२०८० चैत्र १४

गण्डकीमा मुख्यमन्त्रीका बुवाका नाममा खोलिएको ट्रष्टलाई ५० लाख बजेट




गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा १० करोड रुपैयाँ व्यक्तिका नाममा विनियोजन गरेको छ।

व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन उक्त रकम विनियोजन गरेको हो। असार १ गते संसदमा बजेट पेश गरेपछि सरकारले ल्याएको प्रस्तावित वार्षिक कार्यक्रममा उक्त योजना समेटिएको छ। 



Advertisement



यसरी व्यक्तिका नाममा खोलिएका ट्रष्टमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन्।

मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका-१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो। 

यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ।

सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने वार्षिक बजेटमा मुख्यमन्त्री पोखरेलकै बुबाका नाममा खोलिएको कोषमा सबैभन्दा धेरै बजेट राखिएको वार्षिक कार्यक्रममा देखिन्छ। 

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन्। उनका बुवा आमाका नाममा खोलिएको ‘पुननारायण-धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’ लाई अर्को शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। सामाजिक विकास मन्त्री श्रेष्ठले दुई वटा शीर्षकमा गरी आमा बुबाका नाममा १ करोड विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ। 

प्रदेश सरकारले छुटेका कार्यक्रम समावेश गर्न भन्दै सेतो किताब प्रकाशन गरेको थियो। उक्त पुस्तकमा २७ करोड रुपैयाँ बराबरका योजना समावेश छन्।

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले मात्रै होइन, पार्टी कार्यालयसहित विभिन्न व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन बजेट विनियोजन गरेको देखिएको छ।

नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन बजेट विनियोजन गरिएको छ। यसका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

कास्कीको सिकलेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा सहिद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ। 

यसरी विभिन्न व्यक्तिका नाममा खुलेका कोष र पार्कका नाममा प्रदेश सरकारले १० करोड रूपैया विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ। 

प्रदेश सरकारले यसरी व्यक्तिका नाममा खोलिएका कोष र पार्कलाई बजेट विनियोजन गरेपछि सर्वत्र विरोध भएको छ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङदेखि राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिले चर्को आलोचना गरिरहेका छन्।

विरोध भएपछि सामाजिक विकास मन्त्री श्रेष्ठले आफ्ना आमा बुबाका नाममा खोलिएका कोषमा विनियोजन गरिएको १ करोड रुपैयाँ फिर्ता गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

उनले फेसबुकमा स्टाटस लेखेर उक्त आग्रह गरेका हुन्। यस विषयमा प्रदेशका मुख्यमन्त्री पोखरेललाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

Copy link
Powered by Social Snap