२०८१ जेष्ठ ५

विद्युत् खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्न अनुरोध गरेकी छिन्। 


Advertisement


आइतबार भएको भेटवार्तामा विद्युतको विकास तथा खपतका विषयमा छलफलमा भुसालले प्रधानसेनापतिलाई विद्युत् खपत बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ। 

भुसालले सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिएकी थिइन्। 

‘अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौं,’ उनले भनिन, ‘त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ।’

उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्ने गरी निर्णय लिन पनि आग्रह गर‍ेकी छन्।

‘विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो,’ उनले भनिन्, ‘विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जाँदैन।’ 

मन्त्री भुसालले नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको र आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरेकी छिन्।   

प्रधानसेनापतिले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्ण रूपमा लागू गर्दै लैजाने बताए।

‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौं,’ उनले भने, ‘आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौं।’ 

महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरू गरिसकेको समेत बताए। 

वातारण संरक्षण र देशको अर्थतन्त्रमा टेवा दिन विद्युत् खपत बढाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उनले नीतिगतरूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा लगानी गर्नसक्ने धारणा राखिन्। 

छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो।

त्यसअघि ऊर्जामन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत् खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिइन्। 

Copy link
Powered by Social Snap