२०८१ बैशाख ७

गठबन्धनलाई कांग्रेसले भन्यो– डालोको मत मानोमा खन्याउँदा पोखिन्छ 

नेपाली कांग्रेस कास्कीले पोखरा महानगरको मेयरसहित जिल्लाका ४ वटै गाउँपालिका प्रमुख अन्य दललाई दिन नसक्ने बताएको छ।


Advertisement


सत्तारूढ ५ दलीय गठबन्धनको शुक्रबार पोखरामा बसेको बैठकमा कांग्रेसले उक्त कुरा बताएको हो।

गठबन्धनका शीर्ष नेताहरूले पठाएको निर्देशन अनुसार नै अन्य दललाई महानगरका मेयरसहित गाउँपालिका अध्यक्ष दिन नसक्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।

गठबन्धनका शीर्ष नेताहरूले २०७४ सलाको मतभार र जनमतका आधारमा प्रमुख पदको नेतृत्व गर्ने गरी निर्देशन पठाएको थियो। 

कास्की ५ वटै स्थानीय तहका ७२ वटै वडामा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो भएकाले निर्देशन अनुसार दाबी पेस गरेको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए।

‘डालोमा भएको मत मानोमा हाल्दा पोखिन्छ, मानोको मत डालोमा हाल्दा परिणाम आउँछ,’ उनले भने, ‘कास्कीमा केन्द्रकै निर्देशन अनुसार उम्मेदवार छान्दा पनि कांग्रेसबाहेक अन्य दललाई प्रमुख दिनु अव्यवहारिक हुन्छ।’

गठबन्धनबाट उम्मेदवार छान्न कांग्रेसले ५ दिनदेखि उम्मेदवार छनोट प्रक्रिया रोकेको थियो। दिनहुँ गठबन्धन बैठक बस्दासमेत सहमति जुट्न नसकेपछि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको सचिव ढकालले बताए। 

‘हामीले सहमतिका लागि ५ दिन कुर्‍यौं, तर सहमति हुने छाँट देखिएन,’ उनले भने, ‘भोलिदेखि पोखरा महानगरसहित चारवटै गाउँपालिका र वडासम्म उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन पार्टी ईकाई समितिलाई निर्देशन दिएका छौं।’

गठबन्धन बैठकमा कांग्रेसले उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायतका पद अन्य दललाई दिन सक्ने प्रस्ताव गरेको थियो।

निर्वाचनपश्चात कार्यपालिका सदस्य छनोट गर्दा पनि गठबन्धनको सहमति अनुसार जान तयार भए पनि पालिका प्रमुख दिन कांग्रेस तयार देखिएको छैन। 

कांग्रेसको उक्त प्रस्तावमा गठबन्धनका अन्य दलले भने सहमति जनाएको छैन।

पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेको छ भने माओवादी केन्द्रले पनि मेयर दाबी गरेको छ।

गठबन्धनको आइतबार बस्ने बैठकले वडा र गाउँपालिकाका उम्मेदवार टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले बताए। 

‘पोखरा महानगरको मेयर र उपमेयरको निर्णय केन्द्रले गर्छ, हामी वडा र अन्य गाउँपालिकाको निर्णय गर्छौं’, उनले भने,‘उम्मेदवार बाँडफाँट गर्न गठबन्धनले कार्यदल बनाएका छौं।’

गठबन्धनले उम्मेदवार टुंगो लगाउन बनाएको कार्यदलमा कांग्रेसबाट सचिव ढकाल, समाजवादीबाट आचार्य र माओवादी केन्द्रका जिल्ला संयोजक बखानसिंह गुरूङ छन्।

कार्यदलले जिल्लाका सबै पालिकाको प्रमुखदेखि वडा सदस्यसम्म प्याकेजमा सहमति खोज्ने आचार्यले बताए।

देशभरका ६ वटा महानगरमध्ये भरतपुर माओवादीलाई, पोखरा समाजवादीलाई र वीरगंज जसपालाई दिने गरी केन्द्रमा सहमति बन्न लागेको हल्ला चलेपछि कांग्रेस नेताहरू रूष्ट बनेका थिए।

उनीहरूले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरामा एमाले हराउन मेयरमा कांग्रेसको उम्मेदवार हुनुपर्ने माग राखेका थिए।

पोखरामा दिनहुँ बसेको गठबन्धन बैठकमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कुनै पनि हालतमा मेयर छाड्न नसकिने बताउँदै आएका छन्। 

गठबन्धनको केन्द्रको निर्देशन अनुसार कास्कीका सबै तहमा कांग्रेस अन्य दलभन्दा बलियो भएकाले प्रमुख पद कांग्रेसले नै पाउनुपर्ने बरालले बताए। 

केन्द्रले गठबन्धनका नाममा जबरजस्ती लाद्यो भने मान्य नहुने कास्की कांग्रेसले चेतावनी दिएको छ।

‘पोखराको मेयर कुन आधारमा अर्को पार्टीलाई दिन सकिन्छ, मेयर छाड्ने कुरा सोच्न पनि सकिँदैन,’ सचिव ढकालले भने, ‘केन्द्रले जबरजस्ती लाद्यो भने कास्कीमा गठबन्धन प्रक्रिया अन्त्य हुन्छ।’

Copy link
Powered by Social Snap