२०८१ बैशाख १४

कांग्रेसको चुनावलक्षित २२ दिने अभियान, गठबन्धनको औचित्य बुझाउनुपर्ने चुनौती 




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १३ बुँदे निर्णय गर्‍यो । निर्णय नम्बर–७ मा आउँदो भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रूपमा विशेष अभियान सञ्चालन गरिने उल्लेख छ ।

कांग्रेसले सोही बैठकबाट मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर होमिने निर्णय गरेको छ । गएको स्थानीय तह निर्वाचनमा भएको गठबन्धनलाई निरन्तरता दिने कांग्रेसले घोषणा गरिसकेको छ ।

कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध छन् । गएको निर्वाचनमा पनि गठबन्धनको बलमा आफू पहिलो शक्ति बनेको कांग्रेसको निष्कर्ष छ ।



Advertisement



स्थानीय निर्वाचनमा कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको थियो । भदौ २ बाट गर्न लागिएको अभियान पनि निर्वाचनसँग प्रत्यक्ष जोडिएको छ । वडादेखि प्रदेश र केन्द्रसम्मका नेतृत्वको क्रियाशीलतामा पुनः पहिलो दल बन्ने तयारीस्वरुप अभियान सञ्चालन गर्न लागिएको कांग्रेस नेताहरू बताउँछन् ।

अभियानका क्रममा कांग्रेस नेतृत्वको सरकारले एक वर्षमा गरेका कार्यहरूको प्रचार गर्ने, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गर्न चुकेका कामहरू र दुईपटक विघटन गरेको संसद्को विषय लिएर पुनः जनतामाझ जाने तयारी गरिएको छ ।

अभियान सञ्चालन गर्ने भनिए पनि हालसम्म ठोस एजेन्डा तय भइसकेको छैन । कस्ता एजेन्डा र नारा प्रभावकारी हुन्छन् भन्ने पार्टीले निर्णय गर्न सकेको छैन । अभियानको विस्तृत खाका केन्द्रीय कार्यालयले तय गर्ने निर्णयमा उल्लेख छ ।

महामन्त्रीको मातहतमा रहने केन्द्रीय कार्यालयमा मुख्यसचिव, सचिवलगायत रहने गर्छन् । यही समितिले अभियानको एजेन्डा र नारा तय गर्ने महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।

“हामीले अभियान सञ्चालन गर्ने भनेका छौँ । यो बैठकले निर्णय नै गरेको विषय रह्यो,” उनले भने, “के–के एजेन्डा समेटिने, कुन तहका नेताहरूलाई के जिम्मेवारी दिने, कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल सुरु भएको छैन ।”

उनका अनुसार यी विषयमा केन्द्रीय कार्यालयले छलफल गर्नेछ । आवश्यकताअनुसार पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूसँग औपचारिक र अनौपचारिक दुवै तवरबाट छलफल अघि बढाउने महामन्त्रीद्वयको तयारी छ ।

अब हुने अभियान केही पृथक हुने शर्मा बताउँछन् । “ठ्याक्कै त्यस्तै (गएको निर्वाचनको जस्तो) होइन । अलिक पृथक हुन्छ नै, तर कति पृथक र नयाँ कार्यक्रम आउँछ, त्यो भने छलफलपश्चात् तय हुन्छ,” उनले भने ।

कांग्रेसले निर्वाचनकेन्द्रित भएर गर्न लागेको २२ दिने अभियानको मुख्य उद्देश्य भने गठबन्धनको विषयमा जनतालाई बुझाउनु रहेको केही नेताहरू बताउँछन् । गएको स्थानीय निर्वाचनमा तत्लो तहसम्म केन्द्रको मर्मानुरूप गठबन्धन हुन नसक्दा क्षति पार्टीले व्यहोर्नुपरेको उनीहरूको बुझाइ छ । अबको निर्वाचनमा क्षति कम हुने गरी गठबन्धनको औचित्य बुझाउन अभियान सञ्चालन गर्नुपरेको केही नेताहरूको जिकिर छ । विशेषगरी नेता डा. शेखर कोइराला समूहले गठबन्धनको औचित्यमा प्रश्न उठाएपछि अभियानको तयारीमा पार्टी लागेको उनीहरूको बुझाइ छ ।

सहमहामन्त्री जीवन परियार संगठनात्मक सुदृढीकरण र निर्वाचनकेन्द्रित गतिविधि गर्न तथा जनतालाई कांग्रेसप्रति विश्वस्त बनाउन अभियान सञ्चालन गर्न लागिएको बताउँछन् । “एजेन्डा तय भइसकेको छैन । तर, संगठन सुदृढीकरण र आगामी निर्वाचनकेन्द्रित भएर अभियान सञ्चालन गर्न लागिएको हो,” उनले भने, “पार्टी केन्द्रीय समिति बैठकको निर्णय तल्लो तहसम्म कार्यान्वयनका लागि अभियान सञ्चालन गर्न लागिएको हो ।”

गठबन्धनको निर्णय पार्टी बैठकबाट गरिए पनि १६५ प्रतिनिधिसभा सिट र ३३० प्रदेशसभा सिट कसरी बाँडफाँड गर्ने भन्ने टुंगो लागेको छैन । कांग्रेसले कति सिट राख्ने र कति अरूलाई दिने भन्ने निर्णय भइसकेको अवस्था छैन । यस्तोमा गठबन्धन किन भन्ने कार्यकर्ता र मतदाताको स्वाभाविक प्रश्न छ । गठबन्धनका विषयमा पहिला कांग्रेसका नेता–कार्यकर्ता र जनतालाई पनि बुझाउनका लागि अभियानमा होमिनुपर्ने अवस्था आएको सहमहामन्त्री परियार बताउँछन् ।

Copy link
Powered by Social Snap