२०८० चैत्र १६

ऋण लिएर, चन्दा उठाएर ए डिभिजनमा पुगेको खुमलटार युथ क्लब

खुमलटार युथ क्लबका लागि गत आइतबार ऐतिहासिक दिन सावित भयो। २०६१ सालमा स्थापना भएको क्लब  १७ वर्षपछि नेपाली फुटबलको शीर्ष डिभिजनमा बढुवा भयो।


Advertisement


गत वर्ष अभागी सावित भएको खुमलटारलाई यसपटक भने भाग्यको साथ थियो।

सहिद स्मारक बी डिभिजन लिगको अन्तिम खेलमा खुमलटारलाई आफूले जितेर मात्र पुग्नेवाला थिएन, गर्विलो इतिहास बोकेको रानीपोखरी कर्नर टिम (आरसिटी) ले अंक गुमाउनु पर्ने अवस्था थियो।

नभन्दै त्यस्तै भयो, अन्तिम दिन खुमलटारले सामाजिक युथ क्लबलाई २-१ ले पराजित गर्दा आरसिटी बराबरीमा रोकियो। आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा अंक गुमाएको थियो।

खुमलटारका लागि ए डिभिजनमा पुग्न आत्मघाती गोलको भूमिका थियो। सामाजिक युथविरूद्ध खुमलटारका सबिन केसीले १४ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ५७ मिनेटमा सामाजिकका सुरेश खत्रीले बराबरी गोल फर्काएका थिए।

एन्फा कम्प्लेक्समा अन्तिम मिनेट अघिसम्म सामाजिक र खुमलटारको खेल बराबरीको अवस्थामा रहँदा दशरथ रंगशालामा टुसालविरूद्ध खेलिरहेको आरसिटी ए डिभिजनतर्फ अघि बढिसकेको थियो।

तर ९० मिनेटमा सामाजिकका विकास लिम्बूले आत्मघाती गोल गरे। त्यसपछि खुमलटारको खुसीको सीमा रहेन। बल क्लियर गर्ने क्रममा विकासले आफ्नै पोस्टमा गोल गर्दा खुमलटार ए डिभिजनमा पुग्न सफल भयो।

अंक तालिकामा खुमलटार दोस्रो हुँदै २२ अंक जोड्दा तेस्रो भएको आरसिटीको पनि २२ अंक नै थियो। तर खुमलटारले लिगमा आरसिटीलाई ३-१ ले हराएकाले हेड टु हेडका आधारमा खुमलटार दोस्रो भयो। २९ अंक जोड्दै चर्च ब्वाइज च्याम्पियन बन्यो।

यो वर्ष भाग्यको साथ पाएको खुलमटार अघिल्लो सिजन भने अभागी सावित बनेको थियो। यसपटक लिगका शीर्ष दुई टिम ए डिभिजन पुग्दा गत वर्ष एक टिमले भने शीर्ष डिभिजनमा पुग्ने मौका पाएको थियो।

गत वर्ष खुमलटारले बी डिभिजनको दोस्रो स्थानमा लिग सकेको थियो। निर्णायक खेलमा सातदोबाटोसँग पराजित हुँदा खुलमटार शीर्ष डिभिजनमा पुग्नबाट बन्चित भएको थियो।

‘अघिल्लो वर्ष हामीलाई भाग्यले पनि साथ दिएको थिएन। यसपटक अन्तिम खेल जित्दै ए डिभिजनमा पुग्दा निकै खुसी लागेको छ,’ क्लबका अध्यक्ष मनिराज बिष्टले भने।

उनका अनुसार स्थापना भएको तीन वर्षपछि खुमलटार सी डिभिजनमा बढुवा भएको थियो। २०६४ सालदेखि सी डिभिजनमा रहेको क्लब २०७० मा बी डिभिजनमा पुग्न सफल भयो।

ए डिभिजनको यात्रा सहज भने नभएको अध्यक्ष बिष्टको भनाइ छ। किनभने क्लबले आर्थिक कठिनाइ भोग्नु पर्‍यो।

यसपटकको बी डिभिजन लिगका लागि क्लबले ५२ लाखको बजेट बनाएको थियो। तर क्लबको नियमित आम्दानीको स्रोत भने केही थिएन र अहिले पनि छैन।

जसमा क्लबका सदस्य, पदाधिकारी र शुभेच्छुकले सहयोग प्रदान गरे।

अध्यक्ष बिष्टका अनुसार क्लबलाई एक रेस्टुरेन्टले प्रायोजन गरेको थियो भने एन्फाले तयारी स्वरूप साढे १२ लाख रुपैयाँ दिन्छ।क्लबले उपविजेता भएबापत् थप १० लाख रुपैयाँ पनि पाउनेछ।

बाँकी रकम भने ऋणबाट व्यवस्थापन हुने अध्यक्ष बिष्टले बताए। उनले ऋण रकम भने खुलाएनन्।

‘हामीले चन्दा उठाएर क्लबका लागि खर्च गरिरहेका छौं। यसपटक हामी ऋणमा पनि छौं,’ बिष्टले भने।

ऋण लिएर भए पनि खेलाडीको सुविधाका लागि कुनै सम्झौता नगरेको उनको भनाइ छ।

‘खेलाडीको तलब र सुविधका लागि कुनै सम्झौता गरेका थिएनौं, जसले गर्दा खेलाडीले पनि मिहिनेत गरे’ उनले भने।

ए डिभिजनमा पुग्नका कुशल व्यवस्थापनले काम गरेको उनले अनुभव सुनाए।

अध्यक्ष बिष्टले भने, ‘पैसा मात्र पनि ठूलो कुरा होइन। हामीले राम्रो व्यवस्थापनमा ध्यान दिएका थियौं। त्यसैले सफल भएको जस्तो लाग्छ।’

बी डिभिजनभन्दा ए डिभिजनमा आर्थिक रूपमा सहज हुने उनको विश्वास छ।

‘बी डिभिजनभन्दा ए डिभिजनमा अलि सहज हुन्छ होला। किनभने बी डिभिजनको तुलनामा ए डिभिजनका लागि प्रायोजक पनि पाउन सजिलो हुन्छ। हाम्रो सम्पर्कमा केही शैक्षिक संस्था र बैंक आइसक्नु भएको छ,’ उनले भने,’हामी ए डिभिजनमा सुरूमै उपाधि जित्ने लक्ष्य त राख्दैनौं। सुरूका वर्षमा ए डिभिजनमा टिक्ने लक्ष्यसहित क्लबलाई अगाडि बढाउँछौं।’

ललितपुर महानगरपालिका वडा नम्बर १५ मा अवस्थित खुमलटार युथको आफ्नै भवन छ। भवनमा होस्टलसहितको सुविधा रहेको अध्यक्ष बिष्टले जनाकारी दिए। क्लबको प्रशिक्षण भने लगनखेलको बुद्धिविकास मैदानमा हुने गरेको छ।

Copy link
Powered by Social Snap