


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वितेको पाँच वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धि जनताले थाहा पाउनुपर्ने बताएका छन् ।
Advertisement


शुक्रबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरे । २०७४ साल यताका पाँच वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको उनको आरोप थियो ।

“यो पाँच वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो,” उनले भने,“ पाँच वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले म्याण्डेट पाएको थिएँ, मैले चलाउन सकिनँ, यसको लागि मलाई क्षमा देउ, मैले पाँच वर्ष संसद चलाउन सकिन भनेर माफीको याचना नगरी मत माग्ने नैतिक आधार पनि छैन ।”
महामन्त्री थापाले अबको पाँच वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए ।






