२०७९ भाद्र २
Advertisement

Advertisement

‘समाजवादी केन्द्र’ बनाउने कोसिस : कुलचन्द्र वाग्ले

नेपालका कम्युनिस्ट पार्टीहरूको एकता, धु्रवीकरण र विभाजनको लामो शृंखला छ । विसं २००६ सालमा स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको समयदेखि नै आरम्भ यस्तो शृंखला अझै जारी छ । 

कम्युनिस्टहरूको जुट र फुटको कारण भने अन्तर्राष्ट्रिय, राष्ट्रिय प्रभाव र नेतृत्वमा आफैँ रहने महत्त्वाकांक्षा हुन् । तिनीहरूबीच आफूमात्रै सच्चा कम्युनिस्ट बाँकी अन्य घटक संशोधनवादी, जडसूत्रवादी वा पोथापन्थी आरोपित गर्ने प्रचलन रह्यो । 

मूलधारको कम्युनिस्ट राजनीतिभन्दा बाहिर बसेका कम्युनिस्टहरूले प्रजातान्त्रिक अभ्याससमेत गर्न खोज्नेहरूलाई लगाउने आरोप अहिले पनि करिब त्यस्तै छ । यस्तै धारणाका वशीभूत कम्युनिस्टहरू ‘जनवाद’को प्रलोभनमा सडकमै छन् ।

कोही सडकबाट उठेर सरकार र सत्तामा छन्, कोही अहिले पनि सडकमै छन् । सत्तामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छन् । सरकार बाहिर बसे पनि भक्तपुरको नेपाल मजदुर किसान पार्टी पनि अहिलेको संसदीय अभ्यासमा नै छ । यी सबै पार्टी कम्युनिस्ट विचारले प्रशिक्षित हुन् । 

भित्र पसेका र बाहिर बसेका कम्युनिस्टहरूको विभाजनमा मुख्यतः अन्तर्राष्ट्रिय कम्युनिस्ट धु्रवीकरणको प्रभाव बताइन्थ्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन विगतमा रुसी (तत्कालीन सोभियत संघ) र चिनियाँ खेमामा विभक्त रह्यो । त्यस्तै भारतको नक्सलवादी आन्दोलन र प्रजातान्त्रिक अभ्यासमा रहेका भारतकै कम्युनिस्ट धारको छनोटमा पनि यहाँका कम्युनिस्ट पार्टी विभक्त भए । 


Advertisement


नब्बेको दशकतिर सोभियत संघको पतन र उसले नेतृत्व लिएको खासगरी पूर्वी युरोपेली कम्युनिस्ट गठजोड भताभुङ्ग भए, प्रायः विलुप्त भए  । रुसले कम्युनिस्ट ध्रुवीकरणको मोह परित्याग गर्यो । यसको प्रभाव नेपालमा पनि पर्यो । सोभियत धारको इतिहासमात्र रह्यो । तत्कालीन राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा पनि यहाँका कम्युनिस्ट विभक्त थिए । 

देशको नाममा विभक्त यहाँका कम्युनिस्टहरू नेतृत्वको नाममा समेत विभाजित भए । कम्युनिस्ट विचारकमा सर्वाधिक उच्च मानिने कार्ल माक्र्स सबैले भने तर लेनिन, स्टालिन र माओत्सेतुङ (माओ) आदिको नाममा कसैले माक्र्सवाद, लेनिनवाद(माले) भने । कसैले माओवाद आदि रोजे । आफ्ना घर र कार्यालयमा यिनैका फोटा टाँगे । 

नेपालका कम्युनिस्ट नेताहरूको तस्बिरसमेत यिनले धेरैपछि झुन्ड्याउन थालेका हुन् । कारण स्थापित कम्युनिस्ट नेतालाई एकले अर्कोलाई अस्वीकृत गर्ने संकीर्णता कायम रह्यो । स्थिति अहिले ठ्याक्कै त्यस्तो चाहिँ छैन । जडसूत्रीय परम्परालाई पछाडि छोडेर मूलधार कम्युनिस्टहरू केही खुकुलो अभ्यासतिर लाग्न खोजेका छन् । 

यद्यपि माले, एमाले, माओवादी आदि पहिचान मोह भने त्याग्न नसकेको यथार्थ अद्यापि छ । अहिले पनि दर्जनभन्दा बढी कम्युनिस्ट घटकहरू यो वा त्यो उद्देश्य र नामको दाबबी लिएर क्रियाशील छन् ।  

विभाजनको यस्तो पृष्ठभूमिमा यतिबेला साना,ठूला कम्युनिस्ट घटक समाजवादी केन्द्र बनाउने कसरतमा छन् ।

खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी, प्रस्तावित नेपाल समाजवादी पार्टी (नेसपा) कम्युनिस्ट एकता राष्ट्रिय अभियान यस्तो प्रयत्नमा लागेको देखिन्छ । 

जनता समाजवादी पार्टीबाट विभाजित भई डा.बाबुराम भट्टराईले प्रस्ताव गरेको दल नेसपा हो । कम्युनिस्ट माओवादी त्यागेर नयाँशक्ति र पछि जसपा हुँदै हाल नेसपा बनाउन खोजेका डा.भट्टराई पहिले जे भए पनि पछि उनको पहिचान कम्युनिस्ट र थप माओवादी नै बनेको थियो । कम्युनिस्ट एकता अभियानी वामदेव गौतम हुन् । 

अहिले त्यस्तो पहिचान डा.भट्टराईले सदाको लागि बिर्सिन, बिर्साउन चाहेको देखिन्छ । यस कारण कम्युनिस्ट वा माओवादी शब्द जोडेर जुराइने कुनै पनि नाममा उनको एकता सहज लाग्दैन । सहकार्यकै सबालले पनि चिहान बनाउन खोजेको पुरानो पहिचान उधिनिने भय डा.भट्टराईलाई हुनसक्छ । 

कम्युनिस्ट र माओवादी शब्दनाम नभएको ‘….समाजवादी केन्द्र’ सबैभन्दा सहज स्वीकार्य डा.साहेबलाई हुनसक्छ ।

तर ‘मरता क्या नहीँ करता ?’ भनेजस्तै डा.भट्टराई कुनै पनि वैकल्पिक नाम वा ‘नेकपा समाजवादी केन्द्र (सके)’ स्वीकार्न बाध्य वैचारिक तर्क दिन पनि सक्षम छन् । 

लाग्छ, माओवादी केन्द्र (माके)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि (माके) हटाउने बाध्यात्मक रहर छ । त्यो रहरको पूर्ति ‘सके’ ले गर्नेछ । कारण स्वयं माओवादी केन्द्रभूमि चीनमा माओवाद हराएर सीजिन फिङवाद स्थापित गरिँदै जो छ । 

अर्कोतर्फ आफ्नै प्रश्रयमा संरक्षित माओवादी जत्था सञ्चालित हिंसाको अपजसको औँला माओवादी केन्द्रभूमितिरै सोझ्याउन मिल्थ्यो । शान्तिपथ र प्रजातान्त्रिक अभ्यासमा आइरहेको माओवादीलाई मिल्ने जस माओवादी केन्द्रभूमि (चीन)तर्फ नामकै कारण सोझिनु प्रश्रयदातालाई अमान्य हुने नै भयो । सायद् ‘समाजवादी केन्द्र’ यस्तै इच्छाहरूबीचको सम्मिलन उब्जनी हो । 

प्रतिस्पर्धि कम्युनिस्टहरूबीच चुनावको मुखमा एकता, गठजोड र सहकार्यको कामकुरो नौलो होइन । विगतमा पनि यस्तै भएको हो । यसको सबैभन्दा ठूलो मूर्तरूप सत्ता साझेदार नेपाली कांग्रेसलाई विश्वासघात गरेर एमालेमा घुस्रन गएको नेकपा (माके) सम्मिलित ‘नेकपा’ थियो ।   

नेकपा निर्माणमा छिमेकी चीनको सहकार्य थियो भनिन्छ । विभाजनमा कारण भारतलगायत पश्चिमालाई देखाइन्छ तर मूल कारण यिनीहरूको आन्तरिक समस्या नै हो । त्यही समस्यामा बाह्य खेलले बाटो पाएको हुनसक्छ । 

संघीय र प्रादेशिक चुनाव आउँदै छ । चिनियाँ (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियान पनि आए । सुषुप्त कम्युनिस्ट एकता पुनः चर्चामा आयो । प्रमुख लिउले स्पष्ट शब्दमा भने नेपालका राजनीतिक दलको आन्तरिक विषयमा चीनको पक्ष छैन, निष्पक्ष छ । उनले नेपाली कांग्रेससँगको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश पनि दिए ।

यसका अतिरिक्त पनि नेपालका विश्लेषकहरू चिनियाँ विदेश विभाग प्रमुख लिउले यहाँका मूलाधार कम्युनिस्ट नेता प्रायः सबैसँग गरेको भेटवार्तामा कतै न कतै एकताको भित्रि सन्देश पक्कै हुँदो हो भन्ने विश्वास व्यक्त गर्छन् । फलतः कम्युनिस्ट एकताको चर्चा पुनः बिउझिएको हो । 

चिनियाँ नेता लिउको भ्रमणको तीन दिनपछि नै खुब उत्साहका साथ गठबन्धन दलका प्रमुख नेतामध्ये एक पुष्पकमल दाहाल भारत भ्रमणमा निस्किए । भारतमा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा तीन दिने भ्रमण सकेर माओवादी केन्द्रका अध्यक्ष फर्किएपछि समाजवादी केन्द्रको चर्चा निकै उच्च स्वरमा सुनिदैछ । चुनाव लक्षित ‘सके’ बन्ने, नबन्ने थाहा हुन केही दिन पर्खनै पर्छ, । 

माओवादी फुँदो आफ्नो पार्टी र स्वयं आफ्नै लागि कतै एकपक्षीय बोध हुने र लक्षित सत्तारोहमा बाधक तगारो बन्ने भय दाहालमा जाग्रत हुनसक्छ । यही भय दोहनले ‘माके’को ठाउँ ‘सके’ ले पाए अनौठो लाग्ने छैन । 

यहाँका मूल कम्युनिस्टलाई त्यो दिन आउने निश्चित छ – नामको कम्युनिस्ट शब्द पनि हटाउन मन लाग्नेछ । नेता मनमोहन अधिकारीले त यस्तो प्रस्ताव गरेकै हुन् तर उग्रता प्रेरितको कम्युनिस्ट गाली उनले खुब पाए । सिद्धान्ततः कम्युनिस्ट प्रेरित भए पनि नाममा त्यो शब्द रहनेछैन  । अम्यास नेमकिपा, राजमो वा प्रस्तावित नेसपा हुन् । अरू पनि सडकमा बसेका कम्युनिस्ट दल छन् तर नाममा त्यो शब्द राखेका छैनन् ।

 ‘सके’ को प्रयत्न गठबन्धनमा भारी बढाउने पनि हो । प्रमुख नेपाली कांग्रेसलाई दबाबमा राख्ने । अपाच्य वा बढी सिट दाबा गर्ने, नभए ‘सके’ ले एमाले अध्यक्ष केपी शर्मासँग पनि हात बढाउने । दाहाल नेतृत्वमा सम्भावित ‘सके’ दबाब, विश्वासघात, धोका र अवसरवादको अस्त्र हुनसक्छ । खासगरी कांग्रेसको लागि । 

उल्लिखित धेरै कारणसँगै माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो प्रवृत्ति पुनः लागु गर्ने मार्गचित्र प्रस्तावित ‘सके’ मा परिलक्षित हुनुपर्छ । संकटापन्न अरूको लागि यही ओडार ओत लाग्ने आश्रय होला ।       

Copy link
Powered by Social Snap