२०७९ भाद्र २
Advertisement

Advertisement

‘गृहकार्यले बच्चाको शारीरिक र सामाजिक विकासमा बाधा गर्छ’

काठमाडौं । बिहान ५-६ बजे,

बालबालिका ब्युँझन्छन् । राम्ररी तंग्रिन पाएकै हुँदैनन्, विद्यालय जाने हतारो हुन्छ । हातमुख धोयो, खाजा-नास्ता खायो, पोशाक लगायो, गह्रौं झोला बोक्यो । दौडिहाल्यो ।

बिहान ७-८ बजे,

घरकै अघिल्तिर वा चोकमा विद्यालयको बस-भ्यान आइसकेको हुन्छ । गाडीमा चढ्यो । कुदिहाल्यो ।

बिहान ९-१० बजे,

विद्यालय प्राङ्गणमा हाजिर भइसकेको हुनुपर्छ । पंक्तिबद्ध उभियो । हल्का व्यायाम गर्‍यो । अनि कक्षाकोठामा प्रवेश गर्‍यो । खराखर लेखपढ गर्न थालिहाल्यो ।

अपरान्ह ४-५ बजे,

विद्यालय छुट्टी हुन्छ । उसैगरी घर फर्कियो । झोला बिसाउन पाएका हुँदैनन्, गृहकार्यको चटारो हुन्छ । कक्षाकोठामा पढेका हरेक पाठको गृहकार्य गर्नैपर्‍यो । ५-७ वटा पाठको गृहकार्य सिध्याउँदा झमक्कै साँझ पर्छ । अब खाने, सुत्ने तरखरमा लाग्नुपर्छ ।

कक्षाकोठामा जति पढाइन्छ बच्चाको लागि त्यति नै उपयुक्त हुन्छ । घरमा त बच्चालाई परम्परा संस्कृति सिकाउनुपर्छ । घरको काम सिकाउनुपर्छ ।


Advertisement


विद्यालय जाने बालबालिकाको यो दैनिक-तालिकाले देखाउँछ, उनीहरुसँग खेल्ने-उफ्रिने-घुम्ने समय छैन । पठनपाठनमा लाग्नु पक्कै व्यर्थ होइन । यद्यपि यस उमेरमा उनीहरुको सर्वाङ्गीण विकासका लागि पठनपाठन मात्र पर्याप्त छ त ?

यो प्रश्न किन पनि जरुरी छ भने बालबालिकाको बौद्धिक विकाससँगै शारीरिक, मानसिक, भावनात्मक, सामाजिक विकास पनि जरुरी हुन्छ । यी सबैका लागि उनीहरुले खेल्ने, कुद्ने, उफ्रिने, साथीसँग रमाउने, परिवारसँग हेलमेल हुने गर्नुपर्छ । तर पढाइको चक्करमा यी बालबालिकाहरुले अतिरिक्त गतिविधिमा सामेल हुन भ्याइरहेका छैनन् ।

कक्षाकोठामा करिब ७-८ घण्टा बिताउने बालबालिकालाई घर फर्किएपछि परिवार, साथीभाइसँग घुलमिल हुने समय छैन । त्यति मात्र हैन, दशैं-तिहार जस्ता चाडपर्व, जाडो वा गर्मी बिदा आदिमा पनि उनीहरुलाई गृहकार्यको बोझ बोकाइन्छ । यसले उनीहरुको शारीरिक तथा सामाजिक विकासमा ठेस पुग्दैन ? उनीहरुलाई खेल्ने, उफ्रिने समय कति जरुरी छ ? यसै सेरोफेरोमा प्रिन्सिपल नवराज बास्कोटासँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

बालबालिकालाई होमवर्क दिनु अनिवार्य छ ? यसले उनीहरूको पठनलाई कति प्रभावकारी बनाउँछ ?

बालबालिकालाई होमवर्क दिनु अनिवार्य छैन । किनभने होमवर्कले बच्चाको रचनात्मकता, सामाजिकीकरण र परिवारसँगको सम्बन्धलाई मार्छ । होमवर्क त बच्चालाई दिनै हुँदैन । होमवर्कले उनीहरूको पठनलाई प्रभावकारी बनाउने त हुँदै होइन झन् बिगार्छ । सबै समय होमवर्कलाई दिंदा उनीहरूले पढ्ने त समय नै पाउँदैनन् ।

होमवर्कबाट बच्चाको पढाइलेखाइमा कति सुधार भएको छ ? यसबारे  मूल्यांकन गर्नुभएको छ ?

रिसर्चले के भन्छ भने होमवर्क  भनेको रिभिजन वर्क हो । रिभिजन वर्क त जरुरी हुन्छ, तर अहिलेको बच्चाहरूले घरमा नै सिक्नुपर्ने कुराहरू धेरै छन् । म सानो हुँदा मेरो आमाबुबा घरमा आएको पाहुनासँग कसरी बोल्नुहुन्थ्यो भन्ने मलाई थाहा थियो, मैले देखेको थिएँ, मैले सिकेको थिएँ । तर अहिले होमवर्कले गर्दा घरमा कोही पाहुना आएको छ भने आऊ बाबु नानु चिनाउँछु भनेर बच्चालाई बोलायो भने उ रिसाउँदै आउँछ र एउटा हातले मात्र नमस्ते गरेर दौडेर फेरि होमवर्क गर्न जान्छ ।

पढ्ने, लेख्ने, ज्ञान र घरमा आएको पाहुनासँग गर्ने व्यवहार दुवै उसको जीवनमा उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यसैले घरमा गर्नुपर्ने धेरै कुरा अरू नै छन्, पढ्ने लेख्ने काम चाहिं स्कुलमा नै गर्नुपर्छ र त्यसको रिभिजन वर्क दिनुपर्छ, तर होमवर्कको बोझको रूपमा दिनु हुँदैन ।

अभिभावकहरू के भन्छन्, होमवर्क उचित वा जरुरी छैन ?

अहिले धेरैजसो अभिभावक व्यस्त हुनुहुन्छ । मेरो बच्चा उफ्रियो त्यसैले होमवर्क दिनुस् भन्छन् । होमवर्कले बच्चा बाँधियोस् छुकछुक नगरोस् भन्ने चाहना हुन्छ । होमवर्क दिनुपर्‍यो होमवर्क दिएन भने हामीलाई काम गर्न दिंदैन । हामीलाई फोन चलाउन दिंदैन एकदमै दुःख दियो होमवर्क दिनुपर्‍यो भन्नुहुन्छ । त्यो उहाँहरूलाई होमवर्कले बच्चालाई कस्तो असर गर्छ भन्ने कुरा थाहा नभएर हो ।

अर्को विद्यालयलाई के फाइदा भयो भने स्कुलको शिक्षक कस्तो छ भनेर जाँच्न होमवर्क माध्यम भएको छ । जसले धेरै होमवर्क दिन्छ त्यो शिक्षक राम्रो । शिक्षकलाई पनि जो विद्यार्थीले होमवर्क गरेर आयो त्यो विद्यार्थी राम्रो हो भनेर मूल्याकंन गर्न सजिलो भएको छ ।

होमवर्कले बच्चालाई के फाइदा गर्‍यो के बेफाइदा गर्‍यो भनेर अनुसन्धान गर्ने अभिभावकहरू ज्यादै कम मात्र छन् ।

बालबालिकाले आफ्नो सम्पूर्ण समय पठनपाठनमै लगाउनु उपयुक्त हुन्छ ?

बालबालिकाले आफ्नो सम्पूर्ण समय पठनपाठनमै लगाउनु उपयुक्त होइन । उनीहरूले केही समय आफ्नो परिवार र साथीभाइसँग पनि समय बिताउन पाउनुपर्छ । खेल्न कुद्न पाउनुपर्छ । समाज र परिवारबाट पनि केही कुरा सिक्न पाउनुपर्छ । यदि उनीहरूले सम्पूर्ण समय पठनपाठनमै लगाए भने उनीहरू समाज र परिवारबाट टाढा हुन्छन् ।

बालबालिकालाई होमवर्क गर भन्नु भन्दा बाबु नानी तिमी पढ म सुन्छु भन्नु उपयुक्त हुन्छ यसले उनीहरूको बढ्ने बानीको विकास हुन्छ । अहिले बालबालिकालाई यति गाह्रो-गाह्रो होमवर्क दिने चलन छ कि कति अभिभावकहरू त यो होमवर्क बच्चालाई हो कि हामीलाई हो भनेर गुनासो नै गर्छन् ।

बच्चा बिहान उठेपछि विद्यालयको तयारीमा लाग्छन् । ६-७ घण्टा कक्षामा बिताउँछन् । घर फर्कनासाथ होमवर्कको चटारो हुन्छ । उनीहरूलाई खेल्ने, उफ्रिने, रमाउने समय हुँदैन । यसले उनीहरूको सर्वाङ्गीण विकासमा बाधा पुर्‍याएजस्तो लाग्दैन ?

बच्चाहरू धेरै समय विद्यालय र विद्यालयको काममा नै व्यस्त हुन्छन् । उनीहरूले खेल्ने, उफ्रिने र रमाउने समय पाउँदैनन् । यसले उनीहरूको सर्वाङ्गीण विकासमा बाधा पुर्‍याउँछ । किनकि विद्यालयकै कामले उनीहरूको सबै समय लिंदा उनीहरूले परिवार र समाजसँग राम्ररी घुलमिल हुन पाउँदैनन् । खेल्न उफ्रिन नपाउँदा उनीहरू शारीरिक रूपमा पनि सक्रिय हुँदैनन् ।  विद्यालयको कामले गर्दा मानसिक रूपमा पनि तनावग्रस्त हुन्छन् ।

विद्यालयले धेरै होमवर्क दिएको छ । बच्चाले त्यो होमवर्क गर्न भ्याएन भने दोस्रो दिन ऊ विद्यालय नै जान मान्दैन । त्यसैले बच्चालाई होमवर्कको तनावबाट मुक्त गर्नुपर्छ ।

होमवर्कमै घोत्लिइरहँदा उनीहरू परिवारसँग समय बिताउन, घरायसी काममा सघाउन, साथीहरूसँग खेल्न समय पाउँदैनन् भन्ने लाग्दैन ?

हो, एकदमै होमवर्कमै घोरिइरहँदा उनीहरू परिवारसँग समय बिताउन, घरायसी काम सिक्न र साथीहरूसँग खेल्न समय पाउँदैनन् । त्यसैले स्कुलको काम स्कुलमा नै सकाएर घरमा उनीहरूलाई सामाजिक कुराहरू सिकाउन, परिवारसँग समय बिताउन र साथीहरूसँग खेल्न कुद्न दिइयो भने पनि उनीहरूको विकासमा सहयोग पुग्छ ।

दशैं तिहारको समयमा पनि धेरै होमवर्क दिएर घरको अन्य सदस्यहरू चाहिं रमाइलो गरेर बस्ने, तर बच्चा भने होमवर्क गरेर बस्ने काम गलत हो । चाडपर्वमा धेरै होमवर्क दिने चलन पनि हटाउनुपर्छ विद्यालयहरूले ।

होमवर्कको बोझ बोकाइरहँदा बच्चाहरू तनावग्रस्त पनि हुँदा हुन् नि ?

होमवर्कले बच्चालाई यति धेरै तनाव दिन्छ कि बच्चाको सिक्ने क्षमतालाई नै असर गर्छ । जतिबेला पनि होमवर्क गर्नुछ भनेर तनाव लिइरहँदा उनीहरूले पढ्ने सिक्ने कुरामा समय नै छुटाउन सक्दैनन् ।

होमवर्क जरुरी कि बालबच्चाका लागि खेल्ने, उफ्रिने अनुकूलता ?

हामी त बच्चालाई होमवर्क दिनै हुन्न भन्छौ । बच्चाले त खेलेर उफ्रेर पनि धेरै कुरा सिकिरहेका हुन्छन् । पढाइलाई संस्कृतिको रूपमा विकास गर्नुपर्छ । होमवर्कको भारी बोकाउनु भने हुँदैन । यदि अभिभावकलाई बच्चालाई व्यस्त राख्नुछ भने उनीहरूलाई रुचि भएको किताब पढ्न दिन सकिन्छ ।

होमवर्क दिइरहँदा त्यसलाई हल गर्न लाग्ने अनुमानित समय निर्धारण गरिन्छ ?

केही विद्यालयले बच्चालाई होमवर्क हल गर्न लाग्ने समय अनुमान गरेर नै दिन्छन् । तर केही विद्यालयले भने एकै दिन धेरै विषयको होमवर्क दिएर पठाउँछन् । त्यसलाई हल गर्ने समय पनि अनुमान गरेका हुँदैनन् । जसले गर्दा बच्चाहरू होमवर्क सकाउन एकदमै खटिएर लाग्छन् ।

होमवर्क दिइएन भने के हुन्छ ? के विद्यार्थीको पढाइ कमजोर हुन्छ ?

होमवर्क नदिएपछि बच्चा फ्री हुन्छ । उनीहरूले पढ्ने र सिक्ने समय पाउँछन् । जसले गर्दा उनीहरूको पढाइ झन् राम्रो हुन्छ । किताब भन्दा बाहिरको कुरा व्यावहारिक ज्ञान पनि सिक्न पाउँछन् । होमवर्क दिइएन भने अर्को दिन बच्चा खुसी भएर विद्यालय आउँछ ।

शिक्षाका लागि आदर्श मानिने फिनल्यान्ड जस्तो मुलुकहरूको अभ्यास के छ ? उनीहरू पनि हामीकहाँ जस्तै होमवर्क दिने गर्छन् ?

शिक्षाका लागि आदर्श मानिने देश फिनल्यान्डमा होमवर्क दिने चलन नै छैन । त्यहाँ त कक्षा ५ सम्म लिखित परीक्षा लिने चलन पनि छैन । विभिन्न कार्यक्रमको सिलसिलामा म धेरै देश घुमेको छु । तीमध्ये धेरै देशले होमवर्कलाई प्राथमिकता दिएका छैनन् ।

कक्षाकोठामा जति पढाइन्छ, बच्चाको लागि त्यतिले पुग्दो नभएर हो ?

कक्षाकोठामा जति पढाइन्छ बच्चाको लागि त्यति नै उपयुक्त हुन्छ । घरमा त बच्चालाई परम्परा संस्कृति सिकाउनुपर्छ । घरको काम सिकाउनुपर्छ ।

होमवर्कको भारी बोकाएर घर पठाउनु भन्दा स्कुलमा नै उनीहरूलाई रिभिजन वर्क गराउनुपर्छ । बच्चाको कलिलो दिमागले धेरै भारी बोक्न सक्दैन, त्यसैले उनीहरूलाई समय दिएर बिस्तारै सिकाउनुपर्छ ।

कलिला बच्चाले एकै दिन ६-७ वटा पाठ कसरी छिचोल्छन् ? के यो उनीहरूको मस्तिष्कले यति धेरै पाठ ग्रहण गर्न सक्छन् ?

नेपाल सरकारको पाठ्यक्रम अनुसार अहिले बच्चाले एकै दिन ७ वटा विषयका पाठ पढ्नुपर्छ । पाठ्यक्रम नराम्रो भने छैन, तर त्यो ७ वटा कक्षामा ७ वटै पाठ घोकाउनु भन्दा पाठभित्रको महत्त्वपूर्ण कुरा सिकाउनुपर्छ ।

एकै दिन यति धेरै पाठ उनीहरूको मस्तिष्कले ग्रहण गर्न पनि सक्दैनन् । त्यसैले व्यावहारिक ज्ञानलाई प्राथमिकतामा राखेर बच्चालाई पढाउनुपर्छ । उनीहरूको मस्तिष्कले कति ग्रहण गर्न सक्छ, त्यति मात्र उनीहरूलाई सिकाउनु पढाउनु उपयुक्त हुन्छ ।

Copy link
Powered by Social Snap