२०८१ बैशाख ११

असंगठित/स्वरोजगार मजदुरलाई तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा दायरामा ल्याउन चेतावनी




काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले असंगठित र स्वरोजगारको क्षेत्रमा रहेका मजदुरलाई पनि तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन सरकारलाई दबाब दिएको छ ।



Advertisement



एनटीयूसीको भोलिदेखि काठमाडौंमा सुरु हुने छैटौँ राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा असंगठित र स्वरोजगार क्षेत्रमा रहेका मजदुरलाई तत्काल ल्याउन सरकारसँग पुनः माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एनटीयूसीका अध्यक्ष पुस्कर आचार्यले सरकारले तत्काल सो माग सम्बोधन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै आपत्ति समेत जनाए ।

“सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारले निष्क्रियता देखिएको छ । यो हाम्रो लागि आपत्तिजनक विषय हो । हाम्रो यो कन्फरेन्समा सामाजिक सुरक्षा योजनाको विषयलाई आन्दोलनको विषय बनाउनुपर्ने देखिएको छ । यो मुलुकमा कानुन लागु गर्न पनि सरकारसँग आन्दोलनको मुद्दा बनाउनुपर्ने स्थिति छ,” उनले भने, “विशेष गरेर स्वरोजगार र असंगठित क्षेत्रमा रहेका मजदुरहरूलाई सो योजनाको दायरामा ल्याउनका लागि आन्दोलनको आँधीबेहरी उठाउनुपर्ने अवस्था छ । हाम्रो यो सम्मेलनमा त्यस विषयमा काम अघि बढाइनेछ ।”

सम्मेलनमा करिब एक हजार ६०० प्रतिनिधिहरू सहभागी हुनेछन् । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने दुईदिने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने तय छ । सम्मेलनले एनटीयूसीको सातौँ राष्ट्रिय महाधिवेशनको मिति पनि तय गर्ने जानकारी गराइएको छ ।

Copy link
Powered by Social Snap