२०८१ बैशाख १३

जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की




करिब ४५ वर्षअघि काठमाडौंको छुस्या बहालबाट दिपंकर बुद्धको मूर्ति चोरी भयो।

हरेक दिन पूजा गरिने र हरेक वर्ष पञ्चदानमा महत्वपूर्ण मानिने बुद्धको मूर्ति चोरी भएपछि बहालका सदस्यहरूलाई आपत पर्‍यो। उनीहरूले अर्को वर्षको पञ्चदानसम्ममा पहिलेभन्दा सानो १८ इन्चको बुद्ध मूर्ति बनाए र त्यसैलाई पूजा गर्न थाले।

साढे चार दशकदेखि त्यही मूर्ति पूजा गर्दै आएका छुस्या बहालका बासिन्दा पहिलेजस्तै ठूलो मूर्ति बनाउन चाहन्थे तर संजोग मिलिरहेको थिएन।

त्यो संजोग हालै जुरेको छ, बौद्धका दाता पूर्णसिद्धि शाक्यमार्फत।

शाक्य हस्तकला व्यापारी हुन्। बौद्धमा उनको बुद्धिस्ट आर्ट सेन्टर छ जहाँ शनिबार बिहानैदेखि बुद्धको मूर्ति राखेर नामसंगति पाठ हुँदै थियो। यो मूर्ति छुस्या बहालमा दान दिन बनाइएको हो।



Advertisement



‘नामसंगतिमा १६ हजार ग्रन्थको भावार्थ हुन्छ भनिन्छ। यो पाठमा बुद्ध, मञ्जुश्री लगायत विभिन्न भगवानको बयान छ,’ शाक्यले भने, ‘बौद्ध विहारमा हरेक दिन नामसंगति पाठ हुन्छ। मान्छेले आफ्नो घरमा पनि पाठ गर्न सक्छन्। यो पाठ पढ्दा शुभ हुन्छ। आफूलाई मात्र होइन, आफ्नो वरिपरि बस्ने समुदायलाई पनि।’

नामसंगति पाठ र जीवन्यास (मूर्तिमा प्राण भर्ने) सकिएपछि दिपंकर बुद्ध मूर्ति झकिझकाउ पारेर बाजागाजासहित बौद्ध चैत्य परिक्रमा गराइयो। त्यसपछि विदाइ गरेर छुस्याबहाल पठाइयो।

यता छुस्याबहालमा दिपंकर बुद्धको स्वागत निम्ति बेग्लै रौनक थियो।

‘पहिले हराएको बुद्ध मूर्ति राजा प्रताप मल्ल पालाको थियो। पञ्चदानमा राजा स्वयं सहभागी भएका थिए,’ बहालका सचिव त्रिरत्न बज्राचार्यले मूर्ति पाउँदाको खुसी साट्दै भने, ‘अहिले पाएको मूर्ति पनि विशेष छ। दान पारमिता अवलम्बन गरेर जीवन अगाडि बढाउने जुन शिक्षा र शैली छ, त्यसलाई बुद्ध मूर्तिका दाताहरूले राम्ररी बुझ्नुभएको रहेछ।’

पुरानोसँगै नयाँ सम्पदाको मूल्यांकनमा जोड दिँदै बज्राचार्यले भने, ‘पुराना सम्पदा भत्कँदै, हराउँदै जान्छन्। त्योसँगै बन्ने नयाँ सम्पदाको मूल्य पनि हामीले बुझ्न जरूरी छ।’

शनिबार छुस्याबहालमा दिपंकर बुद्ध प्रतिस्थापन गरेपछि काठमाडौंका बहाबहीका थकाली र भन्तेहरूलाई दान दिइएको थियो। त्यसपछि पञ्चदान र नित्यपूजा सुरू भयो।

नेवाः पात्रोअनुसार यो वर्षको दसौं महिना हो जसलाई ‘गुँला’ भनिन्छ। वर्षाको मादकता र जोखिम दुवै यति बेला उत्कर्षमा हुन्छ। कुन बेला आकाश बर्सन थाल्छ भन्न सकिन्न। कुन बेला आकाशबाट पोखिएको पानी थाम्न नसकेर बाढीपहिरो जान्छ, त्यो पनि भन्न सकिन्न। रोगव्याधिको डर पनि यही बेला हुन्छ। त्यही भएर सबैको कल्याण होस्, कसैलाई दुःख नहोस् भनेर बाजागाजा बजाउँदै शुभकामनासहित गुँला पर्व मनाउने चलन छ।

नेवाः बौद्ध धर्मावलम्बीहरू यो महिनाभरि पञ्चदान गर्छन्, ताकि समस्यामा परेकाहरूलाई आफ्नो दानबाट सहयोग प्राप्त होस्।

बौद्ध धर्मको बज्रयानमा एउटा श्लोक छः

दानं विभूषणम् लोके, दानं दुर्गति निवारणम्
दानं स्वर्गसे स्वकानम्, दानं शान्ति करं शुभ

अर्थात्, दानले दुर्गति निवारण गर्छ। दानले स्वर्ग जाने बाटो खोल्छ। दानले शान्ति पाइन्छ।

बौद्ध धर्मको दस पारमितामध्ये सबभन्दा पहिले दानकै कुरा आउँछ। दान पारमिता नसकी बौद्धमार्गीहरूले अरू पारमिता हासिल गर्न सक्दैनन्।

दान कसलाई दिने भन्ने पनि नियम हुन्छ। माग्नेलाई दिने, भिक्षुलाई दिने लगायत विभिन्न थरका दान हुने त्रिरत्न बज्राचार्य बताउँछन्। उनका अनुसार पाएको वस्तु बेच्ने र अनैतिक कार्यमा खर्च गर्नेहरूलाई दान दिनु हुँदैन। दिने मान्छेले आफ्नो मन शुद्ध पार्नुपर्छ। लिनेले पनि मैले लिएको छु र धर्मको लागि केही गर्नुपर्छ भनेर लिनुपर्छ।

जसले दसवटै पारमिता सफलतापूर्वक सम्पन्न गर्छ, त्यो मान्छे बुद्ध वा बोधिसत्वजत्तिकै हुन्छ भन्ने भनाइ छ। त्यही भएर बज्राचार्य, शाक्यहरू यसलाई आफ्नो जीवनको मूल मन्त्रका रूपमा अवलम्बन गर्छन्।

त्यही मर्म बुझेका पूर्णसिद्धि शाक्यले बुद्धको मूर्ति दान गरेको यो पहिलोपटक होइन। उनले हरेक वर्ष एउटा मूर्ति दान दिँदै आएका छन्। अहिलेसम्म ८ वटा बुद्ध मूर्ति दिइसकेका छन्।

पूर्णसिद्धिलाई बज्रयानको दर्शनतिर डोर्‍याउने श्रेय उनका साथी सुगिन्द्र शाक्यलाई जान्छ।

सुगिन्द्र पनि हस्तकला व्यापारी हुन्। उनी सधैं पूर्णसिद्धिलाई बज्रयानको दर्शन र दानको मर्म बुझाउँथे। व्यापारमा व्यस्त पूर्णसिद्धि ‘हुन्छ–हुन्छ’ त भन्थे तर समय मिलाउन सकिरहेका थिएनन्।

२०७० सालको कुरा हो। एकदिन उनको दिमागमा आफ्नो धर्ममा केही गर्नुपर्छ भन्ने सोच आयो। उनले सुगिन्द्रलाई सम्झिए र फोन गरेर भने, ‘कहीँ कतै विहारमा मूर्ति चोरी भएको छ भने मलाई भन्नु है। म नयाँ दिन तयार छु।’

सुगिन्द्रलाई आइडिया मन पर्‍यो।

तर जति जति यसबारे सोच्न थाले, उनले सम्झिए, ‘कतै मूर्ति चोरी भएको छ–छैन भनेर बुझ्न जाँदा मलाई नै चोरीको लाञ्छना लाग्ने हो कि? मूर्ति चोरेकोमा प्रायश्चित गर्न फिर्ता ल्याउन लागेको पो हो कि?’

यस्ता अनेक कुरा मनमा खेलेपछि उनले यो आइडिया छाडिदिए। बरू अरू उपाय सोच्न थाले।

एकदिन सुगिन्द्र पाटन वरिपरि डुल्दै थिए। त्यो पञ्चदानको समय थियो। दुई, तीन ठाउँ डुल्दा पनि दानमा राखिने दिपंकर बुद्धको मूर्ति उनले देखेनन्। दिपंकर बुद्धलाई चौथो नम्बरको बुद्ध मानिन्छ। उनैको पालादेखि पञ्चदानको परम्परा चलिआएको मानिन्छ। यो परम्परामा उनकै मूर्ति नभएपछि सुगिन्द्रले सोचे, ‘साथीलाई दिपंकर बुद्ध नै दान दिन लगाइदिऊँ कि क्या हो?’

त्यसपछि उनले पूर्णसिद्धिलाई फोन गरे, ‘तपाईंको इच्छा पूरा गर्ने वातावरण सुरू भएको छ। तपाईं वर्षको एउटा दिपंकर बुद्ध दिन सक्नुहुन्छ? मैले त्यस्तो दुई–तीन ठाउँ भेटेको छु।’

पूर्णसिद्धिले सहमति जनाए र भने, ‘कुरा गर्ने काम सबै तपाईंको, दान दिने काम मेरो। तपाईं जस्तो मूर्ति भन्नुहुन्छ म बनाइदिन्छु। जति खर्च लाग्छ व्यहोर्छु।’

त्यसपछि सुगिन्द्रले मूर्ति कसरी दिने, कसरी कार्यक्रम चलाउने, क–कसलाई दिने लगायतबारे रातरातभर सोच्न थाले। कति नियम बनाए, कति मेटे। फेरि कापीमा कोरे।

उनले कसलाई मूर्ति दिने भन्नेबारे तीनवटा नियम बनाए।

पहिलो, जहाँ सामूहिक पञ्चदान भएको छ।

दोस्रो, जहाँ सामूहिक रूपमा मूर्ति राख्ने ठाउँ छ।

तेस्रो, जहाँ दिनदिनै पूजा हुन्छ।

यसरी नियम बनाएपछि उनीहरूले पहिलो मूर्ति पाटनको गुइतःमा दिए। गुइतःवासीहरूले खुसी हुँदै भने, ‘हामीलाई मूर्ति नभएर कस्तो आपत परेको थियो। अब हामीले सधैं दिपंकर बुद्ध राखेर पञ्चदान दिन पाउने भयौं।’

गुइतःपछि उनीहरूले गाःबहाल, नःटोल, रक्षेश्वर विहार, बाँडेगाउँ, इखाछेँ, बुटवलको पद्म चैत्य विहारमा मूर्ति दिए। ३६ इन्चको यो दिपंकर बुद्ध मूर्ति उठेको मुद्रामा छ। प्रायःजसो दिपंकर बुद्धका मूर्तिहरू बसेको मुद्रामा हुन्छन्। नेपाल, चीन र थाइल्यान्डमा उठेका मूर्तिहरू पनि चलनचल्तीमा छन्।

पूर्णसिद्धि र उनका साथी सुगिन्द्रले २०८६ सालसम्मका लागि बुद्ध मूर्ति कहाँ–कहाँ दिने भनेर तय गरिसकेका छन्।

सुगिन्द्र राष्ट्रिय शाक्य समाजमा सदस्य छन्। ३७ जिल्लाका प्रतिनिधि भएको उक्त समाजमा छलफल हुँदा उनी सोध्छन्, ‘तपाईंहरूको विहारमा गुँलाको समयमा पञ्चदान हुन्छ? के त्यो बेला दिपंकर बुद्धको मूर्ति राख्ने गरिएको छ?’

प्रश्नको उत्तर ‘छैन’ भन्ने पाए भने उनी नाम टिपाइहाल्छन्। त्यसरी नै उनले २०८६ सालसम्मका लागि नाम टिपाइसकेका हुन्। कतिपय ठाउँमा उनी आफैं पुगेर निरीक्षण पनि गर्छन्। यही क्रममा एक वर्षअघि पाल्पा गएका थिए। त्यहाँ उनले दुई ठाउँमा बुक गरेर आए। हेटौंडा, बुटवल लगायत ठाउँमा पनि बुद्ध मूर्ति प्रतिस्थापन गर्न पक्कापक्की गरेका छन्।

सुगिन्द्रले यसरी नाम टिप्दै जानुमा उनको साथी पूर्णसिद्धिको भरोसा छ जसले भनेका छन्, ‘तपाईं लेख्दै जानुस्, म जहिलेसम्म सक्छु दिन्छु।’

पूर्णसिद्धिले आफ्नो बुद्धिस्ट आर्ट सेन्टरमा चारवटा मूर्ति त अहिले नै स्टक राखिसकेका छन्। कसैलाई आफ्नो विहारका लागि बुद्ध मूर्ति चाहिए सम्पर्क राख्न सक्छन्।

त्यसका लागि सुगिन्द्रले बनाएका तीनवटा सर्त उनी सुनाउँछन्।

सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

First time posted in Setopati : SYM Network editorial Team
Copy link
Powered by Social Snap