२०८१ बैशाख ११

चुनावमा पैसाको खोलो बगाउने प्रवृत्तिको अन्त्य गर्न अभियान आवश्यक : सभामुख सापकोटा




काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति अन्त्यका लागि अभियान नै चलाउनुपर्ने बेला आएको बताएका छन् । 

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’मा सभामुख सापकोटाले चुनावका बेला हुने विकृति अन्त्य गरेर पैसा नै खर्च नगरी चुनाव लड्न सकिने वातावरण बनाउनुपर्ने बताए  ।



Advertisement



उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउनेजस्तो डरलाग्दो अवस्था देखिएको पनि बताए । त्यस्ता विकृति र विसंगति अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरूलाई उनले आग्रह गरे ।

उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उमेदवारलाई जिताउन पनि चुनावमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । 

“चुनावको बेलामा यति धेरै पैसाको खोलो बग्छ कि त्यो भनी साध्य छैन । असल, इमान्दार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौँ भने राम्रोसँग हामीले जनतामा गएर चाहिँ विकृति र विसंगतिका विरुद्धमा अभियान चलाउन सक्यौँ भने राम्रो वातावरण बन्छ । फेरि धेरै पैसा खर्च नगरिकन जित्ने पनि छन् । धरानकै उदाहरण लिन सकिन्छ, काठमाडौंकै उदाहरण लिन सकिन्छ । अन्यत्रको पनि उदाहरण लिन सकिन्छ,” उनले भने ।

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Copy link
Powered by Social Snap