२०८१ बैशाख ७

शरीरमा आयोडिनको कमी भए के हुन्छ ?




आयोडिन र नुनको विषयमा हामीले धेरै कुरा सुन्दै आएका छौं । नुन र आयोडिन शरीरका लागि आवश्यक तत्व हो । तर यसको मात्राको विषयमा विभिन्न प्रश्न पनि उठिरहेका छन् ।

आयोडिन मानिसको लागि दैनिक रूपमा नभई नहुने तत्वमध्ये पर्छ । समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस आदि तथा समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ । तर नेपालमा समुद्र नभएकाले आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ ।

नेपालीहरूको भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा बढी छ भन्ने कुरा केही समय अघि सुन्नमा आएको थियो । योसँगै नुन र आयोडिनको विषयमा भ्रमपूर्ण कुरा समेत सम्प्रेषण भइरहेकाले यसले सर्वसाधारणमा आशंका पैदा गरिरहेको देखिन्छ ।



Advertisement



नुनमा आयोडिनको मात्रा कति ?  

उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको छ । नेपालमा हाल आयोडिनयुक्त नुनको मापदण्डमा उत्पादन स्थलमा ५० पीपीएम नघटाई र बिक्री स्थलमा ३० पीपीएम नघटाई हुनुपर्ने व्यवस्था रहेको छ । साथै उपभोग बिन्दुमा नुनमा आयोडिनको मात्रा कम्तीमा १५ पीपीएम हुनुपर्ने भनिएको छ ।

सबै स्थानमा यातायातको सुविधा नपुगेको, भण्डारणको अभ्यास र स्थल उपयुक्त नभएको देखिएकाले उपभोक्तासम्म पुग्दा नुनमा मिसाएको आयोडिन नाश भएर जान सक्छ भन्ने आधारमा उत्पादन स्थलमा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान छ ।

तर अहिले यातायातको सुविधा विस्तार भई ढुवानी सहज भएको, भण्डारणको अभ्यासमा सुधार भएको कारणले नुनमा मिसाइएको आयोडिन धेरै नाश नहुन सक्छ । अर्कोतिर कानुनमा न्यूनतम ५० पीपीएम मिसाउनुपर्ने भनिएको, तर अधिकतम कति मिसाउन पाउने भन्ने किटान नभएका कारण पनि अधिक आयोडिन मिसाउने गरेको पाइन्छ । नुनमा आयोडिनको मात्रा उत्पादन स्थलमा न्यूनतम र अधिकतम कति हो भन्ने मापदण्ड तत्काल निर्धारण गर्नु जरुरी छ ।

दैनिक कति नुन खानु ठीक ?

नेपालीहरूले दैनिक ९ ग्राम नुन सेवन गरिरहेका छन् । तर हाम्रो शरीरलाई भने दैनिक ५ ग्राम भन्दा कम नुन भए पुग्छ । अहिले हामी झण्डै आवश्यकता भन्दा डबल नुनको प्रयोग गरिरहेका छौं । नुनको बढी प्रयोगले उच्च रक्तचाप जस्ता नसर्ने रोगको जोखिम बढाउँछ । त्यसैले एउटा वयस्क व्यक्तिले दैनिक रूपमा करिब १५० माइक्रो ग्राम आयोडिन खानु उपयुक्त हुन्छ ।

नेपालमा खानुपर्ने भन्दा झण्डै दोब्बर नुनप्रति व्यक्ति खपत भइरहेको छ । यस्तोमा आयोडिनको मात्रा भन्दा पनि नुन कम खपत गर्ने बानीको विकास गर्नु जरुरी हुन्छ ।

आयोडिनको कमी भएमा आउने समस्या

शरीरमा आयोडिनको कमीले गर्भवती महिलालाई असर पर्छ । गर्भ तुहिने, मृत बच्चा जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने, शारीरिक रुपमा विकलांक हुने लगायत सम्भावना हुन्छ ।

त्यस्तै आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्छ । वयस्कहरूमा आयोडिनको कमी भएमा गलगाँड आउने, थाइराइड, मानसिक क्षमतामा कमी, शारीरिक क्षमतामा कमी जस्ता असर देखिन्छन् । बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै हो ।

शरीरलाई आवश्यक आयोडिनको मात्रा

आयोडिनलाई सूक्ष्म पोषक तत्व भनिन्छ । यो खनिज पदार्थ हरेक वयस्क व्यक्तिलाई दैनिक रूपमा करिब १५० माइक्रो ग्राम, गर्भवती महिलाका लागि दैनिक करिब २५० माइक्रो ग्राम र पाँच वर्षमुनिका बालबालिकालाई दैनिक करिब ९० माइक्रो ग्राम आवश्यक पर्छ ।

आयोडिनले थाइराइड ग्रन्थिबाट थाइराइड हर्मोन निकाल्न मद्दत गर्दछ । थाइराइड हर्मोन पोषक तत्वको पाचन प्रक्रिया र शारीरिक तथा मानसिक वृद्धि विकासका लागि नभई हुँदैन । शरीरको तौल सन्तुलनमा राख्न थाइराइड हर्मोन अत्यन्तै महत्वपूर्ण हुन्छ । आयोडिनको उचित मात्राको उपभोगले थाइराइडमा हुने क्यान्सरको जोखिम कम गर्छ । साथै आयोडिनले शारीरिक र मानसिक रूपमा पनि स्वास्थ्य रहन सहयोग गर्छ ।

आयोडिनयुक्त नुन नै किन ?

अहिले हामीले प्रयोग गरिरहेको आयोडिनयुक्त नुनको साटो बिरे नुन र सिदे नुनको प्रयोग गर्नुपर्छ भन्ने अवधारणा पनि केही व्यक्तिको हुन सक्छ । तर यस्ता नुनमा शरीरलाई चाहिने आयोडिन पर्याप्त हुँदैन । नेपाल जस्तो समुद्री सतह भन्दा टाढा भएको र समुद्री खाना कम खाइने मुलुकमा आयोडिनयुक्त नुन पनि सेवन नगर्दा यसको कमीका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् ।

आज भन्दा चार दशक अगाडिसम्म नेपालमा आयोडिनयुक्त नुनको प्रयोग हुँदैन थियो । जसको कारण विभिन्न स्वास्थ्य समस्या जस्तै, गलगाँड, हाइपरथाइरोइडिज्म, मानसिक क्षमतामा कमी र शारीरिक क्षमतामा कमीजस्ता समस्या देखिन्थे । तर पछि सरकारले सन् १९७३ देखि लागु गरेको नुनमा आयोडिन मिसाएर बिक्री वितरण गरिने युनिभर्सल साल्ट आयोडाइजेसन कार्यक्रमले गर्दा हाल यो समस्यामा धेरै सुधार भएको छ ।

नुनमा आयोडिन मिसाएर उपयोग गर्न थालेपछि त्यसको कमीले हुने स्वास्थ्य समस्या निर्मूल हुनेतिर गइरहेको छ । तर आयोडिनयुक्त नुनको सेवन गर्न छोडे ती स्वास्थ्य समस्या फेरि दोहोरिन सक्छन् । त्यसैले अन्य नुनको प्रयोग भन्दा आयोडिनयुक्त नुन नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

Copy link
Powered by Social Snap