२०८१ बैशाख १४

५ करोड लगानीको ‘सजिलो साथी’ आउँदै, के हुनेछ नयाँ सुविधा?




काठमाडौं उपत्यकामा यात्रा गर्दा चोकमा उभिएर सार्वजनिक सवारीसाधन कुर्नुपर्ने बाध्यता छैन। बसेकै ठाउँबाट माेबाइलमार्फत् चाहेको सवारी आफू भएसम्म बोलाउन सकिन्छ। ती सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याइदिन्छन्।

केही वर्षयता यस्ता राडड सेयरिङ कम्पनीहरू थपिइरहेका छन्। यसैमध्ये पर्छ नयाँ राइड सेयरिङ एप ‘सजिलो साथी।’

सेवा दिन यसले ‘सजिलो’ नामक एप ल्याइसकेकाे छ। अन्य सुविधा र काम भने परीक्षण भइरहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमीर लामा बताउँछन्। चाँडै बजार भित्रिने गरी काम भइरहेको उनले बताए।



Advertisement



‘वैशाखमा हामीले तीन महिनाका लागि एपको बेटा भर्सन ल्याएका थियाैं,’ लामाले भने, ‘अब सकेसम्म दसैंअघि बजारमा सार्वजनिक गर्ने तयारी छ।’

उनका अनुसार ‘सजिलाे’ एपमा एघार हजार बढी चालक आबद्ध भइसके। युवादेखि ६० वर्ष उमेरसम्मका चालक छन्। त्यस्तै २५ हजारभन्दा धेरैले सजिलाेको सेवा प्रयाेग गरिसके। सजिलाेमा जाेडिएको ६ महिनासम्म सवारीधनीले कमिसन बुझाउनु पर्दैन। यसमा जोडिन चाहनेले निःशुल्क दर्ता गर्न सक्ने लामाले बताए।

सवारीसाधन दर्ता गर्न चालक कार्यालय धाउनु पर्दैन। घर बसेर अफलाइनमै फारम भर्न सकिन्छ। सुरू गरेको ६ महिनापछि भने हरेकपटक यात्रु बोक्दा १० प्रतिशत कमिसन कम्पनीलाई बुझाउनुपर्छ।

बजारमा चलिरहेका राइड सेयरिङ एपभन्दा सजिलाेमा केही फरक विशेषता भएको लामा बताउँछन्।

उनी भन्छन्, ‘जे अरूले दिइरहेका छन्, त्यही मात्र दिन त नयाँ कम्पनी आइरहन जरूरी थिएन। त्यसैले सजिलोमा फरक सेवासुविधा हुनेछ। केहीको तयारी भइरहेकाे छ।’

सजिलाेमा हुने फरक विशेषतामध्ये एउटा, आपतमा परेका सर्वसाधारणलाई निःशुल्क गन्तव्यसम्म पुर्‍याइदिने हो। यसका लागि कम्पनीले डेढ सय जना व्यक्तिहरूसँग मिलेर एउटा काेष बनाउँदैछ। काेषमा ५० जना दुईपांग्रे र सय जना चारपांग्रे सवारी चालक हुनेछन्। 

‘बुकिङ गरेपछि त्याे ठाउँमा काेही राइडर भएनन् भने हामीले काेषमा भएका साथीसँग समन्वय गरेर सकेसम्म छिटाे सेवा दिनेछाै‌ं,’ उनले भने, ‘हालसम्म डेढ सय जनाले निःशुल्क सेवा लिइसकेका छन्।’

आगामी दुई वर्षभित्र सडकमा सजिलो-चालकहरू बिनायात्रु हिँड्नु नपर्ने पनि उनी दाबी गर्छन्। अहिले भएको राइड सेवालाई थप व्यवस्थित गर्न चालकहरूलाई फरक सुविधा उपलब्ध गराइने उनको भनाइ छ। 

मानौं कोही सजिलो-चालक छ। उसलाई अरू बेला यात्रुलाई सेवा दिने फुर्सद हुँदैन। आफू कार्यालय जाँदा, आउँदा वा कहीँ जानुपर्दा भने उसलाई सेवा दिने मन हुन सक्छ। यस्तोमा उसले आफू हिँड्ने र पुग्ने ठाउँसम्म यात्रुलाई सेवा दिन सक्छ।

लामाका अनुसार यसरी सेवा दिनेलाई कुनै जबरस्ती हुँदैन। चालकले आफूलाई पायक पर्ने स्ठानसम्म मात्र यात्रु बाेक्न सक्नेछ।



‘कार्यालय समयमा आफू पुग्ने ठाउँसम्म यात्रु बाेक्न पाइन्छ। याे अरूभन्दा फरक विशेषता हाे,’ उनले भने, ‘यसमा राइडर यात्रु खोज्दै हिँड्दैन, राइडर भएको ठाउँमा यात्रु पुग्नुपर्छ। अनि याे सेवा सस्ताे पनि हुन्छ।’

यी सबै सुविधा दिएर सजिलाेले सर्वसाधारणकाे दैनिक यात्रा सजिलो बनाउन चाहेको उनी बताउँछन्। 

यही महिना सजिलाेको सेवा विराटनगर, धरान र इटहरीमा पनि सुरू गर्ने योजना छ। बिस्तारै पाेखरा, बुटवल लगायत ठाउँमा फैलाउँदै देशभरका मुख्य सहरमा राइड सेयरिङ सेवा पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

सजिलोले काठमाडौं उपत्यकाको छोटो दूरीमा मात्र होइन, बाहिर जानेलाई पनि सेवा दिनेछ। जस्तै काठमाडाैंबाट पाेखरा जानु परे सजिलाेमार्फत् सवारी लिएर जान सकिन्छ। यसका लागि कम्पनीले सेवाग्राही र सेवाप्रदायकबीच ‘पुल’ का रूपमा काम गर्ने उनले बताए।

‘याे पनि हाम्रो फरक विशेषता हाे,’ लामा भन्छन्, ‘सेवा सुरू गरेपछि बिस्तारै पुलको रूपमा काम गर्नेछौं।’

कम्पनीले राइडर र एप प्रयाेगकर्ताका लागि लक्की-ड्रमार्फत नगद पुरस्कार दिने कार्यक्रम पनि गर्नेछ। चालकहरूलाई प्राेत्साहन गर्न समयानुसार फरकफरक कार्यक्रम ल्याउने तयारी कम्पनीको छ।

त्यस्तै सजिलाे प्रयाेग गर्नेले टिकटक बनाउँदा नगद जित्ने अवसर पनि हुनेछ।

लामाका अनुसार सजिलाे सेवा प्रयाेग गरेपछि फाेटाे-भिडिओ खिची भिडिओ बनाएर टिकटकमा राख्नुपर्नेछ। त्यो भिडिओमा सजिलाे एप ‘मेन्सन’ गर्नुपर्नेछ। अनि भिडिओ टिकटकमा कम्तीमा एक महिनासम्म राख्नुपर्नेछ। यसरी राखिएका भिडिओको भ्युजका आधारमा लक्की-ड्रमार्फत १५ हजार नगद उपहार दिइने उनले जानकारी दिए। हाल याे कार्यक्रम चलिरहेकाे छ।

राइड सेयरिङ सवारीहरूलाई कहिलेकाहीँ समस्या पनि हुन्छ। कुनै यात्रुले ‘रिक्वेस्ट’ गरेको हुन्छ तर भनेको समयमा पुग्न नसक्दा ‘रिक्वेस्ट क्यान्सिल’ गरिदिने हुन्छन्। त्यस्तो अवस्थामा चालकको मेहनत र पेट्रोल खर्च हुन्छ। सजिलो कम्पनीले यो समस्या ध्यानमा राख्दै चालकलाई खाली हात फर्किनु नपर्ने व्यवस्था गरेको लामा बताउँछन्।

‘यस्तो अवस्थामा राइडरले कम्पनीलाई तुरून्त जानकारी गराएमा दुईपांग्रेलाई सय रूपैयाँ र चारपांग्रेलाई दुई सय रूपैयाँ दिनेछ,’ उनले भने।

कम्पनीले हालसम्म दुर्घटना बीमा भने सुरू गरेकाे छैन। यसका लागि तयारी भइरहेकाे लामाले बताए।

कम्पनीले हाल प्रयाेगकर्तालाई तीनथरिका सुविधा दिएकाे छ। माेटरसाइकल-स्कुटर, ट्याक्सी र सामान बाेक्ने सानो पिक-अप गाडी। दुइप‌ांग्रेमा यात्रा गर्दा एक किलाेमिटरकाे १८ रूपैयाँ लाग्छ भने ट्याक्सी (चारपांग्रे) प्रतिकिलोमिटर ५१ रूपैयाँ पर्छ। त्यस्तै सामान बाेक्ने सानो गाडीका लागि एक किलाेमिटरकाे पाँच सय ८६ रूपैयाँ तिर्नुपर्नेछ।

‘प्रायः काेठा सर्दा र हलुका सामान बाेक्न सानो पिकअप गाडी प्रयाेग गर्न सकिन्छ,’ लामाले भने, ‘चालक एक्लैले सामान राख्नु र झार्नुपर्ने भएकाले यो अन्यको तुलनामा मह‌ँगाे हुन्छ।’

सजिलोमा यात्राका लागि अनुरोध गरेको साढे दुई मिनेटभित्र कुनै चालकले स्वीकार नगरेको खण्डमा सेवाग्राहीले सिधै एड्मिनलाई फोन गरेर चालक बोलाउन सक्ने व्यवस्था पनि छ। यस्तो परिस्थितिमा सवारी आउन केही समय भने लाग्नेछ। 

‘ग्राहकसम्म अर्को राइडर पुग्न ठाउँ हेरेर २० देखि २५ मिनेटसम्म लाग्न सक्छ,’ कम्पनीका सिइओ लामाले भने।

यसरी राइड सेयरिङ कम्पनीका रूपमा सजिलाे साथीलाई बजारमा ल्याउने याेजना लामाकै हाे। पाँच वर्ष अध्ययन र अनुसन्धान गरेर फरक विशेषतासहित सजिलाे ल्याएको उनी बताउँछन्।

यो कामको सोच उनलाई सन् २०१७ मा कामको सिलसिलामा भारत जाँदा आएको थियो। उनलाई करिब एक घन्टाकाे यात्राका लागि ट्याक्सीले पन्ध्र सय भारू माग्याे। भाडा महँगो लागेपछि त्यति नै बेला उनले एक साथीसँग बुझे। साथीले उनलाई उबर (राइड सेयरिङ) एप डाउनलाेड गरेर बुकिङ गर्न सुझाव दिए।

उनले साथीको सुझाव माने र उबर चढे, ‘ट्याक्सीले पन्ध्र सय भारू मागेकाे थियाे, उबर क्याबले आठ सयमा पुर्‍याइदियाे। सात सय रूपैयाँ बच्यो।’

लामालाई त्याे सेवा सस्ताे र यात्रा सुरक्षित लाग्याे। चालकसँग यात्राभरि यस्तो कम्पनीबारे कुराकानी गरे। उनलाई नेपालमा पनि यसकाे अभ्यास गर्न पाए हुन्थ्यो होला भन्ने भयो।

‘त्यति बेलासम्म नेपालमा राइड सेयरिङ कम्पनी थिएनन्,’ उनले भने।

उनले नजिकका एक साथीसँग सल्लाह गरे र राइड सेयरिङकाे सम्भावनाबारे अध्ययन थाले।

‘हामी अध्ययनमै थियाैं, त्यही बेला बजारमा टुटल कम्पनी आयाे,’ लामाले भने, ‘त्यसपछि हामी पछि हट्यौं। एकैपटक एकै प्रकृतिका कम्पनी बजारमा आउनुभन्दा केही समय फरकमा प्रवेश गर्ने सोच्यौं।’

केही समयकाे फरकमा अरू राइड सेयरिङ कम्पनी थपिँदै गए। त्यसपछि उनले साेचे- अरूभन्दा फरक विशेषतासहित सजिलाे सुरूआत गर्ने।

त्यही बेला काेभिड लकडाउन भयाे। उनलाई थप अध्ययन गर्ने समय मिल्याे।

‘हामीले करिब पाँच वर्ष अध्ययनपछि सजिलाे सञ्चालनमा ल्याएका हौं,’ उनी भन्छन्। 

सजिलाे कम्पनीमा उनीसँगै अमृत कार्की, दाेर्जे लामा, कुमार गुभाजुकाे संयुक्त लगानी छ। चार जनाले ५ कराेड रूपैयाँ लगानी गरेको उनले जानकारी दिए।

आगामी ६ महिनामा राम्राे र भरपर्दाे राइड सेयरिङ कम्पनीका रूपमा सजिलाेको पहिचान बन्नेमा सिइओ लामा विश्वस्त छन्।

‘सञ्चालनमा आएकाे ६ महिनामा सजिलाेलाई नेपालकै नम्बर एक एप बनाउने हाम्राे लक्ष्य छ। यसकाे तयारी गरिरहेका छाैं,’ उनले भने।

Copy link
Powered by Social Snap