२०८१ बैशाख १५

देश नेता र कर्मचारीले मात्र बिगारेको होइन, इन्जिनियरको पनि भूमिका छ : मेटमणि चौधरी




काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुन नहुने बताएका छन् । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू विदेशिन नहुने बताएका हुन् ।



Advertisement



इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै उनले त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरूको पनि भएको उल्लेख गरे ।

मन्त्री चौधरीले सहरी विकाससम्बन्धी नीतिहरू बनाउँदा इन्जिनियरहरूको ज्ञानको पनि उपयोग गरिने बताए ।

“इन्जिनियरिङ कलेज भर्ना गर्नुभन्दा अगाडी विदेश जान पाइन्छ भन्ने जुन मनोविज्ञान छ । यसलाई सधैँभरिका लागि छोड्नुपर्छ । सरकारले लगानी लगाउने भनेको विदेशमा गएर आफ्नो पसिना चुहाउ अथवा ज्ञान बाँड भनेर होइन । हाम्रै मुलुकको विकासमा पनि तपाईंहरूको योगदान हुनुपर्छ,” उनले भने ।

उनले देश नेता वा कर्मचारीले मात्र नबिगारेको पनि बताए । देश बनाउन विद्यार्थीहरूको पनि उत्तिकै भूमिका हुने उनको भनाइ छ ।

“कहिलेकाहीँ तपाईंहरू भन्नुहुन्छ होला जस्तो मलाई लाग्छ, देश कसले बिगार्‍यो भन्दा, नेताले बिगार्‍यो । कर्मचारीले बिगार्‍यो । तर यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईंहरूको पनि त छ नि । किनकि तपाईंहरूलाई यो ठाउँमा ल्याउनका लागि नेपाल सरकारले थुप्रै लगानी लगाएको छ,” उनले भने ।

Copy link
Powered by Social Snap