२०८१ बैशाख ११

बाबुरामलाई राजनीति छोड्न आफ्नै समूहबाट सुझाव 




काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच गएको मंगलबार सहमतिमै अलग हुने समझदारी भयो । यो समझदारी कार्यकारी अध्यक्षबाटै सार्वजनिक भएपछि संघीय परिषद् अध्यक्ष भट्टराईले अब के गर्लान् भन्ने प्रश्न उठेको छ ।

यसबीचमा भट्टराईले आफूनिकटहरूसँग पनि परामर्श गरेका छन् । उनीहरूले भट्टराईलाई राजनीति छोड्नेसम्मका विकल्प सुझाव दिएका छन् ।



Advertisement



संविधान जारी भएलगत्तै भट्टराईले माओवादी केन्द्रबाट अलग हुने निर्णय गरेका थिए । त्यसपछि ‘परिवर्तन सम्भव छ हाम्रै पालामा’ भन्दै अभियान चलाए । उक्त अभियानमा माओवादी केन्द्रसहित विभिन्न पार्टीमा निराश भएकाहरू सामेल भएका थिए । अन्यत्र निराश भएकालगायत व्यक्तिहरू सहभागी गराएर नयाँ शक्ति पार्टी बनाए ।

पाँच वर्ष नयाँ शक्ति चलाउँदा अरू पार्टीबाट आएकाहरू अधिकांश सम्बन्धित पार्टीमै फर्कने क्रम चल्यो । ठूलो समूहमा उनीसँग आएका माओवादी केन्द्रतर्फका नेता–कार्यकर्ता माओवादीमा फर्कने क्रम जारी रहेका बेला संघीय समाजवादी पार्टीसँग एकता गरिएको थियो । त्यसयता पनि उनीनिकटहरू माओवादी केन्द्रमा फर्किरहेका छन् ।

जसपामा शक्ति संघर्ष सुरु हुँदा बाबुराम केही समय शक्तिशाली देखिएका थिए । गठबन्धन सरकारमा सहभागी मन्त्रीदेखि सांसदहरूले उपेन्द्र अधिनायक भएको आरोप लगाए । प्रतिनिधिसभाका २१ मध्ये १३ सांसदसहितका नेताहरू भट्टराई पक्षमा लागेका थिए । त्यसबाट उत्साहित भएका भट्टराईले यादवमाथि दबाब बढाउँदै लगे । छुट्टै भेलाबाट हस्ताक्षर संकलन पनि भयो ।

तर, उपेन्द्रले एकतर्फी निर्णयबाट मन्त्री फिर्ता बोलाउँदै सांसदहरू एकत्रित पारेपछि बाबुराम पार्टीमा एक्लै परे । उनीमाथि कारबाहीको डन्डा चलाउने चर्चा चल्यो । त्यसपछि अघिल्लो साताको मंगलबार दुई नेताहरूबीच राति एउटा समझदारी बन्यो– सहमतिमै अलग हुने । त्यो समझदारी बुधबार यादवले सञ्चारमाध्यममार्फत सार्वजनिक गरे । त्यसपछि सुरु भयो, बाबुराम पक्षको छलफल ।

छलफलका क्रममा भट्टराईलाई उनीनिकट व्यक्तिहरूले तीन विकल्प दिएका छन् । त्यसमध्येको एउटा विकल्प हो, अब बन्ने नयाँ पार्टीमा युवालाई नेतृत्व दिने र आफूले राजनीतिबाटै विश्राम लिने । नेतृत्वले आवश्यक सम्झिए अभिभावकीय सल्लाह–सुझाव दिने तर सक्रिय राजनीतिमा भने सहभागी नहुने । त्यसबाहेकका दुई विकल्प पनि डा. भट्टराईलाई आएका छन् ।

“उहाँका लागि पहिलो विकल्प त जसपाबाट अलग भएपछि नयाँ पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्ने र आफू अभिभावकीय भूमिकामा विश्राम लिने हो,” जसपा नेता तथा राजनीतिक अध्यता डम्बर खतिवडाले भने, “उहाँसँग आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने र आफ्नो समूह अर्को पार्टीमा मर्ज गर्ने अन्य विकल्प पनि छन् ।”

उनले सबैभन्दा उपयुक्त विकल्प पहिलो भएपछि अरू विकल्पले उत्साह जगाउन नसक्ने बताए । “उहाँकै नेतृत्वमा नयाँ पार्टी बनाउँदा विगतमा नयाँ शक्ति पाँच वर्ष सञ्चालनको अनुभवले खास उत्साह ल्याउने देखिँदैन । त्यसमाथि उहाँसहित हामी सबैको राजनीतिमा अस्थिर भएको छवि बनेको छ,” खतिवडाले भने, “अर्को पार्टीमा मर्ज गर्ने विकल्प रोज्दा उहाँको समूह पनि सग्लो नरहने अवस्था छ ।”

उनले अर्को पार्टीमा ‘मर्ज’ गर्ने विकल्प आफूसहितले स्वीकार नगर्ने बताए । “उहाँले अर्को पार्टीमा मर्ज गर्ने निर्णय लिनुभयो भने त्यही दिनदेखि मेरो उहाँसँग सम्बन्धविच्छेद हुन्छ,” उनले भने, “हामीले यसबीचमा जुन लोकतान्त्रिक समाजवादी पार्टी निर्माणको बहस गरेका छौँ, त्यो बहससँग मिल्ने कुनै पनि पार्टी छैनन् । त्यसैले हाम्रो जोड युवा नेतृत्वसहित नयाँ लोकतान्त्रिक समाजवादी पार्टी निर्माण नै हुनेछ ।”

उनले त्यस्तो शक्ति निर्माणको अवस्था नहुँदाका बखत भने आफू राजनीतिक दलसँगको आबद्धता छोडेर बस्ने मुडमा रहेको बताए ।

Copy link
Powered by Social Snap