२०८१ बैशाख ७

लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिनुपर्ने भन्दै एमालेले गर्‍यो बैठक बहिष्कार




काठमाडौं । नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको मंगलबारको बैठक बहिष्कार गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो । 



Advertisement



बैठकमा सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए  । तर, एमाले सांसद विशाल भट्टराई र गोकुल बाँस्कोटालगाएतले सभापतिले राजीनामा दिनुपर्ने र प्रतिपक्षीबाट नयाँ सभापति चयन हुनुपर्ने बताएका थिए । लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेकाले वर्तमान सभापतिले मार्गप्रशस्त गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर सभापतिको विषयमा छलफल गर्न आग्रह गर्दा प्रतिपक्षी सांसलहरूले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने भन्दै बैठक बहिष्कार गरेका थिए । त्यसपछि, बैठकले बहुमतका आधारमा समितिको २२औँ वार्षिक प्रतिवेदन पारित गरेको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

बैठकमा अन्य सांसदहरूले सभापति परिवर्तन गर्ने विषयको भिन्न प्रक्रिया रहेको भन्दै समितिमा यस्ता विषय नउठाउन विपक्षी सांसदहरूलाई सुझाव दिएका थिए । समितिका हालका सभापति भरतकुमार शाह नेपाली कांग्रेसका हुन् । 

Copy link
Powered by Social Snap