२०८१ बैशाख १३

निगमका कार्यकारी अध्यक्षलाई चौथौ पटक स्पष्टीकरण सोधियो 




काठमाडौँ — नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्‍बाट निर्णयबाट बर्खास्तीमा परे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो । 



Advertisement



सोमबार निगम मुख्यालयमा बसेको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक साताभित्र स्पष्टीकरण बुझाउन माग भनेको एक जना बोर्ड सदस्यले बताए ।

स्पष्टीकरणमा कमिसनको प्रलोभनमा ८ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएको, उक्त इन्जिन ८ महिनादेखि स्थानीय एजेन्ट खडा गरेर दैनिक ३ लाख रुपैयाँ (२ हजार ३ सय डलर ) मा भाडामा चलाउनुको कारण, सर्वसाधरणलाई टिकट बिक्री गरेर जहाज चार्टर उडानमा लगाइएको, करार र ज्यालादारीमा प्रक्रिया उल्लंघन गरेर भर्ना गरिएको, विदेशमा कर्मचारी पदस्थापनमा पक्षपात तथा प्रक्रिया उल्लंघन गरिएको, ५ वटा चिनियाँ जहाजको व्यवस्थापन गर्न नसकेको, हवाई टिकटलाई अनलाइनबाट बिक्री गर्न नसकेकोलगायतका आरोप लगाइएको छ ।



पर्यटन मन्त्रालयले अधिकारीसँग २ पटक स्पष्टीकरण र एक पटक बयान लिएको थियो । त्यस्तै पर्यटन सचिवको संयोजकत्वमा उनीमाथि छानबिन गर्न समितिसमेत गठन गरिएको थियो । मन्त्रिपरिषद्ले उनलाई एक पटक निलम्बन र बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको साउन १९ गतेको अल्पकालीन अन्तरिम आदेश देखाउँदै अधिकारी निगम फर्किएका छन् । यो मुद्दाको पेशी आउँदो शुक्रबारका लागि तोकिएको छ ।

उनलाई साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमको हितविपरीत कार्य गरेको भन्दै ५२ वटा आरोपसहित बर्खास्त गरेको थियो । तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने नेतृत्वको जाँचबुझ समितिको प्रतिवेदनको सुझावका आधारमा मन्त्रिरिषद्ले निलम्बनपछि दोस्रोपटक बर्खास्त गरेको थियो ।

Copy link
Powered by Social Snap