२०८१ बैशाख १५

काठमाडौं–१६ का वडाध्यक्ष रिजालको घरमा प्रमुख बालेनको ‘लन्च मिटिङ’ 




काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरको काम–कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडाध्यक्षहरूसँग छलफल थालेका छन् । सोही क्रममा शनिबार उनले काठमाडौं–१६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।



Advertisement



रिजालको बालाजुस्थित घरमै भेट्न पुगेका प्रमुख शाहले फोहोर व्यवस्थापन र महानगरका काम–कारबाहीका विषयमा सुझाव मागेका थिए । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले त्यहाँ झन्डै दुई घण्टा बिताएका थिए । ‘लन्च’सहितको सो ‘मिटिङ’मा वडाध्यक्ष रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरे । मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

रिजालले भने, “नगर प्रमुखज्यूसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छलफल भयो ।”

भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।

रिजालले महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाएका थिए । त्यसलगत्तै सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको थियो ।

Copy link
Powered by Social Snap