२०७९ आश्विन १०
Advertisement

Advertisement

डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

८ भदौ, काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको अभ्यास सुरु भएको धेरै भएको छैन । छोटै समयमा पनि विद्युतीय माध्यमको कारोबारले ठूलै फड्को मारेको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको २०७९ असारको तथ्यांकले एकै महिनामा २ करोड ५ लाख ६४ हजार ३०८ पटक मोबाइल बैंकिङ कारोबार भएको देखाएको छ । त्यसबाट १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।


Advertisement


२०७७ साउनमा मोबाइल बैंकिङको माध्यमबाट ५९ लाख २३ हजार ४११ वटा कारोबारमार्फत १८ करोड ३९ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो । मोबाइल बैंकिङ मात्र नभई कनेक्ट आईपीएस र वालेटबाट हुने आर्थिक कारोबार पनि उल्लेख्य रुपमा बढेको देखिन्छ ।

२०७९ साउनमा वालेटको माध्यमबाट हुने कारोबार संख्या डेढ करोडभन्दा माथि पुगेको छ । साउनमा वालेटको माध्यमबाट १ करोड ६२ लाख ६ हजार ३५६ कारोबारमार्फत १७ अर्ब ७५ करोड २० लाखको कारोबार भएको छ ।

२०७७ साउनमा १ करोड १ लाख ७७ हजार ८८९ कारोबार मार्फत ७ अर्ब ७५ करोड ९० लाखको कारोबार भएको थियो ।

२०७७ साउनमा कनेक्ट आईपीएसबाट ६ लाख ३३ हजार १३४ वटा कारोबारबाट ४७ अर्ब ३६ करोड ७० लाखको कारोबार भएकोमा २०७९ असारमा ४२ लाख ७० हजार ९९ कारोबारबाट ३ खर्ब ६९ अर्ब २२ करोड ३ लाखको कारोबार भएको छ ।

ठूला र व्यावसायिक कारोबार हुने रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) सञ्चालनामा आएको धेरै समय भएको छैन । तर, २०७९ असारको एक महिनामै आरटीजीएसबाट ४३ खर्ब ४९ अर्बको कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकका अनुसार कुल ८१ हजार ८१७ वटा कारोबारमार्फत उक्त रकमको कारोबार भएको हो । आरटीजीएसबाट २०७७ साउनमा ३४ हजार ६१६ वटा कारोबारमार्फत १२ खर्ब २४ अर्बको कारोबार भएको छ ।

राष्ट्र बैंकले ठूलो कारोबार आरटीजीए प्रणालीमार्फत अनिवार्य गराएपनि इलेक्ट्रोलीक चेक क्लियरिङ र आईपीएसमार्फत पनि संस्थागत र ठूलो रकमको कारोबार हुने गरेको देखिन्छ ।

नेपाल क्लियरिङ हाउसले उपलब्ध गराउने इलेक्ट्रोलीक चेक क्लियरिङको माध्यमबाट २०७९ को असारमा मात्र १४ लाख ८६ हजार ५५१ वटा कारोबार मार्फत ८ खर्ब ५१ अर्बको कारोबार भएको छ । जबकी, २०७८ असारमा १४ लाख ४० हजार ४७२ वटा कारोबारमार्फत ९ खर्ब ८८ अर्ब र २०७७ साउनमा १० लाख ३९ हजार ३३० वटा कारोबार मार्फत ६ खर्ब ५७ अर्बको कारोबार भएको थियो ।

पछिल्लो समय हरेक डेढ घण्टामा चेक क्लियरिङको काम गर्ने गरेको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान बताउँछन् ।

यस्तै आईपीएसको माध्यमबाट २०७७ साउनमा ३ लाख ४७ हजार ८५४ वटा कारोबार मार्फत १ खर्ब ५६ अर्बको कारोबार भएको थियो । यस्तै २०७८ असारमा ११ लाख ६४ हजार ४८१ वटा कारोबार मार्फत २ खर्ब ९९ अर्बको कारोबार भएको थियो । तर, २०७९ असार मसान्तमा कारोबार संख्या बढेर १३ लाख २२ १७४ पुगेपनि कारोबार रकम भने २ खर्ब ७६ अर्बमा झरेको छ ।

राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको छ । गभर्नर महाप्रसाद अधिकारीले क्यूआर बेस पेमेन्टलाई अभियानकै रुपमा अगाडि बढाउने घोषणा गरेका छन् ।

सानिमा बैंकले नक्सालको तरकारी बजारबाट सुरु गरेको अभियान अहिले ठेला गाढाबाट हुने व्यापारसम्म फैलिसकेको छ ।

नेपालमा विद्युतीय कारोबार बढ्दै जाँदा बैंकहरुको काउन्टरमा ग्राहकको भीडसँग नगद ‘सर्कुलेसन’ पनि घटेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । नेपालमा कोरोना महामारी विद्युतीय आर्थिक कारोबारका लागि ‘टर्निङ प्वाइन्ट’ साबित भएको उनले बताए ।

हुन पनि, २०७८ असारमा करिब ६ खर्ब ७० अर्ब बराबरको नोट चल्तीमा रहेकोमा २०७९ असारमा ६ खर्ब १६ अर्बमा झरेको छ ।

विद्युतीय भुक्तानी पूर्वाधार विकास, यसका लागि भएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरण प्रयोगमा सर्वसाधारणको बढ्दो अभ्यासका कारण यस्तो कारोबार बढेको हो ।

चालु मौद्रिक नीतिमा आर्थिक वर्ष ०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रुपमा मनाउन संस्थागत समन्वय गर्ने उल्लेख छ ।

बजेटमा उल्लेख भएअनुसार पूर्ण डिजिटल बैंक स्थापना गर्न राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा संशोधन गर्ने, भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा वैदेशिक लगानी भित्र्याउने निजीगत व्यवस्थामा पुनरावोलकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका (सीईओ) सुनिल केसी बैंकहरुले कोभिड अगाडि नै डिजिटल बैंकिङमा लगानी सुरु गरेको बताउँछन् ।

‘राष्ट्र बैंकले पनि सोही किसिमको नीति लिएकोमा कोभिड-१९ विरुद्वको बन्दाबन्दीले डिजिटल बैंकिङ अभ्यास बढाउन मद्धत गर्‍यो,’ उनले भने, ‘मालपोत लगायतका सरकारी कार्यालयहरु भने अझै डिजिटल भएका छैनन् । डिजिटल कारोबारलाई आवश्यक ‘इको सिस्टम’ तयार हुन बाँकी छ ।’

यसमा सरकार र नियमक निकायहरुले थप मेहनेत गर्नुपर्ने सीईओ केसीको सुझाव छ ।

बढ्दो डिजिटल बैंकिङ प्रयोगकर्ता

डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्या वृद्धिसँगै कारोबारमा पनि सुधार भएको हो । कोभिड-१९ ले नागरिकमा फैलिएको त्रासले गर्दा डिजिटल बैंकिङ प्रयोगकर्ता बढेको र त्यो नै विद्युतीय कारोबारका लागि कोसेढुंगा सावित भएको पूर्वबैंकर दाहाल बताउँछन् ।

राष्ट्र बैंकका अनुसार, २०७७ साउनमा वालेट युजरको संख्या ६२ लाख ७४ हजार १२९ रहेकोमा २०७९ असारमा १ करोड ३६ लाख ७५ हजार ९९३ पुगेको छ । त्यस्तै, मोबाइल बैंकिङ युजर पनि २०७७ साउनमा १ करोड १४ लाख ६४ हजार ८६७ रहेकोमा २०७९ साउनमा बढेर १ करोड ८३ लाख ७ हजार २५५ पुगेको छ ।

सोही अवधिमा इन्टरनेट बैंकिङ युजर १० लाख ४५ हजार ५५८ बाट बढेर १६ लाख ८४ हजार ३१० पुगेको छ । त्यस्तै, कनेक्ट आईपीएस युजर ५ लाख ३५ हजार ६१५ बाट बढेर ८ लाख ९६ हजार ३३४ पुगेको छ ।

Copy link
Powered by Social Snap