२०८१ बैशाख १३

नवयुग भन्छन्- अनुभवी खेलाडी टोलीमा भएको भए प्रदर्शन अझ राम्रो हुन्थ्यो




कुवेतमा सम्पन्न एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ।



Advertisement



चीनमा आयोजना हुने एसियन कपको छनोटका लागि कुवेत गएको नेपाली टोली बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो।

टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन्।

उनी तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन्। समूहमा ‘ए’ मा परेको नेपालले तीन खेल खेल्दा कुनै पनि खेलमा जित निकाल्न सकेन।

नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए। केही सिनियर खेलाडीविना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरूआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए।  

‘टिममा प्रायजसो नयाँ भाइहरू छन्। उनीहरूको प्रदर्शन चित्तबुझ्दो छ। विवाद नेपालमा भए पनि भ्रमण गरिसके पछि बिर्सियौं। केही सिनियर खेलाडीविना जाँदा सुरूआतमा नयाँ खेलाडीले डराएको जसरी खेले। तर निरन्तरको अभ्यास पछि उनीहरूमा पनि आत्मबल बढ्यो,’ उनले भने। 

नियमित कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूसहित ११ सिनियर खेलाडीविना भ्रमणमा निस्किएको नेपाली टोलीमा राम्रो प्रदर्शनका लागि अनुभवी खेलाडीको अभाव महसुस भएको बताए।

‘भइरहेका खेलाडी टिममा नपर्दा केही फरक त परिहाल्छ। नयाँ खेलाडीले राम्रो खेलेर प्रमाणित त गरे, तर अनुभवी खेलाडी टोलीमा भएको प्रदर्शन अलि राम्रो हुन्थ्यो। कठिन समूहमा परेकाले अनुभवी खेलाडी भएको अवस्थामा नतिजा केही फरक हुने अनुमान गर्न सकिन्छ,’ नवयुगले भने।

यस्तै नेपाली टोलीका सदस्य पुजन उपरकोटीले युवा टोलीसहितको भ्रमण नयाँ अनुभव लिने अवसर भएको बताए। ४० वर्ष पछि नेपालले कुवेत विरूद्ध गोल गर्दै इतिहास बनाएका दर्शन गुरूङले बलियो टोलिविरूद्ध गोल गर्न पाउँदा खुसी लागेको बताए।

छनोट प्रतियोगिताभर नेपालले कुल १३ गोल खाँदा एक गोल फर्कायो। नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। घरेलु टिम कुवेतविरूद्ध नेपालले चार गोल खाँदा एक गोल इन्जुरी समयमा गोल फर्काएको थियो।

उक्त गोल नेपालले कुवेतविरूद्ध करिब चार दशकपछि फर्काउन सफल भएको थियो। एकमात्र गोल नेपालका युवा खेलाडी दर्शन गुरूङले गरेका थिए।

लगातार दुई खेलमा पराजय पश्चात् एसियन कपको सम्भावन टरेको नेपाली टोलीले अन्तिम खेलमा इन्डोनेसियासँग खेलेको थियो। उक्त खेलमा नवयुग श्रेष्ठको स्थानमा पुजन उपरकोटीले कप्तानको जिम्मेवारी लिएका थिए। सोही खेलमा नेपालले लज्जास्पद हार भोगेको थियो। ७–० को फराकिलो हारसँगै छनोटको भ्रमण सकाएको थियो।

Copy link
Powered by Social Snap