छेको मृत्यु भएजस्तै पोखरीको पनि मृत्यु हुन्छ।

राजराजेश्वरी पोखरी मात्र होइन, काठमाडौंका धेरै परम्परागत पोखरी यसरी नै मृत्युको मुखमा पुगेका छन्।

यही हाल हाम्रा नदी-खोलाहरूको छ।

मेरो युवावस्थासम्म बागमतीमा कञ्चन पानी बग्थ्यो। पिँधमा बालुवाको तह प्रस्टै देखिन्थ्यो। पानीसँगै बालुवा बग्थे। नदी वारपार गर्दा पनि पैतालाले बालुवा टेकिन्थ्यो। बर्खामा बाहेक अरू सामान्य समयमा नदीले ओगट्ने क्षेत्र त अहिलेजत्रै हो तर बर्खामा आउने भेलबाढीलाई ठाउँ दिन त्यति बेला छेउछाउको जमिनमा खेती मात्र गरिन्थ्यो। ठूलो पानी पर्दा पनि भौतिक क्षति हुन पाउँथेन।

यस्तै अवस्था विष्णुमती, धोबीखोला, टुकुचा लगायत अरू नदीहरूको थियो।

त्यति बेला हामीलाई यी नदी–खोलाहरूको खासै वास्ता हुन्थेन। नदी आफ्नो ठाउँमा बगिरहेको हुन्थ्यो, मान्छेको जीवन आफ्नो ठाउँमा चलिरहेको हुन्थ्यो। मजस्तो सानो उमेरको मान्छेलाई मात्र होइन, मेरो बुवाको उमेरकालाई पनि नदीसँग खास सरोकार हुन्थेन। अहिलेजस्तो लोप हुँदै गइरहेको भए पो सरोकार राख्नू! मस्त पानी बग्ने नदीलाई कसैले किन वास्ता गर्नुपर्‍यो?

त्यसमाथि घरघरमा इनार थिए। चोकचोकमा कलकल पानी आउने हितिहरू थिए। बस्तीको छेउछेउबाट कुलोहरू बग्थे। घट्टेकुलो हाम्रै घरको छेउबाट बग्थ्यो। इनार, हिति र कुलो भएपछि लुगा धुन, नुहाउन र खानलाई पानी पुगिहाल्थ्यो। त्यसबाहेक परिवारका सदस्य वा आफन्तको निधन हुँदा सद्गत गर्न, धार्मिक पूजापाठ र बेलामौका नुहाउन र पौडी खेल्नबाहेक नदीसँग सरोकार राख्नुपर्ने कारणै थिएन। चाहे त्यो बागमती होस् वा विष्णुमती, धोबीखोला होस् वा टुकुचा।

त्यतिबेलाका नदी–खोलाहरू सम्झिँदा पुरानै अवस्थामा फर्काउन पाए हुन्थ्यो भन्ने हामी सबैलाई लाग्छ। बागमती र विष्णुमतीको पानी खाएर हुर्किएकाहरूलाई त झन् यस्तो विचार मनमा आउनु एकदमै स्वाभाविक हो।

तर के अब बागमती, विष्णुमती लगायत काठमाडौंका नदी–खोलाहरूलाई पुरानै स्वरूपमा फर्काउन सम्भव छ?

यो लेखमा म यसैबारे चर्चा गर्दैछु।

बागमतीको काठमाडौं निकास विन्दु। चित्र: आरएन जोशी, सौजन्य: आरएन जोशी म्युजियम।

सबभन्दा पहिला, नदी बिग्रने क्रम कहाँबाट सुरू भयो, त्यो हेरौं।

करिब २०३५/३६ सालतिरको कुरा हो। राजनीतिक पहुँच भएका एक व्यक्तिले गौरीघाटमा नयाँ घर बनाए र आफ्नो ढल लगेर सोझै बागमतीमा मिसाए। त्योभन्दा अगाडिसम्म नदीमा ढल मिसाउने चलनै थिएन। त्यसैले सायद त्यो ढलको वास्ता भएन। त्यसमा पनि शक्तिशाली व्यक्तिलाई प्रशासनले रोक्ने–छेक्ने कुरा आएन। उसको देखासिकी वरिपरि बन्ने नयाँ घरहरूले पनि त्यसरी नै नदीमा ढल मिसाउन थाले। बिस्तारै तलका बस्तीहरूमा यसको सिको हुन थाल्यो।

यसबीच डिल्लीबजार, कमलपोखरी, नक्साल लगायत ठाउँका मान्छे नयाँ घर बनाएर गौरीघाट, चाबहिलतिर सर्न सुरू भयो। ती नयाँ घरहरूले पनि आफ्ना मलमूत्र ढलमा जोडे र ढललाई सिधै खोलामा मिसाए। नदीमा ढल मिसाउनु सामान्य बन्दै गयो।

एकपछि अर्को, अर्कोपछि अर्को गर्दै पूरै सहरले आफ्नो फोहोर फाल्ने डम्पिङ साइट बागमती, विष्णुमती लगायत नदीहरूलाई बनायो।

२०४६ सालको राजनीतिक परिवर्तनसम्म आइपुग्दा बागमतीको अवस्था निकै बिग्रिसकेको थियो। त्यसैले २०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री भएर आएपछि केही समय पैदलै हिँडेर बागमती निरीक्षण गर्नुभएको थियो। नदी जोगाउन के गर्न सकिन्छ भनेर छलफल गर्नुभएको थियो। तर त्यो चासोले न राजनीतिक रूपमा गम्भीर रूप लियो, न प्रशासनिक रूपमा।

ढल र सहरभरिका अन्य फोहोरमैलाले एकातिर नदी प्रदूषित बनाइरहेको थियो भने अर्कातिर पानीको बहाव कम हुँदै थियो। काठमाडौंको जनसंख्या वृद्धिसँगै बागमतीको पानी अन्य विभिन्न प्रयोजनमा खपत हुन थाल्यो। केही सिँचाइको निम्ति तानियो, केही खानेपानीको निम्ति जम्मा गरियो। सुन्दरीजलको जुन पानी हामी खाइरहेका छौं, त्यो बागमतीकै पानी हो।

यसरी धमाधम पानी अन्तै मोडिएपछि नदीको बहाव घट्दै गयो। जुन बहावले फोहोरमैला सोहोरेर सहर सफा पार्न सक्थ्यो, त्यो बहाव नै रोकिएपछि नदीमा पानी हरायो, ढल र फोहोर मात्र बाँकी रह्यो।

बागमतीसँग काठमाडौंको फोहोर धुने क्षमता गुम्दै गयो।

आखिरमा यस्तो अवस्था आयो, जुन नदीलाई हाम्रो पितापुर्खाले कहिल्यै वास्ता गर्नुपरेन, त्यो नदी हाम्रो पुस्ताको निम्ति दुर्लभ भइदियो। यही क्रम जारी रहे, हुनसक्छ हामीभन्दा पछाडिको पुस्ताले बागमतीको डोब पनि देख्न पाउने छैन।

प्रदूषणको कुरा गर्दा, कसैले जानीजानी नदी प्रदूषित पारेका होइनन् भन्ने मलाई लाग्छ। नदी हो, जे फाले पनि बगाएर लगिहाल्छ भन्ने नै ठानियो होला। त्यसो ठान्नु अन्यथा पनि थिएन। तर नदीको पनि क्षमता हुन्छ, उसको पनि जनघनत्वको बोझ बोक्ने सामर्थ्य हुन्छ भन्ने चाहिँ हामीले बुझेनौं।

जुन दिन हामीलाई त्यो चेत आयो, त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो।

हामीले आफ्नो नदी सम्पदालाई विनाशको अँध्यारो सुरूङभित्र हुलिसकेका थियौं।

हामीबाट एउटा गल्ती के भयो भने २०४६ पछि बागमतीको भविष्यलाई लिएर विज्ञहरू र प्रधानमन्त्रीसमेतबाट जुन चिन्ता व्यक्त गरिएको थियो, त्यो चिन्तालाई हामीले व्यवहारमा रूपान्तरण गर्न सकेनौं।

त्यो समय बागमती विनाश र संरक्षणबीचको यस्तो संघार थियो जहाँ उभिएर भविष्यतिर हेर्नेहरूले बागमतीमा आइरहेको संकट प्रक्षेपण गर्न थालिसकेका थिए। हामीले उनीहरूको प्रक्षेपण बुझेर नदी सरसफाइमा ध्यान दिएका भए बागमती संरक्षण गर्ने समय घर्किसकेको थिएन। खतराको घन्टी बजिसक्दा पनि हामीले आवाज सुनेनौं र बागमतीलाई जोखिमपूर्ण यात्रातिर लगातार हिँडाइरह्यौं।

जसरी एउटा बिरामीले समयमै उपचार पायो भने निको हुने सम्भावना बढी हुन्छ, त्यसरी नै बागमतीलाई पनि त्यति बेलै उपचार गरिएको भए उनी अहिलेसम्म तंग्रिसक्ने थिइन्।

रोगको मूल कारण नै खुट्याउन नसकी लगातार फोहोर थुपार्दै हामीले बागमतीलाई थला पार्‍यौं। बागमतीले भने अनन्तकालसम्म हाम्रो फोहोर सोहोर्न अस्वीकार गरिन्।

हुन त २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देखाएको चासोपछि बागमती संरक्षण निम्ति विभिन्न समितिहरू नबनेका होइनन्। अधिकारसम्पन्न बागमती विकास परियोजना गठन भएकै हो। प्रशोधन प्लान्टहरू राख्ने कामको थालनी पनि त्यही बेला भएको हो। तर यी सबै प्रयासमा दुइटा कमजोरी थिए।

पहिलो, बागमती जोगाउने हाम्रा सबै प्रयास आर्यघाटको सरसफाइमा केन्द्रित थियो। बागमतीलाई स्रोतदेखि पुछारसम्म सफा राख्नुपर्छ र यस निम्ति पानीको बहाव फर्काउनुपर्छ भन्नेतर्फ हामीले ध्यान दिएनौं। आर्यघाटको फोहोर मात्र देख्ने आँखाले पूरै बागमती मृत हुँदै गएको देख्दै देखेनन्। उसको सास घिटिघिटी भइरहेको चालै पाएनन्।

दोस्रो, हामीले बागमती जोगाउन ल्याएका समाधान र समस्याबीच सन्तुलन मिलाउन सकेनौं। कुनै पनि समाधानले त्यतिखेर मात्र राम्ररी काम गर्छ, जब त्यो समाधान सँगसँगै समस्या पनि कम हुँदै जान्छ। बागमतीको सन्दर्भमा भने हामीले समस्या जस्ताको तस्तै राख्यौं। त्यसैले जतिसुकै समाधान गर्न खोजे पनि विराट समस्या थेग्न सकेन। बागमती विनाशलीला झन् झन् गहिरिँदै गयो।

नदीमा ढल मिसाएर फोहोर गर्ने प्रवृत्तिसँगै अतिक्रमणको कुरा पनि जोडिएर आउँछ।

जबदेखि काठमाडौंको जनघनत्व बढ्दै गयो र अव्यवस्थित रूपले सहर फैलिन थाल्यो, तब काठमाडौंमा जग्गाको भाउ यस्तरी अकासियो, कसैले एक इन्च जग्गा थप्दा पनि लाखौंको सम्पत्ति बढ्ने भयो। लाखौंको लोभमा मान्छेहरूले नदी किनारको जग्गा जतिसक्दो ठेल्दै लगे। भूमाफियाहरूले पनि नदी किनारको सार्वजनिक जग्गालाई नै निशाना बनाए। नदीको बहाव क्षेत्र मिचेर प्लटिङ गरी बस्ती विस्तार गरियो।

यसबीच काठमाडौंको ट्राफिक समस्या विकराल हुन थालिसकेको थियो। भएका सडकहरू फराकिलो पार्ने ठाउँ थिएन। यो समस्या हल गर्न सरकारी स्तरमै नदीमाथि धावा बोलियो।

नदीका दुवै किनारमा करिडोरहरू बन्न थाले। जालीदार पर्खाल लगाएर नदीको साँधसीमा तय गरियो। जुन जग्गा नदीको बहाव क्षेत्र थियो, जसलाई हाम्रा पुर्खाहरूले बर्खा बेला पानी बग्ने ठाउँ चाहिन्छ भन्दै खाली छाडेका थिए, ती सबै जग्गा मिचेर गाडी गुड्ने बाटो बनाइयो।

यसले विकराल ट्राफिक समस्या त कम गर्‍यो होला तर नदीको बहाव क्षेत्र मासेर र नदीको स्वामित्वको जग्गा खोसेर हामीले अर्को विकराल समस्या निम्त्यायौं।

सृष्टिमा प्रकृतिलाई कज्याएर मानवीय जीवन चल्न सक्दैन, चलेकै छैन। मान्छेले प्रकृतिको साँधसीमा तय गर्न न हिजो सकेको थियो, न भोलि सक्नेछ। काठमाडौं उपत्यकामा बसोबास सुरू हुनुभन्दा अगाडि नै यहाँ नदीहरू बग्थे, मान्छे त पछि मात्र आएका हुन्। तर मान्छेले आफूभन्दा पहिले सृष्टि भएको नदीमाथि जुन विनाशलीला सुरू गर्‍यो, त्यसको बदला नदीले एक न एकदिन लिएरै छाड्नेछ।

त्यो दिन नदीले मान्छेमाथि मच्चाउने विनाशलीलाको भुक्तमान तपाईं–हामी सबै हुनुपर्छ।

हामीले आजभन्दा करिब ३० वर्षअघि २०५० सालको मुसलधारे झरी बिर्सनु हुँदैन। नेपालमा जल तथा मौसमसम्बन्धी तथ्यांक संकलन हुन थालेको सन् १९६० दशकपछि मात्र हो। त्यसयता आजसम्मकै सबभन्दा बढी पानी २०५० साल अर्थात् सन् १९९३ जुलाई १९ देखि २१ तारिखसम्म परेको देखिन्छ।

त्यति बेला काठमाडौं उपत्यकाछेउको टिस्टुङमा प्रतिघन्टा ७० एमएम पानी परेको रेकर्ड गरिएको थियो। चौबीस घन्टामा ५४० एमएम पानी परेपछि कुलेखानी जलाशयमा आउने सम्पूर्ण नदी जलमग्न भएका थिए। जलाशय जोगाउन सबै ढोका खोलिदिँदा बागमती उर्लिएर मधेसका सर्लाही र रौतहटमा व्यापक जनधन क्षति भएको थियो। काठमाडौं उपत्यकाभित्रै २४० एमएम वर्षा मापन गरिएको थियो।

तथ्यांक रेकर्ड नभए पनि मलाई व्यक्तिगत रूपमा २०२२ सालको वर्षा अझै ठूलो थियो भन्ने लाग्छ। त्यति बेला खोला आसपासको डोल क्षेत्र पूरै डुबेको थियो भने त्योभन्दा थोरै माथिको टारीसम्मै टिलपिल पानी आइपुगेको थियो। २०५० सालको वर्षामा लगभग यस्तै स्थिति भयो।

अहिलेसम्मकै उच्च वर्षा भनिएका यी दुवै साल काठमाडौंमा त्यति धेरै भौतिक क्षति भएको थिएन। जबकि हिजोआज त्योभन्दा निकै कम वर्षा हुँदा पनि क्षतिको मात्रा कहाँ हो कहाँ बढी हुन्छ।

उदाहरणका लागि, २०७५ सालमा काठमाडौं उपत्यकाभित्र निरन्तर वर्षाले बागमती, विष्णुमती नदीको करिडोर क्षेत्र पूरै डुबानमा पर्‍यो। हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर पनि डुबानमा परेको थियो। त्यो वर्ष डुबानकै कारण कम्तिमा तीन जनाको ज्यान गयो। थुप्रै सुकुम्बासी बस्ती उजाडिए, मान्छेहरू बेघरबार भए। अब सोच्नुस् त, त्यो वर्ष कति पानी परेको थियो होला?

त्यति बेला काठमाडौंमा परेको पानी ११५ मिलिमिटर थियो। अर्थात्, २०५० सालको दाँजोमा आधाभन्दा कम।

२०५० सालको आधा वर्षा त काठमाडौंले धान्न सक्दैन भने त्यही हाराहारी वा त्योभन्दा बढी वर्षा भयो भने के हाल होला?

बागमती अतिक्रमणबारे छलफल गर्दा हामीले सोच्नुपर्ने मुख्य प्रश्न यही हो।

यो प्रश्नबारे छलफल गर्दा हामी सबैले के स्वीकार गर्नुपर्छ भने, काठमाडौंले अब २०५० सालजति वा त्योभन्दा ठूलो वर्षा झेल्न सक्दैन। त्यो स्थिति आयो भने यहाँ तबाही मच्चिनेछ। यसको कारण बागमती, विष्णुमती वा अन्य नदी–खोला होइनन्, हामी आफैं हौं।

२०५० सम्म पनि यहाँ नदी आसपासका डोल र टारी क्षेत्र जीवित थिए। यसको मतलब नदीको बहाव क्षेत्र बाँचेकै थियो। जब मुसलधारे वर्षा भएर नदीमा पानीको मात्रा बढ्थ्यो, तब त्यसले फैलिने ठाउँ पाउँथ्यो। आज हामीले नदीलाई फैलिने ठाउँ दिएका छैनौं। नपत्याए एकचोटि आफू बस्ने ठाउँ छेउछाउको कुनै नदी वा खोलातिर हेर्नुस् त! कस्तरी साँघुरो पारेका छौं हामीले!

अब आफूले आफैंलाई सोध्नुहोस्, के त्यत्ति साँघुरो बाटोले उर्लिएको नदी समेट्न सक्ला?

मान्छेको स्मरणशक्ति एकदमै छोटो हुन्छ। हामी बर्खामा भोगेको क्षति दसैंसम्म बिर्सिसक्छौं। भुइँचालो बिर्सिसक्यौं। यसरी नै २०५० को त्यो मुसलधारे झरी पनि बिर्सिसक्यौं। प्रकृतिले भने आफ्नो गति बिर्सिंदैन। प्रकृतिमा एकचोटि भएको घटना कुनै पनि बेला फेरि दोहोरिनसक्छ। त्यो दुर्लभ रहँदैन।

मान्छेहरू अहिलेसम्म त केही भएको छैन, अब पनि हुँदैन भनेर ढुक्क हुन खोज्छन्। तर हामी भुल्छौं, जुन दिन हुन्छ त्यो दिन इतिहास र भूगोल नै बदलिन सक्छ।

प्रकृतिको यही नियम नबुझ्दा विगतमा कयौं सभ्यता उजाडिएका उदाहरण छन्।

नदीको आफ्नै नियम हुन्छ। नदी उर्लिएको बेला उसले आफ्नो नियमित बाटो खोज्छ। फैलिने बहाव क्षेत्र खोज्छ। सय वर्षअगाडि जहाँ बग्थ्यो, आज पनि त्यहीँबाट बग्न खोज्छ। नदीको पुरानो बाटो मिचमाच पारेर उसलाई साँघुरो बाटो हिँड्न करकाप पार्न सकिन्न। उसले कुनै न कुनै दिन आफ्नो जग्गा माग्छ, माग्छ। जुन दिन उसले आफ्नो जग्गा फिर्ता माग्छ, त्यो दिन जग्गा भुक्तानीको हिसाबकिताब हाम्रो निम्ति निकै महँगो पर्नेछ।

हामीले जमिनतिर मात्र हेरेर विकास गर्‍यौं, आकाशतिर हेरेनौं। आकाशबाट पानी पर्छ र त्यो पानीले नदीमा बाढी ल्याउन सक्छ भन्ने हेक्का राखेनौं। जसरी भुइँचालो हाम्रो निम्ति सधैंको खतरा हो, बागमती पनि त्यस्तै एउटा खतरा हो। भुइँचालो हेरेर बलियो संरचना निर्माणको मापदण्ड बनेजस्तै बाढीलाई हेरेर पनि बलियो संरचनामा जोड दिनैपर्छ। खासगरी नदीको बहाव क्षेत्र मिचेर बसेका बस्तीहरूमा विशेष सतर्कता अपनाइनुपर्छ। यसको विकल्प हामीसँग छैन।

यी त भए हामीबाट भएका गल्ती र कमजोरीहरूको कुरा, अब के गर्ने त?

के काठमाडौंका नदी–खोलाहरूलाई पुरानै स्वरूपमा फर्काउन सम्भव छ?

यसलाई दुई पाटोबाट हेर्नुपर्छ —

एक, यी नदीहरूमा पहिलेजस्तै सफा पानी बगाउने।

दुई, यी नदीहरूको जुन बहाव भूमि हामीले खोस्यौं, त्यो भूमि नदीलाई नै फिर्ता गरेर पुरानै गतिमा बग्न दिने।

यी दुवै पाटो नितान्त भिन्न छन्।

मैले माथि नै भनिसकेँ, ज–जसले बागमतीको पानी खाएका छन्, उनीहरू भावनात्मक रूपले बागमतीसँग जोडिएका हुन्छन् र यो नदीलाई पहिलेकै स्वरूपमा देख्न चाहन्छन्। चाहे सरसफाइको दृष्टिले होस् वा बहावको दृष्टिले।

सरसफाइको कुरा गर्ने हो भने बागमती लगायत यहाँका नदी–खोलाहरूलाई पुरानै अवस्थामा फर्काउनु गाह्रो कुरा होइन। नदीमा जमेर बसेका फोहोर सफा गर्ने र थप फोहोर मिल्काउन छाडे पुग्छ। अहिले जति पनि ढलहरू नदीमा हुलिएका छन्, ती सबै ढलको प्वाल बन्द गरे मात्र पनि पुग्छ। त्यसपछि त अर्को बर्खाको पानीले नदी सफा भइहाल्छ। मेलम्ची परियोजनाको एउटा पाइप नदीमा हाल्ने हो भने पनि यहाँ सफा पानी बग्न थाल्नेछ।

जहाँसम्म नदीको पुरानो बहाव फर्काउने कुरा छ, त्यो अब सम्भव छैन।

हामीले यो तीतो सत्य स्विकानैपर्छ – बागमती अब पुरानो स्वरूपमा फर्किंदैन।

नदी वा खोलामा पानी आउने चक्र भनेको त्यसको मूल वा बर्खा मात्र होइन, भूमिगत जलभण्डार पनि हो। बर्खा बेला जमिनमुनि जम्मा हुने पानी क्रमिक रूपले रसाउँदै नदीमा मिसिन्छ। कतै बगेर आएकै देखिन्छ, कतै हाम्रो आँखाले नदेखिने गरी रसाइरहेको हुन्छ। तर अब बागमती वा विष्णुमतीमा भूमिगत जलभण्डारको पानी रसाएर मिसिन सम्भव छैन।

माथि राजराजेश्वरी पोखरीको विनाशबारे चर्चा गर्दा पोखरी र नदीको जुन सम्बन्ध मैले वर्णन गरेको थिएँ, त्यही सम्बन्ध भूमिगत जलभण्डार र नदीबीच पनि हुन्छ। भूमिगत जलभण्डार बन्नलाई सबभन्दा पहिला त बर्खाको पानी जमिनमुनि छिर्ने बाटो हुनुपर्‍यो। हामीले त्यस्तो बाटो एक इन्ची छाडेका छैनौं। मिल्थ्यो भने बागमतीलाई नै माथिबाट ढलान गरेर त्यसभन्दा माथि व्यावसायिक कम्प्लेक्स ठड्याउने थियौं!

बर्खाको पानी जमिनमुनि छिरेपछि त्यो समयक्रममा बग्दै बग्दै नदी वा खोलासम्म पुग्छ। सतह–सतह बग्न समय लाग्दैन तर जमिनमुनि छिरेर रसाउँदै रसाउँदै बग्न समय लाग्छ।

उदाहरणका लागि, शिवपुरी डाँडोमा अहिले परेको पानी अर्को चैतसम्म बागमतीमा आइपुग्छ। त्यस्तै, चाबहिलको पानी बागमती पुग्न एक महिना लाग्छ भने बालुवाटारको पानी धोबीखोला पुग्न दुई महिना लाग्न सक्छ। पानी बग्ने क्रम माटोको प्रकृतिअनुसार पनि फरक पर्छ।

हामीले विकासका नाममा सहरलाई जसरी कंक्रिट ढलानले पुरेका छौं, त्यसले यो भूमिगत जलसञ्चार प्रणाली टुटेको छ। हामीले बर्खाको पानी छिर्न न जमिन खाली राखेका छौं, न त भूमिगत पानी रसाएर नदीमा मिसिन ठाउँ छाडेका छौं। यही भूमिगत जलसञ्चार प्रणालीको विनाशले हाम्रा परम्परागत पोखरी, हिति र इनारहरू सुक्दै गएका हुन्। अब त्यस्तै हाल हाम्रा नदी–खोलाहरूको हुनेछ।

बागमती भनेको कोशी, कर्णाली वा गण्डकीजस्तो हिमनदी होइन जहाँ बाह्रै महिना निरन्तर पानी बगिरहन्छ। काठमाडौं उपत्यकामा बग्ने नदी–खोलाहरूको मूल सानो छ। त्यसैले पानीको स्रोत भनेको बर्खाको झरी र त्यही झरीको पानी जम्मा भएर बन्ने भूमिगत जलभण्डार नै हुन्। यीमध्ये अब नदीको आफ्नो मूल र बर्खाको झरी मात्र बाँकी छन्। नदी जीवित राख्न सबभन्दा ठूलो हिस्सा ओगट्ने भूमिगत जलभण्डार हामीले लगभग ८० प्रतिशत मासिसक्यौं।

मान्छेका ८० प्रतिशत रक्तसञ्चार नलीहरू टालियो भने के होला? के ऊ बाँच्ला?

यही अवस्था बागमतीको छ, यही अवस्था विष्णुमतीको छ र यही अवस्था हाम्रा अन्य नदी–खोलाहरूको छ।

यस मानेमा बागमतीलाई ‘मृत नदी’ भन्दा फरक पर्दैन।

कतिले बागमती ब्युँताउन विभिन्न देशका उदाहरण त दिन सक्छन् तर आफ्नै देशको आर्थिक अवस्था हेक्का राख्दैनन्। हो, बागमतीलाई पुरानै स्वरूपमा फर्काउन सकिन्छ तर त्यसको निम्ति बहाव क्षेत्र उसैलाई फिर्ता गर्नुपर्छ।

गोकर्णदेखि जोरपाटी, गौशालादेखि तीनकुने, बबरमहलदेखि टेकु र तल चोभारसम्मै बागमतीले विगतमा जति जमिन ओगट्थ्यो, त्यो जमिन उसलाई फर्काउनुपर्छ। नदीको त्यो बहाव क्षेत्रमा जे–जति बस्ती बसेका छन्, जे जति सडकहरू बनेका छन्, ती सबै उखेलेर फाल्नुपर्छ। त्यहाँ बसोबास गर्ने मान्छेहरूलाई नयाँ ठाउँमा पुनर्स्थापना गर्नुपर्छ। अहिलेसम्म नदी मासिने गरी जे–जति विकास भए, ती सबै मेट्नुपर्छ। त्यही अवस्थामा फर्किनुपर्छ जुन आजभन्दा चालीस–पचास वर्षअगाडि थियो।

के नदी पुनर्स्थापना गर्न हामी यति ठूलो मूल्य चुकाउन तयार छौं? के यो हदसम्म जान हाम्रो आर्थिक क्षमताले धान्छ?

हामी आजको समयमा बस्ने, आजका विकास पूर्वाधारहरू उपभोग गर्ने र त्यतिले नपुगेर नयाँ–नयाँ विकास पूर्वाधारहरूको अपेक्षा पनि राख्ने, तर बागमतीलाई चाहिँ पुरानै स्वरूपमा फर्काउन चाहने — यो सम्भव हुने कुरै होइन।

यो त केटाकेटीहरूले ‘चिची पनि चाहियो, पापा पनि चाहियो’ भनेजस्तै हो!

त्यसैले, बागमतीलाई पुरानै स्वरूपमा फर्काउने अध्याय बन्द भइसक्यो। यो बन्द भइसकेको अध्यायमा अब हामीले दुःख मानेर वा आत्मालोचना गरेर मात्र पुग्दैन। जे भयो, त्यसलाई सच्याउन सकिँदैन। तर त्यसबाट पाठ सिकेर बाँकी बचेको नदी जोगाउन र प्राकृतिक स्वरूपमै राख्न चाहिँ सक्छौं। अबका दिनमा हामीले गर्नुपर्ने यही हो।

यसका लागि प्रदूषण सफा गरेर मात्र पुग्दैन। नदीमा ढल मिसाउन छाडेर मात्र हुँदैन। ती त सजिला काम हुन् भनेर मैले माथि भनिसकेँ।

गाह्रो तर नदी जोगाउन नगरी नहुने काम चाहिँ भूमिगत जलभण्डारको व्यवस्थापन नै हो।

शरीरको रक्तसञ्चार दुरूस्त नभएसम्म जसरी मान्छे स्वस्थ रहन सक्दैन, त्यसरी नै जलसञ्चार दुरूस्त नभएसम्म नदी–खोला स्वस्थ रहँदैन। जलसञ्चारबिनाको नदी भनेको आफैंमा मृत नदी हो। त्यसैले बागमती, विष्णुमती लगायत काठमाडौं उपत्यकाका नदी–खोलाहरूलाई पुनर्जीवन दिन हामीले मरिसकेको भूमिगत जलभण्डार ब्युँताउनुपर्छ।

यसका लागि म यही लेखमार्फत् पाँचवटा उपाय सिफारिस गर्न चाहन्छु —

एक, हामीले सहरमा जतिसक्दो धेरै खाली ठाउँ सुरक्षित राख्नुपर्‍यो। सहर जति घना हुँदै गयो, उसलाई सास फेर्ने ठाउँ त्यति धेरै चाहिन्छ। काठमाडौंलाई पनि सास फेर्ने ठाउँको कमी हुँदैछ। यसको निम्ति काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सबै नगरपालिकाले सार्वजनिक जग्गाहरूलाई पार्कमा रूपान्तरण गर्नुपर्‍यो।

पार्कका नाममा कंक्रिट संरचना थुपार्नु चाहिँ भएन। पार्क त्यस्तो हुनुपर्‍यो जहाँ हाम्रो पैतालाले माटो टेक्न पाओस्।

अहिले धेरैजसो सार्वजनिक जग्गा अतिक्रमणमा परेका छन्। काठमाडौंका मेयर बालेन शाहले ती जग्गा अतिक्रमणमुक्त गर्ने अभियान सुरू गरेका छन्। यसलाई तीव्रतासाथ अगाडि बढाउँदै त्यस्ता सबै जग्गा महानगरले आफ्नो स्वामित्वमा लिने र कंक्रिटरहित पार्कमा परिणत गर्ने हो भने भूमिगत जलभण्डार ब्युँताउन ठूलो मद्दत पुग्नेछ।

दुई, त्यस्ता सार्वजनिक जग्गामा साना–ठूला पोखरीहरू जतिसक्दो धेरै संख्यामा निर्माण गर्न सकिन्छ। यसले बर्खाको पानी जोगाउन मद्दत गर्छ। यस्तो पोखरी नदी किनारमा मात्र बनाउनुपर्छ भन्ने छैन। सहरभरि जहाँ जत्रो ठाउँ उपलब्ध हुन्छ, त्यहाँ सानो पोखरी वा सानो खाल्डो भए पनि खनेर पानी जमाउने हो भने भूमिगत जलभण्डार बिस्तारै भरिँदै आउनेछ।

त्यस्ता पोखरीमा बाह्रै महिना लबालब पानी भरिएको हुनुपर्छ भन्ने छैन। बर्खामा मात्र पानी जम्ने हो भने पनि हाम्रो भूमिगत जलभण्डारको तह धेरै माथि आउँछ।

सँगसँगै, सुक्दै गएका परम्परागत पोखरीहरूलाई सिमेन्ट लगाएर स्विमिङ पुलको स्वरूप दिने जुन प्रवृत्ति देखिएको छ, त्यसलाई कानुनी रूपमै अन्त्य गरिनुपर्छ। पोखरी चाहे भरिएको होस् वा सुकेको होस्, त्यसलाई त्यही रूपमा छाड्नुपर्छ। ताकि, त्यो खाडलले पानी रसाएर जमिनभित्र जान बाटो दिओस्।

बागमतीमा पानी प्रवाह बढाउन एसियाली विकास बैंक (एडिबी) को सहयोगमा शिवपुरी राष्ट्रिय निकुञ्जभित्र कृत्रिम ताल निर्माण भइरहेको छ। झन्डै एक वर्गकिलोमिटरको उक्त तालबाट बागमतीमा प्रतिसेकेन्ड ४० लिटर सफा पानी थप्ने योजना छ। यो राम्रो योजना हो। यसले बागमतीको फोहोर सोहोरेर सफा पानी बगाउन निश्चित रूपले मद्दत गर्छ। तर बागमतीलाई पुनर्जीवन दिने जुन भूमिगत जलभण्डारको हामी कुरा गर्दैछौं, त्यसको निम्ति सहरभरि बनाइने स–साना पोखरीहरू अझ प्रभावकारी हुने छन्।

तालको पानी बागमतीमा बगाउनु भनेको मान्छेलाई कृत्रिम अक्सिजन दिएर बचाउनुजस्तै हो। त्यो पानी सुक्न सक्छ, प्रदूषित हुन सक्छ। मान्छेलाई नयाँ जीवन दिन उसका शारीरिक अवयवहरू नै तन्दरूस्त राख्नुपर्छ। नदीका लागि उसको शारीरिक अवयव भनेको पानीको मूल र पानी रसाएर आउने भूमिगत जलभण्डार हुन्।

जसरी आकाशबाट पानी पर्दा सबैतिर छरिएर विकेन्द्रीत रूपमा पर्छ, हाम्रो पानी संरक्षण प्रयास पनि सबैतिर छरिएको विकेन्द्रीत नै हुनुपर्छ।

तीन, बर्खे पानी जोगाउने भनेको सरकार वा स्थानीय तहहरूको मात्र काम होइन। यसलाई नागरिक स्तरमा अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ। यो अभियान चलाउन काठमाडौं उपत्यकाभित्र बन्ने प्रत्येक घरले थोरै भए पनि जग्गा खाली छाडेर भूमिगत जलभण्डार बढाउन योगदान गर्नुपर्ने नियम लागू गर्न सकिन्छ।

यो खासै गाह्रो काम होइन। अहिले पनि तीन आना वा त्योभन्दा सानो जग्गामा बनेको घरमा पनि यताउति कुनाकाप्चामा थोरै जग्गा खाली नै देखिन्छ। कति घरको आँगनमा त दुई–तीनवटा गाडी अट्ने क्षेत्रफलको जग्गा खाली हुन्छ। तर त्यो खाली ठाउँको कुनै अर्थ छैन, किनभने धेरैले आफ्नो खाली जग्गा ढलान गरेका छन्। यसले जमिनमुनि पानी छिर्न पाउँदैन।

हामीले घर वरिपरि बचेको खाली जग्गा खुल्लै छाडिदिएको भए वा कम्तिमा पानी सोस्ने इँटा बिछ्याएको भए जमिन रिचार्ज हुन पाउँथ्यो। भूमिगत जलभण्डार अलिकति भए पनि बढ्ने थियो।

कसैको घरमा यत्ति गर्न पनि ठाउँ छैन भने त्यसका लागि अर्को उपाय छ। त्यस्तो घरले भुइँमा सानो खाल्डो खन्न सक्छ र कौसीमा जम्मा हुने बर्खे पानीलाई पाइपबाट तानेर सिधै त्यो खाल्डोमा खसाल्न सक्छ। यसले बर्खाको पानी खेर जाँदैन। जमिनमुनि बगेर जलभण्डार रिचार्ज हुन्छ।

सोच्नुहोस् त — सहरका हरेक घर, हरेक चोक र हरेक बहालले बर्खाको पानी जम्मा गरेर जमिनमुनि पठाउने हो भने भूमिगत जलभण्डारमा कति ठूलो योगदान पुग्ला?

यो कुनै खर्चिलो वा उच्च लागतको योजना होइन। नागरिक स्तरमा सञ्चालन हुने यस्तो जलभण्डार रिचार्ज अभियानलाई स्थानीय सरकारहरूले सजिलै संयोजन गर्न सक्छन्। घरको नक्सा पास गर्ने अधिकार स्थानीय तहकै भएकाले नक्सा पासकै क्रममा जलभण्डार रिचार्जमा विचार पुर्‍याउन सकिन्छ।

चार, भूमिगत जलभण्डार रिचार्ज अभियानलाई कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा समावेश गर्न सकिन्छ। अहिले हाम्रो सरकारी पाठ्यक्रमले कक्षा ९ देखि १२ सम्म सामाजिक शिक्षा अनिवार्य गरेको छ। त्यही सामाजिक शिक्षामा जलभण्डार रिचार्जको एउटा अध्याय थपेर त्यसलाई प्रयोगात्मक रूपमा अपनाउन सकिन्छ।

यसो गर्दा ९ कक्षादेखिका विद्यार्थीले पानी व्यवस्थापनको महत्व, नदीसँग यसको सम्बन्ध र जलभण्डार व्यवस्थित गर्ने उपाय जान्ने छन्। उनीहरूलाई प्रयोगात्मक रूपमा सानो सानो पोखरी बनाउन वा खाल्डो खनेर पानी जम्मा गर्न सिकाउन सकिन्छ।

यो भूमिगत जल व्यवस्थापनको दीर्घकालीन उपाय पनि हो। हरेक वर्ष नयाँ विद्यार्थी आउँछन् र त्यो नयाँ विद्यार्थीले यो प्रक्रियालाई सधैं निरन्तरता दिइरहन्छन्। चार वर्ष लगातार जल व्यवस्थापन विधि जानेको विद्यार्थीले भविष्यमा पनि यो विधि अपनाइरहने सम्भावना बढी हुन्छ।

पाँच, काठमाडौं उपत्यकाको सहरीकरणले वरिपरिका डाँडाकाँडा छुन लागिसकेको छ। बालाजुबाट नागार्जुन जंगलको किनारै किनार अगाडि बढ्दा मुड्खुको डिलसम्मै बस्ती फैलिसकेको देखिन्छ। यतिले नपुगेर शिवपुरी, नागार्जुन लगायत डाँडाहरू पनि खोस्रँदै कंक्रिट संरचना बनाउने क्रम सुरू भइसकेको छ। यसलाई अहिल्यै रोकिएन भने भोलि हाम्रा नदी–खोलामा आउने पानीको मूल नै सुक्नेछ। त्यसपछि न डाँडा रहन्छ, न नदी।

समय घर्किसक्यो तर अन्त्य भइसकेको छैन। अब जति ढिला हुन्छ, बागमती विनाश उति बढ्दै जानेछ। बागमतीको प्रदूषण अन्त्य गर्न र पुरानो स्वरूपमा नभए पनि जति सकिन्छ बचाउन आजैबाट बहस सुरू गर्नुपर्छ। यसले बागमती बचाउने अरू थुप्रै नवीन र सिर्जनात्मक विधिहरू प्रस्तावमा आउन सक्छन्।

यो विषय बहसमा ल्याउने अभिभारा काठमाडौं महानगरसहित उपत्यकाका सबै नगरप्रमुखहरूको हो। त्यसबाहेक मंसिर ४ को निर्वाचनपछि आउने संघीय र प्रदेश सरकारले पनि बागमती बचाऊ अभियानलाई प्राथमिकतासाथ अगाडि बढाउनुपर्छ।

हामीले यत्ति गर्न सक्यौं भने बागमतीमाथि थोरै भए पनि न्याय हुनेछ।

हाम्रो पुर्खाले जोगाएको नदीको एक अंश मात्र भए पनि हामी भावी पुस्तालाई हस्तान्तरण गर्न सक्नेछौं।

Copy link
Powered by Social Snap