२०८१ बैशाख ८

वीरगन्ज उपमेयरको मत ६० प्रतिशत बदर ! उमेदवार नभएको चिह्नमा छाप 

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको उपप्रमुखमा ५ हजार ७२१ मत बदर भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १, २, ३१ र ३२ गरी ४ वटा वडाको ९ हजार ५३८ मत गणना हुँदासम्म उपप्रमुखमा ५९.९८ प्रतिशत मत बदर भएको हो । 


Advertisement


अहिलेसम्म उपप्रमुखको ३ हजार ८१७ मत सदर भएको छ । उपप्रमुखमा नेपाली कांग्रेस (रुख) बाट इम्तियाज आलम, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) (साइकल) बाट पुरुषोत्तमलाल झा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) (हलो) बाट बिना जैसवाल कुर्मी र स्वतन्त्र (गुलाफको फूल) बाट रम्भा मिश्रा उम्मेदवार छन् । तर, उमेदवार नै नभएका चुनाव चिह्नमा अधिकांश मत परेको वीरगन्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । 

उनका अनुसार उमेदवार नभएको नेकपा एमाले (सूर्य), जसपा (छाता), माओवादी केन्द्र (हँसिया हथौडा), नेकपा एकीकृत समाजवादी (कलम)लगायतका चुनाव चिह्नमा पनि मत परेको हुँदा बदर मतको संख्या बढेको हो । 

त्यस्तै, प्रमुखमा पनि २ हजार ५ सय ७१ मत बदर भएको छ । ६ हजार ९ सय ६७ मत सदर हुँदा प्रमुखको ३६.९ प्रतिशत मत बदर भएको हो । 

निर्वाचन आयोग चुकेको आरोप

मतदाता सचेतनासम्बन्धी कुनै कार्यक्रम नहुँदा मत बदरको संख्या बढेको शिक्षाविद् प्राध्यापक डा. दीपक शाक्यले बताए ।

उनले भने, “विगतमा सञ्चालन हुँदै आएको मतदाता शिक्षा यसपटक अझै गम्भिरताका साथ सञ्चालन गर्नुपर्नेमा निर्वाचन आयोग नै चुकेजस्तो लाग्यो । यद्यपि, गठबन्धन नभइदिएको भए मत बदर हुने थिएन, दलहरूको गठबन्धनले गर्दा धेरै मतदाता झुक्किए ।” 

वीरगन्ज महानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उमेदवारी दिएकी रम्भा मिश्राले सदरभन्दा बदर मत बढी भएपछि उपप्रमुखको मत गणना रद्द गर्नुपर्ने माग गरेकी छिन् । 

गठबन्धनका उमेदवार सिंहले अग्रता बढाउँदै 

पछिल्लो तथ्यांकअनुसार वीरगन्ज महानगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनबाट जसपाका राजेशमान सिंहले अग्रतालाई बढाउँदै लगेका छन् । ४ वटा वडाको हालसम्म भएको मतगणनानुसार सिंहले ४ हजार ६५७ मत प्राप्त गरेर अग्रतालाई बढाउँदै लगेका हुन् । 

नेकपा एमालेका उमेदवार एवम् निवर्तमान मेयर विजयकुमार सरावगीले २ हजार ५९ मत ल्याउँदा राप्रपाका उमेदवार गिरीश गिरीले १ सय ५० मत ल्याएका छन् । 

Copy link
Powered by Social Snap