२०८१ बैशाख १५

एन्फा निर्वाचन : यी हुन् बी डिभिजनबाट मताधिकार पाउने ११ क्लब

आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बी डिभिजनबाट मताधिकार पाउने क्लबको टुंगो लागेको छ।


Advertisement


शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निर्वाचनमार्फत मताधिकार पाउने क्लबको टुंगो लागेको हो।

बी डिभिजनका १४ क्लबमध्ये  ११ टिमले एन्फा निर्वाचनका लागि मताधिकार पाउने व्यवस्था छ। त्यसको लागि निर्वाचन समितिले शुक्रबार निर्वाचन गराएको थियो।

सामाजिक युवा क्लब, वीरगन्ज युनाइटेड र झन्सिखेलबाहेक अन्य ११ टिमले मताधिकार पाएका छन्।

मताधिकार पाउने क्लबमा श्री भगवती क्लब, आरसिटी, मध्यपुर युथ एसोसिएसन, टुसाल युवा, नयाँ बस्ती, खुमलटार, बाँसबारी, चर्च ब्वाइज, सरस्वती, श्री कुमारी र ब्वाइज युनियनले मताधिकार पाएका छन्।

खुमलटारले सर्वाधिक १४ मत पाउँदा  वीरगन्जले सबैभन्दा कम २ मत मात्र पाएको छ।

अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षले भोटिङ अधिकार पाएका क्लबमा आफ्नो बहुमत भएको दाबी गरेका छन्। तर कतिपय क्लब खुलेका छैनन्।

नेम्बाङले पक्षले यसअघि  पाँच क्लब आफ्नो पक्षमा भएकोमा अब सात पुगेको दाबी गरेको छ।

असारमा हुने एन्फा निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने पक्का जस्तै छ।

यसअघि शुक्रबार नै सी डिभिजन क्लबबाट मताधिकार पाउने ९ क्लबको टुंगो लागेको थियो।

सी डिभिजनबाट खालीबारी युथ, प्लानिङ ब्वाइज, पुल्चोक स्पोर्ट्स, मनोहरा एकिकृत युवा, स्वयम्भू, महावीर स्टडिज एण्ड एसोसिएसन, आरसी ३२ र वीरगन्ज युथले मताधिकार पाएका छन्।

झापा फुटबल र समाज कल्याण खेलकुद क्लबले समान ७-७ भोट ल्याएका थिए। त्यसपछि गोलप्रथा गरिएकोमा समाज कल्याण भाग्यमानी सावित भयो।

सी डिभिजनबाट भोटिङ अधिकार पाएका मध्ये समाज कल्याणबाहेक ८ क्लब वरिष्ठ उपाध्यक्ष नेम्बाङ पक्षमा खुलेका क्लब हुन्।

एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघका प्रतिनिधिले भोटिङ गर्न पाउनेछन्। यस्तै राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लबसहित जम्मा ८५ भोटरले मत दिनेछन्।

Copy link
Powered by Social Snap