२०८० चैत्र १६

एष्टन भिल्लालाई हराउँदै लिभरपुलले गर्यो सिटीसँग बराबरी

काठमाडौं । सडियो माने र जो माटिपको गोलमा लिभरपुलले मंगलबार राति इङ्लिस प्रिमियर लिगमा एष्टन भिल्लालाई २–१ ले हराएको छ । जितसँगै लिभरपुलले लिग उपाधि होड बलियो बनाएको छ । 


Advertisement


योर्गान क्लोपको लिभरपुलले जितसँगै शीर्ष क्लब म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । लिभरपुलले ३६ खेलबाट ८६ अंक जोडेको छ । समान ८६ अंक भए पनि सिटी गोलअन्तरको आधारमा शीर्ष स्थानमा कायम छ । तर, शीर्ष स्थानको सिटीले एक खेल कम खेलेको छ । सिटीले बुधबार राति उल्भरह्याम्पटनसँग खेल्नेछ । सिटीले अवे खेलमा विजय हासिल गरे पुनः तीन अंकको अग्रता लिनेछ ।

उल्भरह्याम्पटनसँग खेलेपछि सिटीले लिगको अन्तिम दुई खेलमा वेष्ट ह्याम र एष्टन भिल्लाविरुद्ध खेल्न बाँकी हुनेछ । लिभरपुलले भने साउथह्याम्पटन र उल्भरह्याम्पटनविरुद्ध खेल्नेछ । त्यसअघि लिभरपुलले शनिबार चेल्सीसँग एफए कपको उपाधिका लागि खेल्नेछ । 

घरेलु टोली एष्टन भिल्लाले तेस्रो मिनेटमै डगलस लुइजको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेट वित्न नपाउँदै माटिपले बराबरी गोल फर्काएका थिए । ६५औं मिनेटमा मानेले लुइस डियाजको पासमा हेडमार्फत गोल गरेपछि लिभरपुलले महत्वपूर्ण तीन अंक पक्का गरेको थियो । 

‘‘हामी जित्नभन्दा धेरै केही गर्न सक्दैनौं,’’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘‘धेरैले सोचेका थिए । आजको खेल हाम्रो लागि कठिन हुनसक्छ । तर हाम्रा खेलाडीलाई धैर्यपूर्वक खेलेर जित निकाले । जुन उत्कृष्ट थियो ।’’

लिभरपुलले शनिबार राति टोटनहमसँग १–१ को बराबरीमा रोकिएपछि उपाधि प्रतिद्वन्द्वीभन्दा तीन अंकले पछाडि परेको थियो । 

Copy link
Powered by Social Snap